२६ असार २०८२, बिहीबार

 

पर्वतमा ‘ब्लु एञ्जल’ रिसोर्ट

अत्याधुनिक सेवा सुविधा सहित पर्वतको कुश्मा ‘ब्लु एञ्जल’ रिसोर्ट सञ्चालनमा आएको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका युवाहरुले कुश्मा नगरपालिका–४ छमर्केमा स्वीमिङ पुल सहितको रिसोर्ट निर्माण गरेका हुन् । करिब ३ करोडको लगानीमा उक्त रिसोर्ट संचालनमा आएको संचालकले बताएका छन् । रिसोर्ट सञ्चालनका लागि करीब १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सञ्चालनमा गरिएको छ ।

७ फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ । पोखरा–बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थ यात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिए । मुक्तिनाथ पुग्ने विदेशी तथा स्वदेशी धर्मावलम्वीका लागि पर्वत ट्राञ्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताए ।

गर्मीयामका लागि रिसोर्टबाट करिब ४ सय मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ, भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्मा बताए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरि रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिए । धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको रिसोर्ट यो नै पहिलो हो । रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन् ।

यी तीनै जना युवा विगत केही वर्ष अघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरिया लगायतका स्थानमा बसेर फर्केका हुन् । पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला तीन ओटा झोलुङगे पुल, बञ्जिजम्प लगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई नयाँपन दिने सबै सुविधा सहित रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक विष्णुराज पुरीले बताए । रिसोर्ट सञ्चालन भएसँगै पर्वतको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung