बागलुङ। पोखराको सूर्य दर्शन सहकारी ठगीमा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ ।
अदालतले पक्राउ गर्न अनुमति दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको हो ।
सीआईबीले एसपीको नेतृत्वको पक्राउ गर्न टोली परिचालन गरेको छ ।
सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको यो पहिलो पटक हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो ।
जिल्ला अदालतले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।




















































































































































































































