बागलुङ । बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामान्दिर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीलाई विज्ञान प्रवद्र्धनका लागि पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत चार दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत विहीबारदेखि सञ्चालित तालिममा शिक्षक र कर्मचारीलाई सकरात्मक सोच, शिक्षण सिकाईमा सूचना तथा प्रविधिको प्रयोग, शिक्षण सिकाईमा नविनतम प्रविधि, लेखा तथा जिन्सि प्रणाली, कम्युटर शिक्षणको बारेमा जानकारी दिइएको प्रशासनिक सहायक प्रअ थानेन्द्र गौतमले बताउनुभयो ।
तालिममा नगर शिक्षा अधिकृत पूर्णबहादुर घर्ती, सूचना तथा प्रविधि ईन्जिनियर इसान श्रेष्ठ, लेखा अधिकृत डिल्ली प्रसाद शर्मा, नयाँ विश्व सम्पादक मुकेशचन्द्र राजभण्डारी, प्राविधिक सहायक दिपक शर्मा, बाल मैत्री फोकल पर्सन तिलक आचार्यले सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु आर्याल, बानपा-३ का वडा अध्यक्ष सनि केसी लक्ष्मणले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयले प्रदान गरेको तालिम नविन सोच र अभ्यासमा आधारित भएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु आर्यालले बताउनुभयो । तालिममा ४८ जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको छ । आइतबार प्रशिक्षक तथा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सकरात्मक सोच र त्यसको शिक्षणमा प्रयोग संम्बन्धमा सहजिकरण गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रम विद्यामान्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीको अध्यक्षता र विज्ञान इन्चार्ज कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

























































































































































































































