३ जेष्ठ २०८१, बिहीबार

 

गौरिकाको लक्ष्यः सागमा स्वर्ण

११ वर्षको उमेर, पौडी खेल्न थालेको २ वर्षमात्रै भएको थियो । स्कुलको छुट्टी मनाउन नेपालमा आएका बेला परिवारको आग्रह र अग्रसरतामा नेपालमा जारी राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिने अवसर उनले पाइन् ।

तीन वर्षअघि सातादोवाटो स्थित पौडीपोखरीमा पहिलो प्रवेशमै २ सय मिटर फ्रीस्टाइलको दूरी पूरा गरेपछि पानीबाट बाहिर निस्किेलगत्तै पहिलो राष्ट्रिय कीर्तिमान बनाएको सुनिन्, ‘पुलबाट बाहिर निस्कनै लाग्दा कालो चस्मा र टाउकोमा हृयाट लगाएको एकजना मान्छेले भन्नुभयो, ‘बहिनी तिम्रो नेशनल रेकर्ड भयो ।’ गाैरिकाले हास्दै भनिन् ।

तीन वर्षअघि त्यसरी सुरु भएको गौरिका सिंहको खेलजीवनले निक्कै ठूलो फड्को मारिसकेको छ । राष्ट्रिय पौडीमा कीर्तिमानको कीर्तिमानदेखि दक्षिण एशियाली खेलकुदमा पदक तथा रियो ओलम्पिकमा ११ हजार सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीको रुपमा चर्चा ।

एक साताअघि काठमाडाैंमा सम्पन्न राष्ट्रिय पाैडी प्रतियोगितामा नेपाल अार्मी क्लवको तर्फबाट खेलेकी गाैरीकाले सहभागी ६ स्पर्धामध्ये पाँचमा राष्ट्रिय कीर्तिमान कायम गरीन् । उनको सहभागितालार्इ लिएर केहि विवाद भएको थियो । खेलकुदमन्त्री राजेन्द्रकुमार केसीकाे पहलमा उनले प्रतियोगितामा सहभागी भइन् र फेरि अाफूलार्इ प्रमाणित गरिन् ।

त्यतिमात्र होइन गौरिका अहिले नेपाली खेलकुदकै प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । उनीसँगै जुडोकी फूपूहृलामु खत्री, फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र एथ्लेटिक्सकी कान्छीमाया कोजु यस बिधाको मनोनयमा छन् ।

नेपालमा उनले मात्र तीन राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सन् २०१३ मा भएको राष्ट्रिय पौडीमा पहिलोपटक सहभागिता जनाउँदैमा सहभागी सातमध्ये ६ इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरी तहल्का मच्चाएकी गौरिकाले अर्को वर्षको प्रतियोगिता भूकम्पका कारण रद्ध हुँदा सहभागिता जनाउन पाइनन् । सन् २०१५ मा राष्ट्रिय पौडीमा उनले थप तीन राष्ट्रिय कीर्तिमान बनाइन् । त्यसपछि सन् २०१६ को फेब्रुअरीमा दक्षिण एशियाली खेलकुदमा चार पदक नेपाली पौडीकै लागि ऐतिहासिक क्षण थियो ।

गौरिकाले प्रतियोगितामा फरक फरक चार इभेण्टमा तीन काश्य र एक रजत जितिन् । नेपाली पौडीले पाएको सबैभन्दा ठूलो उपलब्धी थियो त्यो । त्यसअघि नेपाली खेलाडीले एकल स्पर्धामा पदक जित्न सकेका थिएनन् ।

गौरिका भन्छिन्, ‘निक्कै खुसी लागेको थियो, तर मेरो कोच सँगै हुनुभएको भए मैले चारमध्ये कम्तिमा २ इभेन्टमा गोल्ड जित्न सक्थेँ ।, कोच नहुँदा अभ्यासमा गरेको टाइमिङ पनि पूरा गर्न सकिनँ ।’

दक्षिणपूर्वी लण्डनमा अवस्थित कोप्टहल स्वीमिङ क्लवमा ५ वर्षयता प्रशिक्षणरत गौरिकालाई हि्रस ग्रोमली र क्रिष्टिन ग्रीनले प्रशिक्षण दिन्छन् । सिंह परिवारले ओलम्पिक र साग दुवैमा आफ्नै खर्चमा प्रशिक्षक ल्याउने पहल गर्दा पनि सफल हुन सकेनन् ।

३ वर्षको अवधीमा उनले पौडीमा एकलतर्फ १० बिधामा र सामुहिकतर्फ ३ बिधामा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । समग्रमा उनले ३२ पटक राष्ट्रिय कीर्तिमान तोडिसकेकी छन् । ११ देखि १४ वर्षको उमेरमा लगभग सबै कीर्तिमान आफ्नो नाममा लेखाएकी गौरिका भावी खेलाडीका लागि रोलमोडल बन्दैछिन् । तर, यति सानो उमेरमा उनको यो सफलताले नेपाली पौडीको अवस्था पनि झल्काउँछ ।

