बागलुङ । बागलुङ नगरपालिकाले मंगलबार रु एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि नगर उपप्रमुख राजु खड्काले अनुमानित आय, आन्तरिक राजश्व तथा बैंक रकमलाई अधार मानेर बजेट प्रस्तुत गर्नुभएको छ
। बजेट पर्यटन, शिक्षा र पूर्वाधार लगायत केन्द्रित भएको छ ।सोमबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पछि बजेट प्रस्तुत गरिएको थियो ।
नगर सभामा नगरउपप्रमुख राजु खड्काले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रु १५ करोड ३७ लाख, सशर्त अनुदान तर्फ रु ७२ करोड २४ लाख, समपुरक अनुदान तर्फ रु २ करोड २४ लाख, विशेष अनुदान चालु तर्फ रु एक करोड ३० लाख, प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदान तर्फ रु दुई करोड १६ लाख ८२ हजार, शसर्त अनुदान पुँजिगत तर्फ रु २ लाख, समपुरक र विशेष अनुदान रु एक करोडर संघ, प्रदेश र स्थानीय तहको राजश्व बाँडफाँड रु १५ करोड १२ लाख ६० हजार, तथा आन्तरिक राजश्व र अनुमानीत बैंक मौज्दात सहित रु २१ करोड २९ लाख १५ हजार गरी रु एक अर्ब ३० करोड ९५ लाख ५८ हजार आय अनुमान गरी बजेट प्रस्तुत गरिएको उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
नगरपालिकाले आर्थिक विकास तर्फ २ करोड ९७ लाख, पूर्वाधार विकास तर्फ रु ३९ करोड ५१ लाख ३९ हजार, सामािजक विकास तर्फ रु ६४ करोड ४१ लाख ३९ हजार, सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्रमा रु ६ करोड ८१ लाख विनियोजन गरेको छ ।
यस्तै नगरपाकिलाले बालमैत्री दिगोपनामा रु २० लाख, न्यायिक समितिलाई रु १५ लाख, आयुर्वेदलाई रु १० लाख, फोहोर व्यवस्थापनलाई रु १२ लाख, स्वास्थ्य क्षेत्रलाई रु १६ लाख, शिक्षालाई रु २८ करोड पाँच लाख बजेट विनियोजन भएको छ ।
नगरपालिकाले कृषिलाई रु १५ लाख, पशु विकासलाई रु १० लाख, सामी परियोजनालाई रु तीन लाख र महिला तथा बालबालिकालाई रु २० लाख विनियोजन गरेको छ ।






























































































































































































