
नजिकिदै गरेको माघेसक्रान्ती पर्वको अवसरमा गुल्मीको रिडिमा हुने माघि मेलालाई लक्षित गर्दै बागलुङको निसी, भल्कोट, रुकुमको टकसेरा, रुकुमकोट, रुम, मैकोट लगाएतका स्थानहरुबाट व्यापारीहरुले स्थानीय स्तरमा उत्पादन भएका काम्ला, राडीपाखी, लगाएतका सामाग्री लिएर बुर्तिबाङ बजार हुँदै रिडीतर्फ निर्यात गर्न जान सुरु गरेका छन् ।
विगत लामो समयदेखि त्यस क्षेत्रका व्याक्तिहरुले आफुले गाउँमै पाल्दै आएका भेडा, चेलु च्याङग्राको उन संकलन गरी बनाईएका राडीपाखी, काम्ला लगाएत सामाग्री तथा ग्रामिण क्षेत्रमा बनाईएको ओखरको घाँजि लिएर व्यापारका लागि आफुहरु हिँड्ने गरेको रुकुमको तकसेराका व्यापारी कालु घर्ती मगरले बताए ।
उनीहरुले वर्षभरी लगाएर प्रतिघर १२ देखि १५ थान राडिपाखि र काम्ला तयार गर्ने गर्दछन् । उनिहरु पौषको १५ पछि पैदलमार्ग हुँदै घरका दुई तीन जना सदस्य लिएर दुई दर्जन बढिको समुहमा आफुले उत्पादन गरेका सामाग्री गुल्मीको रिडी बजारमा हुने माघेसक्रान्ती मेलामा पुग्ने गरेका हुन् । स्थानीय भेडाच्याङबाट बनाईएका सामाग्री भएका कारण चिसो मौसममा धेरैको रोजाईमा काम्ला र राडिपाखि पर्ने गरेकाकारण पनी रिडिमेलामा सबै विक्रीगरेर फर्कने गरेको उनिहरु बताउनछन् ।
प्रति काम्ला २ हजार ५ सयदेखि ३ हजार रुपैयासम्ममा विक्री गर्ने गरेका छन् । राडिपाखिलाई १ हजार ५ सयदेखि दुई हजार ५ सयसम्म विक्री हुने गरेको अर्का व्यापारी रमिमला घर्ती मगरले बताईन । उनिहरुमध्ये कतिपयले आफुले नै ति सामाग्री तयार पार्ने गरेको र कतिपयले गाउँका अन्य व्याक्तिले तयार पारेका सामाग्री आफुहरुले खरिद गरेर विक्रीका लागि ल्याउने गरीएको कालु घर्तीको भनाई छ ।
चिसो मौसम भए पनि घरको जिविको पार्जनको माध्यमका रुपमा राडिपाखी काम्ला, ओखरको घाँजि भएका कारण ति सामानहरु लिएर आफुहरु हिंड्ने गरेको बताउँ छन । सवारीको प्रयोग नगरी पैदलै हिँडेर उनीहरु गाउँदेखि ८ देखि १० दिनसम्म लगाएर रिडि पुग्ने गर्दछन । रिडी मेलामा व्यापार पनि गर्ने उतैतिर माघे सक्रान्तीपर्व मनाउने गरिएको उनीहरुको भनाई छ ।