३ जेष्ठ २०८१, बिहीबार

 

विस्थापित मनकुमारीको घर बनाउन जापानमा जुट्यो ५ लाख

- बागलुङमा डेढ दर्जन संस्था/व्यक्तिले दिए नगद ४० हजार र सामग्री

पहिरोले घर भत्किएर विस्थापित बृद्ध एकल महिलाका लागि जापानमा रहेका प्रवासी नेपालीले फेसवुकबाटै ५ लाख भन्दा बढी सहयोग जुटाएका छन् । उनीबारेका समाचार सञ्चार माध्यममा आएपछि सहयोग जुटाउने अभियान सुरु भएको थियो । नयाँविश्व डटकमले ‘पती वियोग सहेकी मनकुमारीलाई प्रकृतीले पनि दया गरेन’ शिर्षकमा समाचार प्रकाश गरेको थियो ।

गलकोट नगरपालिका–७ मल्म आँगाखेतकी ६३ बर्षीय मनकुमारी चोखालको लागि जापानमा रहेका प्रवासी गलकोटेको अगुवाईमा यो रकम जुटेको हो । चोखालको पुनस्र्थापनाका लागि ‘मनकुमारी चाखाललाई सहयोग गरौँ’ नाम दिएर फेसवुक साथीहरुको समुह (फेसबुक ग्रुप) बनाईएको थियो ।

फेसवुकमार्फत सुरु भएको अभियानमा अहिलेसम्म १ सय दश जनाले सहयोग गरेका अभियन्ता तेजबहादुर थापाले बताए । बिस्थापितको सहयोगको लागि जापानमा रहेका प्रवासी नेपालीले कम्तीमा १ हजार देखि १० हजार रुपैयाँसम्म सहयाग गरेका छन् । यसरी नगद जम्मा गर्ने धेरै गलकोट र बागलुङका भएपनि अरु नेपालीले समेत सहयोग गरेका गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिए ।

असार १४ गते राती परेको बर्षले घर भत्किएपछि उनी छिमेकीको आश्रयमा पुगेकी छन् । उनका श्रीमानको ९ बर्ष अघि नै मृत्यु भएको थियो । चाखालका सन्तती समेत कोहि छैनन् । आफ्नो जग्गा समेत नभएकाले २०५६ सालमा सुकुम्बासी आयोगमार्फत प्राप्त जग्गामा जस्ताले छाएको सानो घर बनाएर बस्दै आएकी थिईन् ।

त्यहि जग्गा समेत पुरै पहिरोको जोखिममा परेपछि त्यहीँ घर बनाएर बस्ने अस्था समेत छैन । पति वियोग सहेर एक्लै बाँदै आएकी उनलाई प्रकृतिले समेत विपत्ति निम्त्याईदिएपछि बुढ्यौलीमा झन् साहरा विहिन बनेकी छन् ।

‘यसरी जुटेको रकमबाट उहाँका लागि स्थायी वास बनाईदिने हाम्रो योजना छ’, अभियन्ता तेजबहदुर थापाले भने,‘स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर उपयुक्त सार्वजनिक स्थानमा जग्गा व्यवस्था गरेर वा कुनै दाताबाट जग्गा लिएर घर बनाईदिने सोचेका छौँ ।’

उनको कोहि नभएकाले यसरी बन्ने घर पछि साहराविहिन नागरिकका लागि बासस्थानको रुपमा उपयोग गर्ने गरि बनाईने सहयोग अभियानमा सहभागी कालिका थापाले बताईन् । ‘समाजमा कुनै कारणले अरुलाई पनि यस्तो समस्या आउन सक्छ, त्यस्तो बेला प्रयोगमा ल्याउने गरि घर बनाउनुपर्छ भन्ने कुरा आएको छ’, उनले थपिन, ‘सहयोग जुट्ने क्रम अहिलेपनि चलिरहेको छ, कति रकम उठ्छ त्यस आधारमा काम अघि बढ्छ ।’

बागलुङमा पनि ४० हजार उठ्यो
उनको सहयोगको लागि जिल्ला प्रशासन कार्यालय बागलुङले १० हजार रुपैयाँ राहत रकम दिएको छ । अन्य विभिन्न संघ संस्था र व्यक्तिबाट ४० हजार रुपैयाँ भन्दा बढी नगद जुटाएका जुटेको छ । जिल्लामा पनि स्थानीय सरोकारवाला संघसंस्थाले उनको राहतको लागि अभियान थालेका थिए ।

बागलुङमा डेढ दर्जन बढी संस्था र व्यक्तिले न्युनतम ५ सयदेखि १० हजार रुपैयाँसम्म सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसायीटी बागलु शाखाले सहयोग सामग्री प्रदान गरिसकेको छ । रोटरी क्लव अफ बागलुङले यस अघि नै १० हजार रुपैयाँ सहयोग गरेको थियो ।

जिल्लामा जुटेको सहयोग रकम जनप्रतिनिधिसँग समन्वय गरि तत्काल उनी समक्ष पु¥याईने बागलुङ सहयोग अभियानका अभियन्ता/नयाँविश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्