२ जेष्ठ २०८१, बुधबार

 

घण्टौँ हिँडेर दूध बेच्न बजार

बागलुङ, 
उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ, ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै शुरु हुने गरेको छ । उमेर ढल्केपनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ ।

दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि बजार आउँछ । ‘बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो’ सापकोटाले भन्नुभयो, ‘दूध, तरकारी गरेर मासिक रु. ५० हजार जति कमाइ हुन्छ ।’

सापकोटाको घरमा तीन वटा भैँसी छन् भने चार रोपनी जग्गामा तरकारी खेती छ । ‘दैनिक दश लिटर दूध बेच्छु,’ उहाँले भन्नुभयो, ‘दूधसँगै तरकारी पनि बेच्छु ।’ बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठा–कोठामा उहाँ दूध पु¥याउनुहुन्छ । इच्छा हुनेले तरकारी पनि उहाँसँगै किन्छन् ।

बजारमा उहाँसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महिनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा उहाँ घरमै पुग्नुहुन्छ । दिनभर भैँसी र तरकारी बालीको रेखदेख र स्याहारमै बित्छ ।

उहाँले साधारण खेती किसानी बाउबाजेबाटै सिक्नुभएको हो । दूध बेच्दा कमाइ हुन थालेपनि भैँसीपालनलाई व्यावसायिक बनाएको उहाँको भनाइ छ । ‘तीन÷चार वटा भन्दा धेरै भैँसी बढाएको छैन,’ सापकोटाले भन्नुभयो, ‘मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै भइरहेको छ ।

गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँ लगाएतका तरकारी उब्जाउ हुँदै उहाँको भनाइ छ । टनेल बनाउन केही वर्षअघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले अनुदान समेत उपलब्ध गराएको थियो । केही समय काममा सघाउन एकजना मजदुर राखेपनि अहिले सापकोटा आफैले सबै काम धान्दै आउनुभएको छ ।

‘श्रीमति र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफै खटिन्छु’ सापकोटाले भन्नुभयो, ‘७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।’ बुढ्यौलीमा पनि कृषि पेशाप्रति उहाँको लगाव देखेर अरु गाउँलेपनि प्रेरित छन् । स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि कर्म गर्ने सापकोटाको अठोट छ ।

व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उहाँ कृषिमा टिक्न सफल हुनुभएको हो । ‘सँधै हँसिलो, फूर्तिलो देखिनुहुन्छ, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ,’ बागलुङ बजारकी कुमारी पौडेलले भन्नुभयो, ‘उहाँले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा ल्याउनुहुन्छ ।’

श्रीमति दलदेवी, कान्छा छोरा प्रेम, बुहारी र नातिनातिनासँगै बस्दै आउनुभएका सापकोटाका जेठा छोरा रामकृष्ण र कान्छा छोरा प्रेम ‘पलम्बर’ हुन् । माइला छोरा लक्ष्मण जापानमा हुनहुन्छ । ‘मेहनत गर्न बुबाबाटै सिक्यौँ’ रामकृष्णले भन्नुभयो, ‘अहिलेपनि काममा उत्तिकै खटिनुहुन्छ, काममा एकमन दिनुहुन्छ ।’

सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी संघका शेयर सदस्य समेत हुनुहुन्छ । सहकारीमै दूध पठाउन चाहेपनि दूधको गाडी चल्ने सडक पायकमा नपरेपछि डोकोमै बोकेर बजार ल्याउनु परेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्