६ कार्तिक २०८३, बिहीबार

 

बडिगाडको पहिलो चौमासिक सार्वजनिक सुनुवाई

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले सुशासन र पारदर्शिताका लागि पालिका स्तरीय पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्षका पहिलो चौमासिक बजेट खर्च, योजना तथा अन्य सवालमा उठेका जनताको जिज्ञासा मेटाउन सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता एवं जवाफदेहिताको लागि आयोजित सर्वाजनिक सुनुवाईमा खानेपानीको समस्या, सडक मर्मतमा भएको ढिलाई, शिक्षा क्षेत्रको समस्या, कृषि क्षेत्रको समस्याका विषयमा नागरिकले प्रश्न उठाएका थिए ।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बागलुङ पोष्ट सञ्चार प्रालिको समन्वयमा भएको सो कार्यक्रममा नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा, प्रशासनिक क्षेत्र लगाएतका क्षेत्रमा सवालहरु उठाएका छन् ।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय ढालेन्द्र रायमाझी, मेघनाथ खरेल, रमेश खरेल, अनिष पाठक, सुदिप कार्की, कृष्ण कुमारी राना र शेरबहादुर श्रीष लगायतले नागरिकको तर्फवाट प्रश्न, सुझाव तथा विज्ञासा राख्नुभएको थियो ।

लघुजलविद्युतको तार लत्रेको, समयमै जन्मदर्ता नभएको, फोहर व्यवस्थापन नभएको, नगरले ल्याएको नीति कार्यान्वयनमा समस्या देखिएको, फजुल खर्च बढेको, सुरक्षामा ध्यान नदिएको, स्वयंसेविकाको दुःख नदेखेको, हुलाक कार्यालयको कार्यालय सरेको लगायतको विषयमा जिज्ञासा राखेका थिए ।

सवालहरुको जवाफ दिँदै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले सामाजिक न्यायको नीति लिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले नागरिकका सुझाव र सल्लाहका आधारमा अघि बढ्न सुशासनका कार्यक्रमलाई अगाढी बढाएको जानकारी दिनुभयो ।

जनताको जवाफमा थापाले जनतालाई सेवा प्रवाहमा गाउँपालिकाले कुनै कसुर नराख्ने बताउनुभयो ।

उहाँले खानेपानीको समस्या समाधानका लागि नेवा संगमिलेर एक हजार भन्दा बढी घरमा खानेपानी पु-याएको जानकारी दिदै केन्द्रिय विद्युतीकरणको काम धमाधम भइरहेको बताउनभुयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष भिमसेन वनले राजश्व बढाउन करको दायरा नभएर क्षेत्र विस्तार गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलले पहिलो चौमासिकमा ९ प्रतिशत पूँजीगत खर्च भएको जानकारी दिनुभयो ।

५४३ योजनामध्ये १३० योजना सम्झौता भएर ८ वटा योजना सम्पन्न भइसककेको बताउनुभयो । रु २० करोड आम्दानीमा रु १५ करोड खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार विजय रानाले टिप्पणी गर्नुभएको थियो भने नागरिकको सेवा प्रवाहमा गुणस्तर बढाउदै लैजान सुझाव दिनुभएको थियो ।

कार्यक्रममा आचारसंहिताका विषयमा पत्रकार खेमराज गौतमले जानकारी गराउनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन पत्रकार संगम घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम बडिगाड गाउँपालिकाका शुसासन समितिका संयोजक विष्णु आचार्यको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण पत्रकार डम्मर बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung