
‘देशभर करिब ३२ हजार सहकारी छन् । तीमध्ये ५ सयदेखि १ हजारमा समस्या आएको होला । बाँकी सहकारीहरुले समुदायका मानिसहरुको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
हिजोआज खाली सहकारीप्रति नकारात्मक धारणा विकास गर्ने काम मात्र भएको छ । यस्ता नकारात्मकताहरु हामी सबै मिलेर चिर्नुपर्छ । त्यसका लागि सदस्य सेवामा समर्पित सबै सहकारीहरु जाग्नुपर्छ, सबैले आ–आफ्नो संस्थालाई जगााउनुपर्छ र सेवा र छवि बढाउनुपर्छ । यसले मुलुकलाई सहकारीमैत्री र सहकारीमय बनाउँछ अनि भ्रम र नकारात्मकताहरु चिर्छ ।’
गण्डकी प्रदेशको बाग्लुङमा अवस्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले गत चैतको मध्यदेखि संस्थाले आयोजना गरेको १५ दिने “जागौँ, जगाऔँ र बढाऔँ” अभियानका गतिविधिहरु र त्यसले पारेको प्रभाबारे धिप्री डटकमसँग टेलिफोन संवादमा भन्नुभयो ।
सिवाईसी साकोसले ६८ औ राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १६ औ स्थापना दिवसको अवसर पारेर २०८१ साल चैत्र १३ गते देखि २७ गते सम्म १५ दिने “जागौँ, जगाऔँ र बढाऔँ” वृहत् अभियान सञ्चालन गरेको थियो । उक्त १५ दिने अभियानले सहकारी अभियानप्रति सकारात्मक परकम्प ल्याएको दाबी अध्यक्ष एवम् सहकारी अभियन्ता पौडेल दाबी गर्नुहुन्छ ।
‘सहकारीले सकारात्मकता सिकाउँछ, सहकारीले सदस्य र समाज बदल्छ, सामार्जिक र आर्थिक अवस्थामा कायापलट गर्दछ । केही सहकारी बिग्रदैमा सबै बिग्रदैनन् ।’ पौडेलले भन्नुभयो, ‘यही विषय केन्द्रमा राखेर हामीले सदस्य अनि समुदायमा सहकारी सचेतना र जागरण फैलाउन आयोजना गरेको अभियानले सिवाईसीलाई त सकारात्मक प्रभाव पार्ने नै भयो, एक हिसाबले भन्दा मुलुककै सहकारी अभियानलाई तरंगित गरेको महसुश गरेका छौं ।’
यो अभियानले जिल्लामा मात्र नभई मुलुकभर नै सकारात्मक हलचल ल्याएको दाबी पौडेल गर्नुहुन्छ । ‘एउटा पोजेटिभ भाइब्रेशन सञ्चार गर्न सिवाईसी साकोसको यो पन्ध्र दिने अभियान सफल भएको ठानेका छौं, ’तर गर्न अझै धेरै बाँकी छ । त्यसका लागि देशभरका सहकारीहरुले यही दिशामा काम गर्नुपर्छ । सामुहिकताको शक्ति ठूलो हुन्छ । एकताबद्ध प्रयासले ठूलो हलचल र परकम्प ल्याउँछ । नीति निर्मार्ताहरुलाई पनि हामी सहकारीप्रति सकारात्मक हुन प्रेरित गर्न सक्छौं ।’
समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै सहकारीको महत्वबारे जनचेतना फैलाउने, सदस्यहरूको सक्रियता र सहभागिता बढाउने, स्थानीय तहमा सहकारी अभियानलाई सशक्त बनाउने, सहकारी मूल्य र सिद्धान्तहरूलाई व्यवहारमा उतार्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
‘त्यसका लागि ६८औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १६औं स्थापना दिवस उपयुक्त अवसर थियो, पौडेलले भन्नुभयो, ‘जसले हामीलाई रिजल्ट पनि राम्रो दियो, हामी यो अभियानको सफलताले उत्साहित भएका छौं । सहकारीका उपलब्धि र योगदानबारे जानकारी दिने र पछिल्लो समयमा केही सहकारीमा देखिएका समस्याहरुलाई लिएर समग्र सहकारी क्षेत्रलाई नै गर्न खोजिएको बद्नामी केही हदसम्म भएपनि चिर्न हामी सफल भएका छौं ।’
बाग्लुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) का निवर्तमान सञ्चालक सदस्य समेत रहनुभएका पौडेल समुदायमा भिजेको, दुःखसुख बुझेको, डाँडाकाँडा चहारेको अभियन्ताका रुपमा चिनिनुहुन्छ ।
सहकारीबारेको आफ्नो करिब ३ दशक लामो अनुभव उहाँले सिवाईसीमा खन्याउनुभएको छ । सोही कारण सिवाईसीलाई मुलुककै सफल सहकारीको रुपमा उभ्याउने नेतृत्व गर्नुभएको छ । तर, पनि चुनौतीहरु त छन् । त्यही चुनौतीहरु चिर्न अभियान आयोजना गरिएको उहाँले बताउनुभयो ।
बाग्लुङमै केही समस्या आए । केही सहकारीहरु समस्यामा परे । त्यसको असर सिवाईसीमा नपर्ने कुरै भएन । देशका विभिन्न ठाउँमा केही सहकारीहरुमा सञ्चालकहरु वित्तीय अनुशासनमा नबस्दा जन्मिएको समस्याको ठूलो भोलुम र त्यसले ती संस्थाका बचतकर्ता सदस्यहरुमा पुगेको असरका कारण पनि आम जनमानसमा सहकारीप्रति सकारात्मक धारणा विकास गर्न कठिनाइ पुगेको पौडेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हामीले राम्रो काम गर्दागर्दै पनि छिमेकमा र अन्यत्र सहकारीका सञ्चालकहरु अपचलन गरेर फरार रहेको वा व्यवस्थापकहरुले दुरुपयोग गरेको भन्ने खालका समाचारहरुले असर गरेको छ । संशयर आशंकाहरु स्वाभाविक रुपमा जन्मिन्छन् नै । त्यसैलाई चिर्न, हामी सही बाटोमा छौं र सहकारीको महत्व हिजोभन्दा बढेको छ भन्नलाई हामीले १५ दिने अभियान सञ्चालन गरेका हौं ।’
अरु चुनौती भनेको सहकारीबाट लगेको ऋण तिर्नुपर्दैन भन्ने अफवाह, तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि अटेरी गर्ने बानी र आर्थिक संकुचन । यी कारणसँगै केही सदस्यहरु भने साँच्चिकै समस्यामा परेका छन् । जसले समग्रतामा बचत तथा ऋण सहकारीहरुमा भाखा नाघेको ऋण बढ्दो छ । वित्तीय सूचकहरुलाई सही राख्न चुनौती खडा गरेको पौडेल स्वीकार्नुहुन्छ ।
पौडेल सुनाउनुहुन्छ, ‘धनीले सहकारीको ऋृण नतिर्दा गरिब मारमा परेको छ । यो वास्तविकता हो । आर्थिक अवस्था कम भएकाहरुले ऋणको सही सदुपयोग गर्ने, मितव्ययीता अपनाउने र समयमै ऋण तिनुपर्छ भन्ने भावना सधै राख्ने गरेको पाएको छु । अधिकांशको विषय यही हो केही अपवाद बाहेक ।’ सोही आशयको उहाँको एउटा टेलिभिजन अन्तर्वार्ता अहिले पनि भाइरल छ ।
