५ कार्तिक २०८३, बुधबार

 

बडिगाड अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै

बागलुङ । गलकोट,बडिगाड, ढोरपाटन, तमान र निसीका मृगौलाको बिरामीहरु डाइलसिस सेवा लिन बागलुङ, बुटवल , पोखरा, भरतपुर र काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

बागलुङको बडिगाड गाउँपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच डाइलाइसिस सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

आइतबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बडिगाड अस्पतालमा प्रत्योपण केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मी खटाउने र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिएर उनीहरु सक्षम भएपछि केन्द्रले सहकार्य र समन्वयको भूमिका निर्वाह गर्ने कार्यकारी निर्देशक श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

यसबाट बागलुङको पश्चिम भेगका र गुल्मी, रुकुम र रोल्पाका जनताले समेत सहज सेवा पाउने उहाँले बताउनु भयो ।

बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण  भइसकेको छ ।

सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्।

यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै नवनिर्मित भवनमा डायलाइसिस सेवासहित अन्य स्वास्थ्य सेवाहरु सर्वसाधारण नागरिकहरुले प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung