७ जेष्ठ २०८१, सोमबार

 

भाडा वृद्धिको विरोधमा इन्टरनेट नै अवरुद्ध पार्ने इस्पानको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ओपीजीडब्लु फाईबर प्रयोग गरे वापतको भाडादरमा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्था इस्पानले सो भाडादर स्वीकार गर्न नसकिने जनाएको छ।

इन्टरनेट सेवा प्रदायक संघ ईस्पानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणले बढाएको भाडा दर तिर्न नसकिने जनाएको हो। इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले जानकारी र परामर्श विना नै प्राधिकरणले यसै आर्थिक वर्षदेखि लागु हुने गरी ओपीजीडब्ल फाईबर प्रयोग गरे वापतको भाडादरमा ५ सयदेखि ६ सय प्रतिशतसम्म वृद्धि गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए।

व्यवसायलाई नै धरापमा पार्ने गरी प्राधिकरणबाट भएको भाडा वृद्धि आफूहरुलाई मान्य नहुने भन्दै उनले निर्णय खाजेर गर्न माग गरे। इन्टरनेट सेवा प्रदायकहरुले हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानै भाडादरलाई आधार मानी दिईरहेको भन्दै उनले प्राधिकरणको भाडावृद्धिले सिंगो व्यवसायमा अन्यौल छाएको बताए।

उनले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायको प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति बनाई सोही समितिको सुझावका आधारमा भाडादर निर्धारण गर्न पनि माग गरे।
अध्यक्ष भट्टले सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको जिम्मेवार नेपाल विद्युत् प्राधिकरण हुने बताए।

प्रतिक्रिया दिनुहोस्