६ कार्तिक २०८३, बिहीबार

 

आदर्श सञ्चार सहकारीको १८ औँ साधारण सभा सम्पन्न, ३३ जना जेष्ठ शेयर सदस्यलाई पेन्सन वितरण

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको थियो । तीन हजार ४६९ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १८ औँ साधारणसभा भव्यताका साथ सम्पन्न गरेको हो ।

साधारण सभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी सदस्यको सुझाव लिइएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

संस्थाले विगत ६ वर्षदेखि साधारण सभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले गर्ने, खुल्ला सत्र नगरी शुरुमै प्रतिवेदनहरु प्रस्तुत गर्नुका साथै संस्थाको समग्र अवस्था बारे प्रस्तुतीकरण गर्ने र सदस्यहरुबीच छलफल गर्ने गरि मनाउदै आएको अध्यक्ष जिसीले बताउनुभयो ।

सदस्यहरुलाई संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिन, सदस्यहरुको सक्रिय सहभागिता बढाउन तथा साधारण सभा सदस्यको सभा हो भन्ने विषयलाई थप स्थापित गर्नका लागि नियमित रुपमा यस प्रकार साधारण गर्दै आएको र १८ वार्षिक साधारण सभा थप प्रभावकारी रुपमा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार मनकुमारी केसी, सल्लाहकारहरु डिलबहादुर कार्की, अमरबहादुर थापा, रुद्रबहादुर महत, कमल प्रसाद श्रेष्ठ, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

सल्लाहकारहरुका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष मन कुमारी केसीले सहकारी अभियान, सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास लगायत वित्तीय तथा सूचना सञ्चारको क्षेत्रमा आदर्श सञ्चारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सदस्यहरुको माया, सल्लाह सुझाव र सक्रिय सहभागितामा सञ्चालन हुदै आएको आदर्श सञ्चारलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुबीच थप सक्रियता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

साधारण सभामा संस्थाको वित्तीय अवस्था, आगामी योजना लगायतका विषयमा सहजिकरण गर्दै संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीले साविक धौलागिरी क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन शुरुदेखि नै महत्वपूर्ण भूमिका खेलेको जानकारी गराउनुभयो ।

संस्थाले सञ्चालन गरेका सञ्चार माध्यममार्फत सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारीको संस्थागत विकासमा समेत संस्थाका तर्फबाट निरन्तर साथ सहयोग रहदै आएको बताउनुभयो ।
पछिल्लो समय सहकारीबाट लगेको ऋण तिर्न पर्दैन जस्तो गरेर सदस्यहरुले सहकारीलाई समस्यामा पार्ने काम गर्न थालेको विषयमा चर्चा गर्दै उहाले सरकारले अध्यादेश मार्फत कर्जा सूचना केन्द्र अगाडि बढाएर खराव ऋणीहरुलाई सचेत बनाएको बताउनुभयो ।

जिसीले सक्रिय शेयर सदस्य भएको संस्थामा जस्तोसुकै समस्या रहेपनि समाधान हुने भन्दै सहकारीका असली मालिक सदस्य भएको जानकारी दिनुभयो । उहाँले हाल संस्थाको आर्थिक अवस्था, शेयरपूँजी तथा अन्य आर्थिक विषय सदस्यलाई जानकारी गराउनुभएको थियो ।

साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतीले पारित भएको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

बन्दसत्रमा सहभागी शेयर सदस्यहरुले आदर्शले सञ्चालन गरेका कार्यक्रमहरु सहकारीको संस्थागत विकास र समुदायलाई सचेत बनाउन महत्वपूर्ण बनेको बताउदै सहकारीका विषयमा आएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका थिए ।

आदर्शका शेयर सदस्यहरु अझै सक्रिय हुनुपर्ने भन्दै आदर्शलाई सदस्यहरुले हौसला प्रदान गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले आदर्शले अझै सदस्यमाझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने, सदस्यप्रति थप उत्तरदायित्व हुनुपर्ने, सदस्यहरुले समेत सहकारीलाई सघाउनुपर्ने बताएका थिए ।

साधारण सभामा सर्वोत्कृष्ट कारोबार गर्ने शंकर पाण्डेय, मिना क्षत्री, गंगा केसी, कृपा नकर्मी र हिरामणी उपाध्याय लगायतलाई सम्मानित गरिएको थियो । उत्कृष्ट कारोबार गर्ने ५८ जनालाई नगद प्रोत्साहन गरिएको थियो ।

कार्यक्रममा बाल बचतकर्ता ज्योती अग्नी थापा, उत्कृष्ट सञ्चालक अम्बिका जिसी, उत्कृष्ट जोडी सम्मानमा सूर्य प्रसाद घिमिरे र प्रमिला शर्मा घिमिरे, उत्कृष्ट कर्जा कारोबार गर्ने दुर्गा कुमारी कार्की क्षेत्री लगायतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा ३३ जना जेष्ठ शेयर सदस्यहरुलाई दुई हजार ४०० का दरले पेन्सन प्रदान गरिएको थियो । संस्थाले पेन्सनकोष स्थापना गरी संस्थामा सदस्य बनेको १० वर्ष भई ७० वर्ष उमेर पुरा भएका सदस्यहरुलाई पेन्सन वितरण गर्दै आएको छ । साधारण सभामा १४ जना अपाङ्गता भएका शेयर सदस्यहरुलाई जनही रु. एक हजार अपाङ्गता प्रोत्साहन रकम गरिएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका, आदर्शसञ्चार डटकम अनलाईन सञ्चालन गर्नुका साथै सदस्यहरुसंग वचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

संस्थामा हाल ५ करोड ६० लाख शेयर रकम, २० करोड वचत रकम, ३१ करोड ऋण लगानी, २ करोड कोष सहित ३५ करोडको कुल कारोबार रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung