३ जेष्ठ २०८१, बिहीबार

 

सुपरजोनका कृषक आधुनिक कृषितर्फ

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गरेका छन् । उनले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गरेका छन् ।

झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् ।

परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आैजार प्रयोग गर्न थालेका छन् ।

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गरेका छन् । उनले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गरेका छन् ।

‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भने, “पहिला धेरै खेताला लगाउनुपर्थ्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।” उनले आधुनिक कृषि प्रविधि र कृषि आैजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताए ।

सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उनले एउटा पावरट्रेलरसमेत खरिद गरेका छन् । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन अाेटै काम उक्त मेसिनबाट हुने उनले बताए ।

त्यस्तै, उनले जैविक मल उत्पादनसमेत गर्न थालेका छन् । गड्यौलाले मलको प्रयोग गरेर अर्ग्यानिक कृषिउपज उत्पादन गर्ने उनको योजना छ ।
त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गरेका छन् । उनले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएकाे बताए । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उनले भने, “कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ लागें” । कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आबद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताए ।

‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आवद्ध रहेको बताउँदै लामाले भने, “अहिले २०–२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।”

यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ । जसमध्ये दुई हजार हेक्टरमा सुपरजोनमा आवद्ध किसानले धानखेती गरेको सुपरजाने परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्