
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । काठेखोला गाउँपालिका २ भीमापोखराले यस वर्ष तीन सय विपन्न परिवारलाई विद्युतीय चुलो प्रदान गरेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा वडाले पछि परेको समुदायमा चुलो पुर्याउने गरी बजेट विनियोजन गरेको थियो । नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाको योजनामा साथ दिएपछि चालु वर्षमै तीन सय परिवारका लागि नि:शुल्क चुलो वितरण गरिएको हो ।
देश बाहिर जाने अत्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको वडा अध्यक्ष विद्यापति शर्माले बताए । खुल्ला बजारमा पाँच हजार पाँच सय पर्ने नेपाली उत्पादन कुलायन ब्राण्डको चुलो परियोजनाले ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
परियोजनाले आफ्नो मुल्यमा विभिन्न दातृ निकायसँग सहकार्य गरेर ५० प्रतिशत अनुदान दिएको र बाँकी ५० प्रतिशत वडा कार्यालयले व्यवस्थापन गरेर चुलो वितरण गरिएको शर्माले जानकारी दिए ।
“आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि आफ्नै देशमा रहन्छ,” वडाध्यक्ष शर्माले भने, “झट्ट हेर्दा बाटो बनाएजस्तो काम देखिँदैन्, मानवीय विकासमा भएको यो खर्चले दिर्घकालिन रुपमा प्रभाव देखाउँछ ।”
यो कार्यक्रम निरन्तर चल्ने छ । पहिलो चरणमा विपन्न र पछि परेको समुदायका लागि निशुल्क चुलो उपलव्ध गराएको वडाले आगामी वर्ष सबै वडाबासीमा घरमा चुलो पुर्याउने लक्ष लिएको छ ।
विद्युतिय चुलो वितरण पूर्व नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाका घर घरमा पुगेर चुलोको प्रयोगका विधि, यसको फाइदा बेफाइदाका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
चुलो वितरणपछि त्यसको जडान, विद्युतिय प्वाइन्टहरुको जाँच लगायतका काम पनि परियोजनाले नै गर्ने परियोजनाको विद्युतिय चुलोका बागलुङ वितरक धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सका प्रोपाईटर सूर्य गौतमले बताए ।
नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले बागलुङ जिल्लाका बिभिन्न संघ संस्था तथा स्थानीय सरकारसँग समन्वय गरेर दुई हजारभन्दा धेरै चुलो वितरण गरिसकेको जनाएको छ ।
दुई वर्ष मर्मत वारेण्टीसहित चुलोमा प्रयोग गरिने भाडावर्तन समेत परियोजनाले उपलव्ध गराउँदै आएको छ ।