बागलुङ । मानवसेवा आश्रम बागलुङको नवनिर्मित भवनमा एक कोठा निर्माणको लागि पर्वतको फलेवास नगरपालिकाले रु ५ लाख ११ हजार १ सय ११ प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन बिहीबार फलेवास नगरपालिका मेयर गंगाधर तिवारी, उपमेयर शोभा कुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृय जिवन ज्ञवाली, फलेवास नगरपालिका-४ का वडा अध्यक्ष अच्युत तिवारी, फलेवास नगरपालिका-६ का वडा अध्यक्ष नविन श्रेष्ठ, फलेवास नगरपालिका-७ का वडा अध्यक्ष केशर पन्त, फलेवास नगरपालिका-८ का वडा अध्यक्ष मनबहादुर कुँवर र फलेवास नगरपालिका-११ का वडा अध्यक्ष रुद्र पाठकले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले सामाजिक, शैक्षिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा नियमित सहयोग गर्दै आएको फलेवास नगरपालिकाका उपमेयर शोभा क्षेत्रीले नयाँ विश्वलाई बताइन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।














































































































































































