उक्त अभियानकै दौरान सिवाईसीले चैत २६ गते सहकारी पुराण उत्सव समेत आयोजना गर्यो । सहकारी क्षेत्रमा सम्भवतः यस्तो पुराण पहिलो पटक लगाइएको थियो । यसले राम्रै प्रचारप्रसार गरेको, सचेतना ल्याएको र समाजसँग सहकारीलाई अन्तरघुलित गराएको संस्थाका अध्यक्ष पौडेलको ठम्याइ छ । धार्मिक दृष्टिकोणले पनि कसैको ऋण नतिर्नु गलत, अनैतिक र कानुनविपरित मानिने विषयलाई पुराणहरुमा उल्लेख छ ।
‘पुराण पनि एउटा प्रशिक्षण नै हो, ’सिवाईसीका अध्यक्ष पौडेलले भन्नुभयो, ‘अरु हिसाबले वेवास्ता गर्ने व्यक्ति पनि धर्मले गलत भनेको विषयसँग डराउँछ, मैले पाप गर्नुहुँदैन, लिएको ऋण तिरिनँ भने भावी पुस्तालाई समेत त्यसले असर गर्छ, भन्ने कुराबाट झस्कन्छ । व्यक्तिलाई सही दिशाबोध गर्न पनि धर्मको सहारा लिइएको र पुराणले सचेतना फैलाएको उहाँले बताउनुभयो ।
‘३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिँडेका छन्, ‘पौडेलले भन्नुभयो, ‘हामीले नकारात्मक मात्र कुरा नगर्नूस् भन्न पनि पुराण लगाएका हौँ । ऋण लगेर नतिर्दा सामाजिक रूपमा बहिष्कारमा त परिन्छ नै, ऋण नतिर्नेलाई धार्मिक रूपमा समेत पाप लाग्ने, कल्याण नहुने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखारबिन्दबाटै सुनाइएको छ ।’ सहकारीले सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी नडुब्ने बताउँदै सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सिवाईसीको दृष्ट्रिकोणले हेर्दा पनि उक्त १५ दिने अभियान अवधिमा ५ हजार भन्दा बढी सदस्य तथा गैर सदस्यहरुसँग घरभेट, करिब ५०० बढी नयाँ शेयर सदस्य, ५०० भन्दा बढी नयाँ बाल बचतकर्ता, कार्यक्षेत्र भित्रका विभिन्न स्थानमा वित्तीय साक्षरता तथा सदस्य जागरण कार्यक्रम, सहकारी पुराण, संस्थाका गतिविधि बारे पत्रकार सम्मेलन, सरसफाई, वृक्षारोपण लगायतका क्रियाकलाप सञ्चालन गरिएको थियो । यस्तै उक्त अवधिमा आयोजित तालिम कार्यक्रमहरुमा पनि सैयौं सदस्यहरु सहभागी भई लाभान्वित भएका थिए । अध्यक्ष पौडेलले भन्नुभयो, ‘यसले हामीलाई सदस्यहरुमा विश्वास बढाइराख्न अत्यन्त ठूलो सहयोग मिलको छ ।’
समुदायमा आधारित सदस्य केन्द्रीत सिवाईसी साकोसमा हाल २६ हजार २ सय शेयर सदस्य, २५ वटा सदस्य सेवाकेन्द्र, ९४ जना कर्मचारी, ६०१५ बाल बचतकर्ता, ४० करोड शेयर पुँजी, १ अर्व ५३ करोड बचत, १ अर्व ३३ करोड लगानीमा रहेको ऋण, २० करोड ४३ लाख जगेडा कोष र २ अर्ब ३१ करोडको कुल सम्पत्ति रहेको छ ।
साकोसले सामाजिक उत्तरदायित्वका थुप्रै कार्यक्रमहरुमार्फत समुदायमा विशिष्ट छवि आर्जन गरेको छ । व्यक्तिगत रुपमा पनि हरियो परियोसँग आशक्त अध्यक्ष पौडेल सिवाईसीमार्फत वातावरण संरक्षण, प्लाष्टिकमुक्त पर्यावरणसँगै हरित अर्थतन्त्र निर्माणका लागि थुप्रै कामहरु सञ्चालन गरिएको र भविष्यमा पनि बढाउँदै लाने विश्वास दिलाउनुहुन्छ ।
