बागलुङ । बागलुङ नगरपालिकाले श्रमिक परिचय पत्र वितरण गर्न थालेको छ । नगरपालिका भित्र विभिन्न क्षेत्रमा काम गर्दै आएका मजदुरहरूलाई श्रमिक परिचयपत्र दिन थालेको हो ।
बागलुङ नगर क्षेत्रमा काम गरिरहेका मजदुरको पहिचान गर्न मात्रै नभएर उनीहरुको स्वास्थ्य बिमा लगायतका विषय पनि यसमा समेटिदै लैजाने बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
चालु वर्षको नीति तथा कार्यक्रममा मजदुरको लगत राख्ने उल्लेख गरिएको थियो । मजदुरको पहिचान गरेर परिचयपत्र दिएपछि उनीहरु नगरको सेवासुविधा लिन आधिकारिक सूचिकृत हुने र उनीहरुको दुर्घटना बिमा गरिने छ ।
पहिलो चरणमा आज नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन ‘क्युपेक नेपाल’ र यातायात मजदुरमा आवद्ध लगाएतलाई नगरपालिकाले पहिचान कार्ड जारी गरेको छ । बुधबार नगरप्रमुख श्रेष्ठले २० जना श्रमिकको कार्ड वितरण गरेर अभियानको थालनी गर्नु भएको छ ।
नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन ‘क्युपेक नेपाल’मा आवद्ध १५ जना र यातायात मजदुर ५ गरी २० जनाको परिचय श्रेष्ठले क्युपेक बागलुङका अध्यक्ष मनबहादुर थापालाई हस्तान्त्रण गर्नु भएको थियो ।
परिचयपत्रको लागि मजदुरको तथ्यांक राख्ने काम भैरहेको छ । जारी भएको परिचयपत्र हरेक वर्ष नविकरण गर्ने योजना नगरपालिकाको छ ।
पहिलो चरणमा ६ सय ३० जना मजदुरको लागत राखिएको क्युपेक बागलुङका अध्यक्ष थापाले बताउनु भयो ।
नगरपालिकाले निर्माण, यातायात, कृषि लगाएतमा क्षेत्रमा काम गर्ने जिल्ला भित्र र बाहिरका मजदुरको लागत राख्ने लक्ष्य राखेको छ ।

































































































































































































