२९ बैशाख २०८१, शनिबार

 

पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तर्गत होटल व्यवसायीहरुका लागि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

होटल व्यवसायी संघ गण्डकी र म्याग्दीले नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा २ दिन सम्म सञ्चालन गर्ने तालिममा म्याग्दी, पर्वत र बागलुङका ६० जना होटल व्यवसायीहरु सहभागि छन् ।

खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबिचको सम्बन्ध व्यवसायको प्रचारप्रसार, प्रर्वद्धन, स्थानीय उत्पादनको व्यवसायीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरेको होटल व्यवसायी गण्डकीका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेशको कालीगण्डकी, मध्य पहाडी, मस्याङ्दी कोरिडोर र व्यवसायिक हवमा केन्द्रित भएर ४ ठाउँमा होटल व्यवसायीको क्षमता विकास गर्ने उद्देश्यले यसअघि चैत महिनामा नवलपुरको गैडाकोटमा तालिम सञ्चालन गरिएको थियो,” उहाँले भन्नुभयो “अर्को चरणमा तनहुँ र मनाङमा तालिम सञ्चालन गर्दैछौ ।”

होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, सेवालाई गुणस्तरीय बनाउने, व्यवसायीहरुको समस्यामा सहयोग गर्न तालिम सञ्चालन गरिएको संघका महासचिव देवेन्द्र लम्सालले बताउनुभयो ।

तालिमको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पर्यटन विकासका लागि होटल व्यवसायको गुणस्तरीय सेवाको धेरै महत्व रहने बताउनुभयो । लगानी मात्र नभएर पर्यटकमैत्री र गुणस्तरीय सेवाको आवश्यक रहेको नगर प्रमुख केसीले बताउनुभयो ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठले सरकारको नीति अनुसार पर्यटकीय पूर्वाधारसँगै मानव संसाधन विकास र प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले कालीगण्डकी कोरिडोर सडक स्तरोन्नति र कोरला नाका सञ्चालनको तयारीसँगै होटलमा लगानी थपिन थालेको बताउदै व्यवसाय प्रर्वद्धनमा जोड दिनुभयो ।

होटल व्यवसायी संघ म्याग्दीका कार्यवाहक अध्यक्ष ललिन्द्र थापामगरले गुणस्तरीय पर्यटन विकासबाट रोजगारी सिर्जनाको सम्भावना रहेको बताउनुभयो ।

तालिमको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सीपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योती आचार्य, पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्