७ जेष्ठ २०८१, सोमबार

 

होश्राङदीमा एक करोडको लिफ्ट खानेपानी योजना

पर्वत (महाशिला) | महाशिला गाउँपालिका १ होश्राङ्दीमा लिफ्ट खानेपानी सञ्चालनमा आएको छ । होश्राङ्दीको उपल्लो भेगका सिंगारकोस, गढी, जम्पुर र पैयुँकोट समेतका ८४ घरधुरीका लागि १ करोड ७७ लाख ८ हजारको लगानीमा निर्मित आयोजना सञ्चालनमा आएको हो ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र स्थानीयको साझेदारीमा २०७२ वैशाखदेखि निर्माणाधीन आयोजना सम्पन्न भएपछि पानीको कष्ट हटेको छ ।

निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ३ महिनाका दरले ४४ लाख २७ हजार बराबरको श्रमदान गरेका थिए । ‘पानीका लागि गाग्रो बोकेर २ घण्टा हिँडी कालेगैरा र माझपानी पुग्नुपथ्र्यो ,’ स्थानीय हुमाकान्त पौडेलले भने, ‘अहिले तिनै मूलबाट घरघरै पानी ल्याइयो । सपनाजस्तै लागेको छ ।’

आयोजनाको मुहानमा ४० हजार लिटरका दुईवटा संकलन ट्यांकी निर्माण गरिएको छ । तीट्यांकीमा जम्मा हुने पानी १५.५ किलोवाटको पम्पमार्फत तीन सय मिटरको ठाडो उचाइमा तानेर १९ किलोमिटर पाइपलाइन मार्फत घरघरै र्पुयाइएको छ । मुख्य पाइपलाइन ७ र शाखा लाइन १२ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्