
करदाता सेवा कार्यालय बागलुङले कर संकलनमा सक्रियता देखाएसंगै राजश्वमा बृद्धि भएको छ । कार्यालयले चालु आर्थिक बर्ष ०७४÷७५ को पौष मसान्त सम्म २९ प्रतिशतले बढि राजश्व संकलन गरेको बताएको छ । पौष मसान्त सम्म विभिन्न शिर्षकमा १३ करोड ३४ लाख ८ हजार १ सय ५४ रुपैँया संकलन गरेको हो । १० करोड ३५ लाख ९१ हजार रुपैँया राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा उक्त रकम संकलन गरिएको कार्यालयका प्रमुख कर अधिकृत सुर्य चापागाईले बताए ।
पौष मसान्त सम्म आयकर ६ करोड ८९ लाख ८६ हजार ३ सय ५७ रुपैँया, बहाल कर ६१ लाख ८३ हजार १ सय ९७, ब्याज कर १ करोड २९ लाख ८७ हजार ६ सय ३ रुपैँया संकलन भएको छ । यस्तै आन्तरिक मुल्य अधिकृत कर ३ करोड ९७ लाख ८४ हजार १ सय ३६, अन्त शुल्क कर ३४ लाख ८३ हजार ५ सय रुपैँया, स्वास्थ्य सेवा कर ५ लाख ३७ हजार ४ सय ५२, शिक्षा सेवा शुल्क १४ लाख ४० हजार ९ सय ७ रुपैँया संकलन भएको बताइएको छ । गत आर्थिक बर्ष ०७३÷७४ को पौष मसान्त सम्म ७ करोड ९८ लाख ४९ हजार ९ सय ८३ रुपैँया राजश्व संकलन भएको थियो । गत बर्षको तुलनामा यस बर्ष ६८ प्रतिशतले बढि राजश्व संकलन भएको बताइएको छ । बागलुङमा अहिले मुल्य अभिबृद्धि कर बुझाउने ६ सय २९ वटा, शिक्षा सेवा शुल्क तिर्ने ४० वटा, मदिरा तथा सुर्तिजन्य पदार्थको इजाजत लिएका पसलहरु ५ सय ४६ वटा सक्रिय रहेका छन् । यस्तै ५ हजार ५ सय १७ वटा विभिन्न व्यवसाय सक्रिय रहेको र २ सय ३५ वटा बन्द भएको एवं ३१ वटा क्लिनिकहरु दर्ता भएको बताइएको छ । ३ हजार ७ सय ६७ जनाले व्यक्तिगत प्यान नम्बर लिएको कार्यालयले जानकारी गराएको छ ।
कार्यालयका प्रमुख चापागाईले स्थानीय तह पुनःसंरचना पछि क्षेत्रफल विस्तार भएकाले कर बुझाउने सेवाग्राही पनि थप भएको भन्दै जनप्रतिनिधीहरुले पनि यस तर्फ चासो दिएको बताए । उनले २०३३ सालबाट दर्ता भएर कर नबुझाएका संघ संस्था तथा व्यवसाय भेटिएकाले उनीहरु सबैलाई पत्राचार गरेपछि पनि राजश्वमा बृद्धि भएको बताए । गत बर्ष बागलुङमा अनुगमन गर्दा विभिन्न किसिमका २ सय वटा पसलहरु बिना दर्ता सञ्चालन गरेको भेटिएको जानकारी दिए ।
व्यवसायीले दुइ लाख पचास हजार सम्मको आम्दानीमा एक प्रतिशत, तीन लाख पचास हजार रुपैया सम्मको आम्दानीमा १५ प्रतिशत र चार लाख बढी आम्दानीमा २५ प्रतिशत कर तिर्नुपर्छ । नगरपालिकाले संचालन गर्ने एकीकृत सम्पत्ति कर संकलन र प्रावधानका बारेमा पनि कार्यालयले सहजीकरण गर्दै आएको बताइन्छ ।