७ जेष्ठ २०८१, सोमबार

 

रक्सी पियर गाडी चलाउने ड्राइभर प्रहरी खोरमा

पर्वत । मादक पर्दाथ सेवन गरि सवारी साधन चलाउने चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतले मुद्धा दर्ता गरेको छ । ना ६ ख ७०३० को बसका चालक नुवाकोट बेल्कोट गाउँपालिका – ३ बस्ने ४१ बर्षिय दलबहादुर पन्तका बिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो ।
मादक पदार्थ सेवन गरी अनियन्त्रित तवरले सवारी चलाउँदा दुर्घटना हुन गएको भेटिएपछि पन्तलाई आइतबार पक्राउ गरि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उक्त बसको ढोकाबाट जलजला गाउपालिका वडा नं ४ लामाखेतमा खस्दा बाग्लुङ नगरपालिका वडा नं १० की २३ बर्षिया गीता परियार घाइते भएकी थिइन । कार्तिक २३ गते भएको घटनाको अनुसन्धानका क्रममा मापसे गरेर सवारी चलाएको भेटिएपछि काबार्ही गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच दशैं देखि तिहार सम्म प्रहरीले सवारी चेकजाँच गरि २ लाख २९ हजार रुपैंया राजस्व संकलन गरेको छ । असोज २४ गते देखि कार्तिक २४ गते सम्म एक महिनाको अवधीमा २ सय ८१ वटा सवारी साधनलाई काबार्ही गरि उक्त राजस्व संकलन गरेको हो ।

काबार्ही गरिएका सवारी साधन मध्ये मापसे गरेका ९ सवारी साधनलाई काबार्ही गरि ९ हजार, यात्रु संग बढी भाडा लिने ७ सवारी साधनबाट ८ हजार ५ सय, अन्य काबार्हीबाट २ सय २५ सवारी साधनलाई काबार्ही गरि १ लाख ७५ हजार ५ सय रुपैंया राजस्व संकलन भएको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्