१९ असार २०८२, बिहीबार

 

बागलुङ कालिकाको अर्धवार्षिक आम्दानी ५७ लाख

जिल्लाको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरले पहिलो छ महिनामा ५७ लाख रुपैयाँ बढि आम्दानी गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को पहिलो छ महिनामा ५७ लाख ८९ हजार ३ सय ५० रुपैयाँ आम्दानी भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । ‘यस आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म यो रकम संकलन भएको छ,’ खड्काले भने, ‘भक्तजनहरुले चढाएको भेटी, परेवा, अक्षेता तथा पशुपंक्षिका मुढ विक्रीबाट उक्त रकम संकलन भएको हो ।’

यो आम्दानी रकम अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा १० लाख ८५ हजार रुपैयाँ अढि हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा ४७ लाख चार हजार दुई सय ९७ रुपैयाँ संकलन भएको थियो । गुठीले दिएको जानकारी अनुसार भेटी ३१ लाख ५१ हजार आठ सय ४५ रुपैयाँ, बोकाको आठ सय दुई मुढ विक्रीबाट पाँच लाख ९६ हजार एक सय ४३ रुपैयाँ, चार हजार तीन सय तीन जोडी परेवा विक्रीबाट १७ लाख २१ हजार दुई सय रुपैयाँ आम्दानी भएको छ ।

कुखुराको एक हजार ७१ मुढ विक्रीबाट ४६ हजार सात सय ८० रुपैयाँ, राँगोको ११ मुढ विक्रीबाट २१ हजार तीन सय ५० रुपैयाँ जम्मा भएको छ । एक सय पाँच पोका तेल विक्रीबाट पाँच हजार चार सय, चार सय ४२ पाथि चामल विक्रीबाट ८८ हजार चार सय, एक सय ८७ जनाबाट आर्थिक सहयोग ३२ हजार ६ सय ५२ रुपैयाँ, सिक्का ९१ हजार ६ सय ८० तथा अन्य आम्दानी ३३ हजार ९ सय रुपैयाँ जम्मा भएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

पौष महिनामा छ लाख ३० हजार नौ सय २८ रुपैयाँ संकलन भएको थियो । कालिका भगवती मन्दिरको आयस्था अमानतमा संकलन हुन थालेपछि आयमा उल्लेख्य वृद्धि हुँदै गएको गुठीका अध्यक्ष खड्काले बताए । ‘गुठी आफैले आयस्ता संकलन गरेर रेखदेख गर्न थालेपछि आम्दानीमा उल्लेख्य बृद्धि हुँदै गएको छ,’ उनले भने,‘मन्दिरमा हुने आयस्था हरेक दिन गणना गरी सोही दिन बैंकमा जम्मा गर्ने गरेका छौं । आवश्यक खर्चका लागि मालमोत कार्यालयको निगरानीमा रकम निकाशा हुने गरेको छ ।’

मन्दिरबाट संकलित रकम मन्दिरकै पूर्वाधार विकासका लागि खर्चिने गरेका उनले सुनाए । ‘यहाँबाट संकलन भएको रकम यहीको विकासका लागि लगाउँछौं,’ खड्काले भने,‘विभीन्न व्यक्ति समुदाय र क्षेत्रबाट हुने सहयोगमा संकलित रकम थपेर खर्च गर्ने गरेको छौं ।’

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung