बागलुङ । बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले २३ वर्षपछि व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउन लागेको बताउनु भएको छ ।
मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटन गर्नु हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको हो ।
बागलुङ नगरपालिका-४ दावगरामा बनाइएको नयाँ बसपार्क संचालनसँगै हालको चिप्लेटी बसपार्कलाई जिप पार्क वा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याएर त्यहाँ पनि झन व्यवसायीक बजार विस्तार गर्न नगरपालिका लागि रहेको उहाँको भनाई थियो ।
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो ।
२०५८ मा यहाँका जग्गाधनीले साँढे १७ रोपनी दिएको र उनीहरुसँग भएको सम्झौता अनुसार जग्गा धनीहरुलाई बसपार्क व्यवस्थापन समितिसँगको समन्वयमा जग्गा फिर्ता गर्ने कार्यमा पनि सहजिकरण गर्ने श्रेष्ठलाई बताउनु भयो ।
नगरपालिकाभित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने, सवारी चाप घटाउने, सडक पेटी भत्काउने र ट्राफिक व्यवस्थापनको कामले गति लिएको श्रेष्ठले जानकारी दिनु भएको छ ।
बागलुङ बजारको सौन्दर्य कायम गर्ने, सडक फराकिलो बनाउने र सडक दुर्घटना न्यूनिकरण गर्नेको लागि ट्राफिक प्रहरीसँग सहकार्य थालेको बताउनु भयो ।
अटो रिक्सा चालकहरुलाई आफ्ना सवारीसाधनहरुको गति, अवस्था, यात्रुहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्न सुझाव दिईएको र मनपरी भाडा उठाउन र क्षमताभन्दा बढी यात्रु चढाएर यात्रा नगर्न पनि आग्रह गरिएको बताउनु भयो ।
उकालो र भिरालो कच्चि जमिनमा अनियन्त्रित र असुरक्षित मानिएको अटो असुरक्षित सडकमा समेत गुड्ने गरेका र अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेकोले अहिले नगरले रुट परमिट बन्द गरेको जानकारी दिनु भयो ।
अटो रिक्सा रुट परमिटबागलुङ नगरपालिकाले संचालन गरेको हाट बजार बन्द अवस्थामा रहेकोले त्यसको उचित स्थानमा व्यवस्थापन गरि संचालन गर्ने गृहकार्य थालिएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
बागलुङ नगरपालिकाले आगामी दिनमा कुहिने र नकुहिने फोहरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ।
त्यसका लागि नगरले फोहर व्यवस्थापकलाई कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गर्ने र कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उनले छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गरे।
त्यसको लागि नगरपालिकाले तीनवटा रंगको बाल्टी वितरण गर्ने भएको छ ।
ऐतिहासिक पार्क भित्र अमर्यादित कार्य रोक्न र सुरक्षित बनाउनको लागि न्युनतम प्रवेश शुल्क लिएर पार्कलाई व्यवस्थित गर्न लागेको, कृषि ज्ञान केन्द्रको जग्गा नगरपालिकाको नाम ल्याउन सम्पूर्ण प्रकृया पुरा भएको र नगरका मुख्य मुख्य वडाहरुमा गौरवका बाटो निर्माणको कामले गति लिएको श्रेष्ठले जानकारी दिनु भयो ।

































































































































































































