बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविद्वारा रु ८२ हजार ६ सय ८१ सहयोग प्रदान गरिएको छ ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन बुधबार आर्थिक सहयोग हस्तान्तरण गरिएको विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँविश्वलाई बताउनुभयो ।
उक्त रकम विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरिएको विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।


















































































































































































