बागलुङ । सहकारी ठगी मुद्दामा म्याग्दीका जिःल्ला समन्वय प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ हिनामिनामा थापाको पनि संलग्नता रहेको खुलेको छ ।
गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना गरेको गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।
२०७९ माघ २८ को अधिवेशनबाट निर्वाचित अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा र लेखा समिति संयोजक गेमबहादुर घर्तीले निर्वतमान अध्यक्ष राज कुमार थापा र कर्मचारीले रकम हिनामिना गरेको भन्द छानबिनको माग गर्दै सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिएको थियो ।
सहकारीका सञ्चालकले सहकारीको रकम ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।






























































































































































