अब सहकारीहरुले साँच्चिकै जाग्ने बेला आएको उहाँको धारणा छ । सहकारीप्रति सकारात्मक धारणा व्यापक रुपमा सञ्चार गर्न सदस्य मैत्री कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘त्यसका लागि आफ्नो संस्थालाई जगाउनुपर्छ, वित्तीय रुपमा अनुशासित बनाउनुपर्छ, स्वस्थ्य बनाउनुपर्छ, पल्सका सूचकहरु सही राख्नुपर्छ, सदस्यता वृद्धि, पुँजी वृद्धि, संस्थागत पुँजी वृद्धि, नकाउने सम्पत्तिमा कम खर्च, भाखा नाघेको ऋण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ’ पौडेल सुझाउनुहुन्छ ।
सहकारीमा २५ वर्ष विताइसक्नुभएका पौडेलको जतिजति उमेर बढ्दो छ, उर्जा पनि त्यतिकै बढ्दो छ । उहाँ भन्नुहुन्छ, ‘सञ्चालक समिति तथा व्यवस्थापन जाग्न, संस्थाका नीति तथा कार्यक्रमहरुलाई सदस्य मैत्री बनाउनेतर्फ जगाउन, सदस्यहरुमा सहकारीप्रति सकारात्मक धारणा जगाउन र कारोबार तथा सदस्य सेवाको आयातन बढाउन यो अभियान सञ्चालन गरेका हौं ।’ त्यही भएर सिवाईसीले तालिम, तालिम र तालिममा जोड दिदैं आएको छ । २०८२ सालको पहिलो आधा महिना मात्रै बितेको छ, सिवाईसीले लगातार तालिमहरु सञ्चालन गरेको गरेकै छ ।
‘जबसम्म सदस्यहरुमा सहकारी, सहकारीको बचत, ऋण, सहकारी सञ्चालन पद्धति, सञ्चालक समिति र व्यवस्थापनबीचको काम, कर्तव्य र अधिकारमा फरक, मानव संशाधनको महत्व, सहकारीको मुल्य, मान्यता र सिद्धान्त, बचतको महत्व, वित्तीय साक्षरता जस्ता विषयमा आम सदस्यहरु जागरुक हुँदैनन् तब सहकारी दिगो हुँदैन पौडेल भन्नुहुन्छ, ‘त्यही भएर हामीले तालिम, शिक्षा र प्रशिक्षणलाई प्राथमिकतामा राखेका छौं ।’
सिवाईसीका अध्यक्ष पौडेल आफै पनि कुशल सहकारी प्रशिक्षक हुनुहुन्छ । राम्रो वाक्पटुता छ । तर, सिवाईसी साकोस तथा बाग्लुङ बचत संघले वित्तीय व्यवस्थापन विज्ञ केशबप्रसाद पोखरेलदेखि नाम चलेका प्रशिक्षकहरुबाट तालिम सञ्चालन गर्दै आएको छ । यसले सिकाइलाई विविधता, विषयमा विराटता र बुझाइमा स्पष्तटा आउने दाबी पौडेल गर्नुहुन्छ ।
संस्थामा मात्र नभई जिल्लामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुलाई दिगो वित्तीय व्यवस्थापनको अवधारण, सहकारीका वर्तमान जोखिम, परिवर्तीत नीति, नियम, वित्तीय विश्लेषण र व्यवस्थापन लगायतका विषयमा क्षमता वृद्धि गर्ने उद्देश्यले नेफ्स्कूनसँगको प्राविधक सहकार्यमा बचत संघले पनि तालिम शिक्षाका कार्यक्रमहरुमा जोड दिएको उहाँ बताउनुहुन्छ । सदस्यलाई जागृत गर्न सकेमा मात्रै सहकारीको भविष्य राम्रो रहेको भन्दै सहकारीले पनि सदस्यमैत्री भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
१५ दिने अभियानबाट उत्साहित सिवाईसी साकोसले अहिले “सबै जुटौँ, सदस्य भेटौँं” नामक २१ दिने अर्को अभियान सञ्चालन गरेको छ ।
ढिप्रिबाट