३ जेष्ठ २०८१, बिहीबार

 

ढोरपाटनमा पर्यटकीय चहलपहल

बागलुङ/ पर्यटकीय क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । देशकै एउटा सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढेको हो । आरक्षको उपत्यकासम्म मोटर पुगेपछि ढोरपाटन पर्यटकको रोजाइँमा पर्न थालेको हो ।

सडक नपुग्दाको तुलनामा कैंयौं गुनाले आगन्तुकको संख्या बढेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । कार्यालयले विदेशी पर्यटकको ‘रेकर्ड’ राख्ने गरेपनि स्वदेशीको राख्ने गरेको छैन । सडक र सञ्चार सञ्जालसँग जोडिएपछि ढोरपाटनमा पर्यटक आउने क्रम ह्वात्तै बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

ढोरपाटन जाने पर्यटकको लागि फागुन–जेठ उपयुक्त याम मानिन्छ । ‘पुस–माघमा यहाँ हिउँ पर्छ, पर्यटकहरु आउँदैनन्, यहाँका स्थानीयहरु पनि बेशी झर्ने चलन छ’ अधिकृत बरालले भन्नुभयो ‘फागुन, चैतदेखि जेठसम्म यहाँ पर्यटकीय चहलपहल बढ्छ ।’ यो याम विदेशी सिकारको लागि पनि खुला हुने गरेको छ । विभिन्न सिकार एजेन्सीहरुमार्फत् विदेशी सिकारीका पाँच समूहरु अहिले ढोरपाटनमा सिकार खेलिरहेका छन् ।

हिउँदको समयमा सडक पनि नियमित सुचारु हुने हुँदा पर्यटक आगमन बढ्ने गरेको छ । दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक ढोरपाटन आउने गरेको ढोरपाटन सामुदायिक लजका सञ्चालक पनबहादुर बिकले भन्नुभयो । दैनिक दुई÷तीन समूह मोटर ‘रिर्जभ’ गरेर आउने उहाँको भनाइ छ । ‘थोरै संख्यामा यहाँ रहेका होटललाई कहिँलेकाँही पाहुना राख्न पनि धौ–धौ हुने गरेको छ’ बिकले भन्नुभयो ‘होटल लगाएत अन्य व्यवसाय पनि प्रवद्र्धन भइरहेको छ ।’

पर्यटकीय चहलपहल बढेसँगै ढोरपाटनमा होटल–रेष्टुराँ खोल्ने क्रम पनि बढेको छ । विभिन्न सरकारी कार्यालय, संस्थाहरुले पनि आफ्नो अध्ययन भ्रमणको सूचीमा ढोरपाटनलाई राख्ने गरेका छन् । विद्यालयहरुले वर्षौंअघिदेखि ढोरपाटनमा शैक्षिक भ्रमण लान सुरु गरेका हुन् । ढोरपाटन उपत्यका आसपासका पहाडरुमा ढकमक्क फुलेको लालीगुराँसले पनि अहिले पर्यटकलाई लोभ्याउने गरेको छ । जिल्लाको हरिचौरबाट ढोरपाटन पुग्नुभएका कविराज नेपालीले त्यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गरेको प्रतिकृया दिनुभयो ।
ढोरपाटन पुग्ने पर्यटकका लागि सिकार आरक्ष, तिब्बतीय शरणार्थी शिविर, गुम्बा, प्रसिद्ध ढोरबराह मन्दिर, पवित्र उत्तरगङ्गा नदी लगाएतका क्षेत्र आकर्षक गन्तव्य हुन् । ढोरपानबासीको मौलिक कला, सँस्कृति, रहनसहनबाट पनि पर्यटक लोभिने गरेका छन् । बागलुङ आसपासका जिल्लासँगै टाढाबाटपनि पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।

धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकीय गन्तव्य बनेको हो । समुन्द्री सतहदेखि २ हजार मिटरदेखि ७,२४६ मिटरसम्मको उचाइमा ढोरपाटन आरक्ष क्षेत्र फैलिएपनि ढोरपाटन उपत्यका भने करिव २८ सय मिटरको उचाइमा पर्छ ।

पारिस्थितिक प्रणालीको संरक्षण गर्दै पर्या–पर्यटनको विकास गर्न सरकारले २०४४ सालमा आरक्ष घोषणा गरेपछि ढोरपाटनको प्रचार फैलिएको हो । वर्षेनी दर्जनौं विदेशी सिकारीहरु आरक्षमा सिकारको लागि आउने गर्छन् । आरक्षभित्र तोकिएका वन्यजन्तुको सिकार आरक्ष गरेबापत सिकारीहरुले लाखौं रुपैयाँ राजश्व राज्यलाई बुझाउने गरेका छन् ।

????????????????????????????????????

प्रतिक्रिया दिनुहोस्