अबको एकमात्र लक्ष्य सागमा स्वर्ण

निर्धारण गरिएकै समयमा भयो भने १३औं दक्षिण एशियाली खेलकुद सन् २०१९ को मार्च ९ देखि १९ सम्म काठमाडौंमै हुनेछ । गौरिकाको अवको एकमात्र लक्ष्य पनि घरमै भएको सागमा स्वर्ण जितेर अर्को कीर्तिमान बनाउनु हो ।

प्रतियोगिताका लागि नेपाल आउँदा काठमाडौंमा भेटिएकी १४ वर्षीया जलपरी भन्छिन्, ‘मेरो अहिलेको लक्ष्य भनेकै सागमा गोल्ड जित्नु हो, त्यसपछिको सोचेकी छैन ।’

त्यसोत अघिल्लो सागमै पूरा हुनुपर्ने थियो, स्वर्ण जित्ने सपना । ‘अघिल्लो सागमा मैले कोच पाइनँ, त्यसमा पनि एक साताअघि मात्रै प्रतियोगितामा खेल्नु टुंगो लागेको थियो ।’ त्यतिबेला उनी उमेरले पनि सानै थिइन् ।

अभ्यासका क्रममा उनले निकालेको टाइमिङबाट पनि सागमा स्वर्ण जित्न सकिने पक्का छ । छोरीको खेलमा प्रत्यक्ष निगरानी गरिरहेकी आमा गरिमा राणा भन्छिन्, ‘उसले प्राक्टिसमै जस्तो टाइमिङ निकाल्यो भने पनि सागमा ३ देखि चारवटासम्म स्वर्ण नेपालले जित्छ, तर त्यसका लागि हाम्रो माग यो छ कि उसको प्रशिक्षक उसँगै हुनुपर्छ ।’

‘बिदेशी’को ट्याग

केहि समयअघि नेपाल पौडी संघले गौरिकालाई प्रतियोगितामा समावेश गर्न आनाकानी गरिरहेको र दुःख दिइरहेको समाचार सार्वजनिक भयो । उनका पिता पारस सिंहले यसबारेमा मुखै खोलेका थिए कि हामीमाथि राजनीति सुरु भयो ।

राष्ट्रिय प्रतियोगितामा सहभागी नभई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने बाध्यकारी नियम अनुसार बेलायतमा बसोबास गर्दै आएकी गौरिकाले वर्षमा कम्तिमा एउटा राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आउनैपर्छ । तर, पौडी संघले आफ्ना स्टार र प्रतिभावान खेलाडीलाई सहयोग गर्नुभन्दा असहयोगको रणनीति बनाएको आरोप लागेको थियो ।

उनीमाथि लाग्ने आरोप यो हो कि बेलायत मै खेल्न पाउने गौरिका आखिर नेपालबाट किन खेल्न खोज्दैछिन् ? तर, नेपाली पासपोर्ट बोक्ने गौरिका भन्छिन्, ‘मेरा मम्मीबाबा नेपाली हो, त्यसैले म नेपाली हुँ । उहाँहरु जहाँ हुनुहुन्छ म त्यहीँ रहने हो, बेलायत बस्दैमा मलाई नेपाली होइन भन्न पाइन्छ ?’

‘नेपालप्रति मलाई गर्व छ, म नेपालको जर्सीमा खेल्नुमा अपनत्व महशुस गर्छु ।’

गौरिकाको भनाईलाई थप पुष्टि गर्दै बुबा पारस भन्छन्, ‘एनआरएन भएपछि मैले नेपाली नागरिकता त्यागेको छैन, नेपाली नागरिक हुनुका नाताले मेरो बच्चालाई नेपालबाट खेलाउनु मेरो अधिकार हो, भोलि १८ वर्ष पुगेपछि उसै(छोरी)को इच्छाको कुरा हो ।’

बिदेशमा बसेकै कारण प्रतियोगिता खेल्न बञ्चित गरिन्नः पौडी संघ

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पनि गौरिका लगायत बिदेशमा रहेका नेपालीले नेपाल पौडी संघको नियममा रहेर खेल्दा छेकबार नहुने प्रष्ट पारे । उनले भने, ‘खेलकुद परिषद अन्तर्गतको नियम र अन्तर्राष्ट्रिय पौडी फेडेरेसनको प्रक्रिया पूरा गरेका सबै नेपाली खेलाडी ले राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन्, चाहे उनीहरु बिदेशमै बसुन् ।’

अध्यक्ष बज्राचार्यले नेपाल पौडी संघमा परिवारबाद हावी भएको र संघका पदाधिकारीका छोराछोरीका लागि मात्र प्रतियोगिता आयोजना गर्ने तथा बिदेशी छात्रबृति पार्ने गरेको आरोपको भने खण्डन गरे ।

‘खेलाडीको प्रतिभा हेरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने हो, फिनाले पनि हामीलाई हेरिरहेको हुन्छ, राम्रो खेलाडीलाई रोकेर कमसल खेलाडी पठाउँदा हाम्रो स्तरमा पनि प्रश्न उठ्न सक्छ ।’ उनले भने ।

साभार : अनलाईन खबर

प्रतिक्रिया दिनुहोस्