६ जेष्ठ २०८१, आईतवार

 

अक्सफोर्डका प्राध्यापक भन्छन्, ‘संस्कृत युरोपेली र भारतीय भाषालाई जोड्ने माध्यम हो’

संस्कृतलाई एशिया र युरोपमा बोलिने धेरै भाषाको मूल मानिन्छ।संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थहरूमा पूर्वीय सभ्यता र ज्ञानको भण्डार भएको स्वीकार्दै संसारका ठूला विश्वविद्यालयहरूले यसबारे अध्ययन तथा अनुसन्धान गरिरहेका छन्।

त्यस्तै अध्ययन, अध्यापन र अनुसन्धान हुने यूकेको युनिभर्सटी अफ अक्सफोर्डमा नेपालका दिवाकर आचार्य पूर्वीय धर्म र नीति पढाउँछन्।उनको रुचि भारतीय उपमहाद्वीपमा उत्पन्न धर्म र दार्शनिक विचार, नेपाल तथा दक्षिण एशियाको प्रारम्भिक इतिहास आदि विषयमा छ। प्रस्तुत छ उनको धारणा।

युरोपेली र भारतीय भाषा जोड्ने माध्यम

संस्कृत इन्डोयुरोपेली भाषा परिवारको पुरानो भाषा हो। योभन्दा पुरानो अर्को भाषाको केही अवशेष चाहिँ हिटाइट भाषामा छ जुन टर्कीतिर भेटिएको छ।अन्यथा साहित्यको हिसाबले ऋग्वेद नै सबैभन्दा पुरानो इन्डोयुरोपेली भाषाको प्रामाणिक ग्रन्थ हो। युरोपेली र भारतीय भाषाहरूलाई जोड्ने माध्यम संस्कृत हो।

ग्रीक, ल्याटिन पुरानो शास्त्रीय भाषा भए। तुलना गरेर हेर्दा ती संस्कृतसँग एकदमै नजिक छन्। तिनको व्याकरण पनि नजिक छ।कतिपय शब्दावली – जस्तै अङ्ग्रेजीमा मदर, संस्कृतमा मातर हुन्छ, जर्मनमा मुटर हुन्छ। ती माथि गएर एकै ठाउँमा जोडिन्छम्।जर्मन, ग्रीक, ल्याटिन र संस्कृत भाषाबीच समानता निकै धेरै छ, साझा शब्द धेरै छन्। जर्मन र फ्रेन्च ल्याटिनबाट आएका भए पनि सबै सेल्टिक भाषाहरू माथि गएर एउटै मूलमा जोडिन्छन्।

सबै भाषाको संस्कृतसँग नसा जोडिएको हुन्छ। कुनै प्रस्ट रूपमा देख्न सकिन्छ। सिस्टर (अङ्ग्रेजी) , स्वेष्टर (जर्मन), स्वश्री भनिन्छ संस्कृतमा।केही शब्दमा ठ्याक्क देख्न सकिने, अनुमान गर्न सकिने हुन्छ। त्योभन्दा पर परिवर्तित भएर गइसकेको हुन्छ।अन्यथा ‘लोनवर्ड’ (आगतन्तुक शब्द) बाहेक सबै इन्डो युरोपेलीभाषाहरू जोडिनु नै पर्छ।

संस्कृतको उत्पत्ति, प्रयोग र विस्तार

भारतीय उपमहाद्वीपमा संस्कृतलाई देवभाषा र वेदको भाषा मानिन्छ।त्यो त विश्वासको कुरा भयो। यसअघि भनेको चाहिँ इतिहासको कुरा हो।प्राचीन कालमा इन्डोयुरोपेलीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दै कोही पूर्व लागे त कोही पश्चिम लागे।समय र परिस्थितिअनुसार भाषा बदलिँदै गयो। संस्कृतबाट पाली, प्राकृत, दार्जिक भाषाहरू हुँदै नेपाली र हिन्दीसम्म आइपुग्यो।

संस्कृत किन खुम्चिन पुग्यो

एक ढङ्गबाट हेर्ने हो भने हामी अहिले जे बोलिरहेका छौँ त्यो पनि संस्कृत हो।चीनमा चलेको सबै भाषालाई उनीहरूले चिनियाँ भाषा भन्छन्। शास्त्रीय चिनियाँ होस् या आधुनिक चिनियाँ…।

देवघाटमा वेद पाठतस्वीर कपीराइटKESHAV P. KOIRALA/BBC

तर संस्कृतबाट विकास हुँदै गएका भाषालाई हामीले संस्कृत भनेनौँ।एक हिसाबले संस्कृत नेपाली, नेवारी, हिन्दी, मैथिली भाषामा जीवित छ। त्यसरी हेर्दा संस्कृत सर्वत्र छ।अहिले भने यो भाषा अध्ययन अध्यापनमा मात्रै सीमित भएको देखिन्छ। अर्कोतर्फ नेपालको हिसाबले हेर्ने हो भने धार्मिक चलन र कर्मकाण्डमा सीमित छ।

खासमा संस्कृत भाषा होइन। हामीकहाँ आधुनिक शिक्षा आउनुभन्दा अगाडि सबै ज्ञानपरम्परा त्यही भाषा अथवा त्यो भाषाबाट निस्केका पाली, प्राकृतजस्ता भाषामा लेखिएका थिए।तर संस्कृतको अध्ययन गर्ने भनेको खासमा यो ज्ञानपरम्पराको अध्ययन गर्ने हो।

