२ जेष्ठ २०८१, बुधबार

 

राजमार्गले धानेको सारङ्गीको धुन

- (अडियो )

पृथ्वी राजमार्गमा बीचबाटोमा गन्धर्वहरू हतारहतार गाडी चढ्छन् । उभिन्छन्, अनि विस्तारै सारङ्गीको मिठो धुन पस्कन्छन् । त्यही धुनमा जिन्दगीका सुखदुःखका गीत मिसाउँछन् । अनि यात्रुको मन पगाल्छन् । यसरी नै मन पगालेर यात्रुसँग दुइ हात थाप्छन् । यहीबाट राम्रो अाम्दानी गरेको पाइन्छ पृथ्वी रजमार्गका गन्धर्वहरुले ।

कुरिनरटारदेखि मुगलिन, मुगलिनदेखी खैरेनी, अनि खैरेनीदेखी डुम्रे सडकखण्डमा यस्ता गाडीमा सारङ्गी रेटेर मनोरन्जन दिने गन्धर्वहरु भेटिन्छन् । सायद मेरो यात्रामा त्यस्तो कुनै दिन छैन होल सारङ्गी बोकेका गन्धर्व म सवार गाडी नचढेको ।

”सबै यात्रु उस्तै हुँदैनन् हजुर, तेरा हात गोडा सद्दे छन् त के मगेर खान्छस काम गर्न सक्दैनस् भन्छन् कोही त, के गर्नु हजुर पूर्खादेखिको चलन, मलाई त गाउन लाज लाउदैन गाउँछु । म त दिन मन नलाग्ने लाई कर गर्दिन,’ रत्ने गन्धर्वले अफ्नो अनुभव सुनाए । रत्ने जस्ता थुप्रै छन् राजमार्गमा गाउने अरु । अाआफ्नो गुनासो र अनुभव सुनाउने । सँगै बसेका एकजना भाईले सोधे अनि दाई त्यो एउटा भाई थियो नि प्यारोडी गाउने कता छन् अचेल ? मलाई पनि आँखामा उसको अनुहार याद आयो, हो त खुब जोकर थियो त्यो भाई आजकल देखिन्न भन्न नपाउँदै रत्ने दाई कुर्ली हाले, ”पैले पो सानै थियो जे पनि गाउथियो अब त ठुलो भयो लाज लाग्यो पुर्खौली पेसा अँगाल्न गयो लाहुर ।” सानो केटो जे पनि भन्ने साह्रै रमाइलो थियो गएछ लाहुर मनमनै सोचे ।

रत्ने फेरि विदेश जोडेर आफ्नै भाका गाउन थालेः

सुनौं दिदी, सुनौं बहिनी, सुनौं दाजुभाइ ख्याल ठट्टा नठानौं है विदेश जानलाई !
गाउँ बस्ती दिनदिनै खाली हुन थाले सन्तानका साथ पाउन छाडे आमाबाले !!

सारङ्गीको धुनले हरेक मानिसको मन मुटु र मस्तिष्कलाई चसक्क छुने गर्दछ । र मनमा विरहको भाव पैदा गर्छ । यही बाजासँगै कतिपयको रोजीरोटी पनि जोडिएको छ । कुनै समय गाउँगाउँमा पुगेर घरको डिलमा बसी सारङ्गीको तालमा सुचना तथा घटना सुनाउने गन्धर्व समुदायको पेसा हो । तर अहिले त्यो पेसा र सारङ्गी सहर र राजमार्गसम्म फैलिएको छ । १५ मिनेट को जस्तो समयमा धेरै समय गीत यात्रुको गुनगान, शुभ यात्रा, भगवानले रक्षा गरुन भनेर सक्छन् भने अरु समय पुरान भाका , सन्देशमुलक शब्द सुनाउछन् ।

माया पिरतीका गीत नगाउने त कमै होलान झन् ।

बत्ती बाल्ने मट्टीतेलमा लाहुर जाने रेलमा
ज्यानको मासु ज्यानमै सुक्यो पिरतीको खेलमा

कोही आफ्नै पिडा सुनाउछन् ।

भालु मार्ने बन्दुकले मछी मार्ने जालले
एक मरे दु:ख पर्छ दुबै लैजा काल ले
तेर्सो गयो बरको डाली चारीले टेकेको
रुँदा गएन धुदा गएन कर्मैमा लेखेको

सजिलो लाग्छ रत्नेलाई पुर्खौली पेसा । “सकुन्जेल गाउने हो म त, कमाइ राम्रै हुन्छ । दिनमा हजारदेखि पन्र्ासय । के चहियो र त्यति भए, म त सन्तुस्ट छु । कहिलेकाँही त २ हजार पनि हुन्छ,” भन्छन उनी । यात्रु भने कोही रमाइलो नै मान्छन् कोही रिसाउँछन् रे । गाडीमा उभिएरै गाउने बानी पेरिसकेको छ उनलाई ।

प्राय: सबैले सारङ्गी मिठो धुन बजाउँछन्, स्वर कसैको ठिकै हुन्छ, कसैको त साह्रै धोत्रो । दिन भरी गाउँदा सुकेर पनि होला । गाडीमा गाउदै यता उता दिनमा २० -२५ पटक वोहोर दोहोर गर्छन् । पर्यटक बस चढ्न पाए राम्रै आमदानी हुन्थो तर के गर्नु सबै बसका ड्राइभर कन्डक्टर उस्तै हुँदैनन् चढ्नै दिदैनन् । लोकल बस र माईक्रोमा भने समस्या छैन जस्ले पनि चढाउँछन् । सानो छँदा प्रदेशमा नेपालीको दु:ख , मृत्युका घटना त्यसैमा सारङ्गीको मन छुने धुन आँगनमा बसेर गन्धर्व दाई ले गाएको गीत सम्झें । मकै, अन्न र अरु खाने कुरा दिएको सम्झें । अनि सम्झें ति बुढा गन्दर्व बा । त्यति बेलै चाउरी परेका थिए, अहिले छन् छैनन् । समय परिस्थिती सँगै पुर्खौली पेसा अपनाउने तरिका पनि बदलिएको देखिन्छ । जे होस् जस्तो होस् सारङ्गीको मिठो धुन नेपाली लोक बाजा अझै काठमाडौं पोखरा गर्दा सुन्न पाउँदा खुशी लाग्छ । लोकसंगीत लोकभाका जोगाउने कर्तब्य सबैको हो । गाडीकै गन्धर्वलाई भएपनि सम्मान गरौ, अनी बल्ल सधैं गुन्जने छन् ति पुरान भाका अनि बच्ने छ सारङ्गीको त्यो मिठो धुन ।

प्रतिक्रिया दिनुहोस्