५ कार्तिक २०८३, बुधबार

 

जैमिनी नगरपालिकाको बजेट ७५ करोड चार लाख

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२ र ०८३ का लागि ७५ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले सोमबार १७औं नगरसभामा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले सामाजिक विकासतर्फ पाँच करोड ४२ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जैमिनीले बजेटमार्फत छोरी कार्यक्रमलाई निरन्तरता र सुकुम्बासीमुक्त नगरपालिका घोषणा कार्यक्रम सार्वजनिक भएको छ । यस्तै, किसान परिचयपत्रयुक्त नगरपालिका घोषणा गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको नगर उपप्रमुख शर्माले जानकारी दिए ।

नगरपालिकाले कृषि तथा पशु सेवातर्फ एक करोड ४६ लाख ६२ हजार रुपैयाँ विनियोजना गरेको छ भने मिसन रोजगारी, दिगो रोजगारी र उद्यमशिलता प्रर्वद्धन अभियानलाई आत्मसात गर्दै लघु उद्यम कार्यक्रमका लागि १४ लाख १६ हजार बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले विपन्न नागरिकको निःशुल्क उपचारका लागि स्थापना गरेको जैमिनी स्वास्थ्य उपचार कोष वृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामी आर्थिक वर्षका लागि थप २५ लाख बजेट बिनियोजन गरेको हो ।

नगरले कोषमा योगदान गर्न चाहने सर्वसाधारणका लागि चालु आर्थिक बर्षबाट कार्यविधि तयार गरेर खुल्ला गर्ने भएको हो । कोषलाई थप प्रभावकारी बनाइने उपप्रमुख शर्माले बताए । उपचार खर्चको अभावमा जैमिनीबासी कसैलाई पनि उपचारबाट बञ्चित नगर्नेगरी कोष बनाउन थालिएको हो ।

त्यस्तै नगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वयंसेविका प्रोत्साहन, स्वास्थ्य संस्थाका संरचना निर्माणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षभित्रै नगरलाई बालमैत्री नगर घोषणा समेत गर्ने भएको छ । बालमैत्री नगर तयार गर्न दुई करोड बजेट विनियोजन भएको छ ।

पुर्वाधार विकासतर्फ आठ करोड ८२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने वन वातावरण र भु–संरक्षण तथा विपद् व्यवस्थापनका लागि ६२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शर्माले जानकारी दिए ।

नगरपालिकाले सुसासन र संस्थागत विकासतर्फ ३९ लाख रुपैयाँ बजेट विनियोजना गरेको छ भने नगरभित्र कार्यान्वयन हुने विभिन्न अन्तर सम्बन्धित विषयहरूको कार्यान्वयका लागि २ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले चालु प्रशासनि खर्चतर्फ ११ करोड ९५ लाख रुपैयाँ विभिन्न खर्च शिर्षकमा खर्च हुने गरी विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung