कास्की । मर्स्याङ्दी करिडोर अन्तर्गत गोर्खा र तनहुँका होटल व्यवसायीलाई दमौलीमा तालिम दिन सुरु गरिएको छ ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तनहुँमा आईतबारदेखि दुई दिने आवासीय तालिम सुरु भएको हो ।
सोमबारसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख ईन्दीरा दराईले व्यवसायीहरुलाई आफ्नो व्यवसायीक मर्यादामा रहेर व्यवसाय गर्न सुझाव दिदै होटलमा आउने पाहुनालाई गुणस्तरिय सेवा सुविधा उपलब्ध गराउन आग्रह गर्नु भयो ।
कानुन जानेको छैन भनेर गैर कानुनी कृयाकलाप नगर्न समेत उहाँले सुझाव दिनु भयो । तालिममा सिकेका कुराहरु आफ्नो व्यवहारमा लागु गर्न उपप्रमुख दराईले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहोराले विद्यालय पोशाकमा कुनै पनि होटलमा रूम नदिन सुझाव दिदै उमेर पुगेकाहरु होटलमा बस्दा परिचय खुल्ने परिचय पत्रको कार्डको रेकर्ड राख्न आग्रह गर्नु भयो ।
होटलमा देह व्यापार नगर्न, दर्ता विना होटल संचालन नगर्न कानुनले बन्देज गरेका विषयमा सर्तक हुन एसपी बोहराले चेतावनी दिनु भयो । शब्द चयन गर्दा विशेष ध्यान दिन पर्यटन व्यवसायीलाई आग्रह गर्दै उहाँले आतिथ्यताको नाममा समाजमा विकृति र विसङगति फैलाउन नहुनेमा जोड दिनु भयो ।

निर्देशिकाको आधारमा खाजा घरदेखि होटल संचालन गर्न सचेत हुन आग्रह गर्दै एसपी बोहोराले कानुनमा कसैलाई क्षमा नहुने जनाउनु भयो ।
महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले पर्यटन क्षेत्रमा लगानीसँगै ज्ञान, सीप, क्षमता आवश्यक पर्ने बताउनु भयो । सुरक्षा पालना गर्नु व्यवसायीको कर्तव्य भएको बताउदै उहाँले गुणस्तरीय खानामा ध्यान दिन, बाल बालिकालाई श्रममा नलगाउनु चेतावनी दिनु भयो ।
महासंघ गण्डकीका बरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईले पर्यटन मैत्री र खाद्य स्वच्छताको बारेमा उक्त तालिम आयोजना गरिएको बताउनु भयो । गोर्खा र तनहुँका होटल व्यवसायीको तालिम पश्चात केही समयपछि लमजुङ र मनाङको लागि उक्त तालिम हुने भएको हो ।
उक्त तालिममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । मर्स्याङ्दी करिडोरमा गरिने तालिमले सेवा सुविधामा र आतिथ्यतामा सुधार गर्न मद्वत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
गोर्खा र तनहुँ जिल्ला आसपासका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ६० जनाको सहभागिता भएकोे महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताउनु भयो ।
गण्डकी प्रदेशभरीका होटल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुको छाता संगठनको रुपमा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरि सेवा व्यवसायलाई गुणस्तरीय बनाउने, व्यवसायीहरुका समस्यामा सहयोग गर्ने, गण्डकी प्रदेशका सबै पर्यटकीय गन्तव्य र आसपासका व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने साथै नेपाल सरकार, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र स्थानीय तहहरुले अवलम्बन गरेका पर्यटनका कार्यक्रमहरुसँग साझेदारी गर्दै रचनात्मक भूमिका खेल्ने मुख्य उद्देश्य राखिएको उहाँले बताउनु भयो ।
उत्तरमा मनाङको तिलिचो तालदेखि दक्षिणमा गोर्खा, तनहुँ र चितवनको संगमस्थल मुग्लिनसम्म लम्बिएको मर्स्याङ्दी नदी आसपासमा करिब ८ हजार होटल तथा रेष्टुरेण्टहरु सञ्चालनमा रहेको अध्यक्ष चोखालले जनाउनु भयो।
यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजबुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी यो कार्यक्रमको आयोजना गरिएको महासंघका महासचिव देवेन्द्र लम्सालले बताउनु भयो ।
सहभागिहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका विषयहरुमा तालिम प्रदान गरिने भएको हो ।
तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अधिकृत ज्योति आचार्य लगायतका रहनु भएको छ ।

गोर्खाक्लिकबाट













































































































































































































