बागलुङ । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले आफ्नो तीन अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था मिलाई दिन संसदीय छानबिन समितिलाई माग गरेका छन् ।
नेपालीले सहकारीको समस्या समाधान गर्न समितिलाई पत्र पठाएका छन् ।उनले हुलाकमार्फत समितिलाई पत्र पठाएका हुन् ।
सहकारीले बचतकर्ताको फिर्ता गर्न बाँकी रकम १ अर्ब ८० करोड रुपैयाँ रहेको उनले बताएका छन् । बैंकमा धितो राखी लिएको रकम जम्मा ३१ करोड रुपैयाँ मात्रै रहेको निवेदनमा उल्लेख छ ।
‘ काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ ।कुनकुन कित्ता बैंकमा घितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्न समेत यसै निवेदन मार्फत समिति समक्ष आह्वान गर्न चाहन्छु । अतः संघर्ष समितिको भर पर्दा एकातिर मेरो घरजग्गा सम्पत्ति हडप्न दलालहरु लगाउने, अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको छ ।’ उनले निवेदनमा भनेका छन् ।
उनले संघर्ष समितिमा रहेका प्रतिनिधिहरुको नाम निवेदनमै समावेश गर्दै संघर्ष समितिमा रहेका सबै पदाधिकारी र सदस्यहरुलाई समेत छानविनको दायरामा ल्याउन आग्रह गरेका छन् ।
देवकुमार नेपाली अहिले कहाँ छन् ? उनले कहाँबाट यो पत्र पठाएको हो ? थाहा हुन सकेको छैन ।
केहि मानिस उनको सम्पर्कमा भएको भनिए पनि यस विषयमा प्रष्ट कुरा बाहिर आएको छैन् ।
फरार नेपालीको विषयमा लामो समय हुँदा पनि प्रहरीको खोज अनुसन्धानले ठोस नतिजा निकाल्न नसक्दा बचतकर्ताहरु निरास भएको बेला नेपालीले संसदिय समितिलाई पत्र पठाएको हो ।
उनले गत २०७९ माघ १९ गते पनि मसँग बचत फिर्ता गर्ने नगद छैन, सम्पत्ती बेचेर फिर्ता गर्छु, सहयोग गर्नुस भनि वक्तव्य प्रकाशित गरेका थिए ।
साथै उनले आफनो बागलुङ,बुर्तिबाङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब बराबरको सम्पत्ति रहेको र सम्पत्तीको विवरण समेत वक्तव्यमा उल्लेख गरेका थिए ।
इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ।
राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिबाङ बजारबाट फरार भएका थिए ।
उनी फरार भएको ८ महिनापछि बल्लप्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) मार्फत् रेड कर्नर नोटिस जारी गरेको थियो । तर नेपाली अहिलेसम्म पक्राउ पर्न सकेका छैन् ।




















































































































































































