व्यावहारिक प्रयोग र सीमितता

व्यवहारको भाषा भए नयाँ ज्ञानपरम्पराको सिर्जना हुनुपर्छ भन्ने तर्क उचित हो। तर म यो क्रम धेरै अगाडिदेखि टुटेको देख्छु।जस्तो तिब्बतीहरूलाई हेर्नूस्। उनीहरूले बौद्ध धर्मदर्शनको परम्परा मात्र होइन त्योभन्दा पर गएर काव्य, अलङ्कार, कामशास्त्र, आयुर्वेद सबैलाई जमानामा पहिलो सहश्राब्दीबाटै थालेर संस्कृतका सामग्री आफ्नो भाषामा अनुवाद गरेका छन्।

त्योभन्दा पहिले चिनियाँहरूले तिनै सामग्रीलाई आफ्नो भाषामा अनुवाद गरेका छन्। उनीहरूकहाँ त्यो ग्रहण गर्ने क्षमता देखिन्छ।हामीकहाँ यस्तो खालको ग्रहणक्षमता पाचौँ-छैटौँ शताब्दीबाटै बन्द भएको देखिन्छ।”हामी विश्वका गुरु हौँ, हामीले सिकाउनुपर्छ” भन्छौँ। हामी अरूबाट लिने, आफूलाई समृद्ध गर्ने, संस्कृतलाई अझ बढी ज्ञान भण्डारको रूपमा बढाउने जाने त्यो क्रम टुटेको छ।त्यसले गर्दा पनि संस्कृत सीमित र सङ्कुचित हुँदै गएको हो।

संस्कृत अझै खुम्चिएला कि फैलिएला

विस्तारै मानिसहरू २०६३ सालपछि बढी धार्मिक र संस्कृततिर लगाव राख्ने हुँदैछन्।त्यो एक किसिमले राम्रो पनि हो, एक किसिमले अलिकति समस्याकारी पनि हो। धर्मसंस्कृतिको हिसाबले गुरुकुलहरू प्रशस्त खुलेका छन्।तर ज्ञानपरम्परालाई आत्मसात् गर्ने, जीवनशैलीका लागि त्यसले कसरी योगदान गर्न सक्छ भन्नेतिर ध्यान राम्ररी पुगेको छैन कि।

NATIONAL ARCHIVESतस्वीर कपीराइटNATIONAL ARCHIVES
Image captionनेपालको राष्ट्रिय अभिलेखालयमा हजारौँ प्राचीन ग्रन्थ छन्

गुरुकुल मात्रै होइन नि, नेपालमा त संस्कृत विश्वविद्यालय नै छ।संस्कृत विश्वविद्यालयमा पहिले म केही किसिमले संलग्न पनि थिएँ।अहिले देख्दा त संस्कृत विश्वविद्यालयको अध्ययन अनुसन्धानको प्रवृत्तिमै ह्रास भएको देख्छु।

युरोपका विश्वविद्यालयमा संस्कृत

विश्वविद्यालय भनेपछि त्यहाँ विश्वका सबै किसिमका ज्ञानका विधाहरूको पढाइ हुनुपर्छ भन्ने भावना हो र त्यसलाई पाश्चात्य देशमा विश्वविद्यालयहरूले कार्यान्वयन गरेका छन्।हामीकहाँ भएको साधनस्रोत र मानवस्रोत जसरी पश्चिमले लगिरहेको छ, त्यसरी नै उनीहरू यहाँ अध्ययन, अनुसन्धान गरेर त्यसबाट केही राम्रो कुरा निस्क्यो भने उनीहरूले त्यसलाई विश्वव्यापीकरण गर्न पाउँछन्।

अझ त्यसभन्दा बढी व्यापारीकरण गर्न पाउँछन्। अब ती सबै कुरा पृष्ठभूमिमा छन्।संसारभरिका विभिन्न ज्ञानका विधाहरू र विभिन्न दृष्टिकोणबाट ती सबै कुराको अध्ययन गर्नुपर्छ भन्ने भावना उनीहरूमा छ।

नेपालमा संस्कृतका प्राचीन ग्रन्थ

नेपालमा हजारौँ ग्रन्थ अझै पनि ग्रन्थालय र अभिलेखालयहरूमा छन्। ग्रन्थ सम्पत्तिको हिसाबले पश्चिमको तुलनामा हामी धेरै धनी छौँ।हाम्रो राष्ट्रिय अभिलेखालयमा लगभग ३६ हजार संस्कृतका ग्रन्थहरू छन्।प्रतिलिपिबाहेक चारपाँच हजार मौलिक पाण्डुलिपि छन्।

तीमध्ये कतिपय ग्रन्थमा कसैले खोजी नगरेको वा पत्ता नै नलगाएका सामग्री छन्।नेपाल-जर्मन म्यानुस्क्रिप्ट प्रिजर्भेशनअन्तर्गत हामीले ५२ लाख फोलियोस माइक्रोफिल्म गरेका छौँ।राष्ट्रिय अभिलेखालयमा ३६ हजार र केशर पुस्तकालयका आठ-नौ हजार थिए।बाँकी त घरघरमा गएर जर्मनहरूले प्रतिपृष्ठ केही मात्रामा रोयल्टी दिएर माइक्रोफिल्म गरेर राखेका छन्। एक प्रति जर्मनीमा छ भने एक प्रति यहाँ।

अबको आवश्यकता

हाम्रो सफलता देखेर भारतमा पनि न्याश्नल म्यानुस्क्रिप्ट मिशन, इन्दिरा गान्धी आर्ट सेन्टरबाट हस्तलिखित ग्रन्थहरूको संरक्षण गर्न स्क्यानिङ माइक्रोफिल्म गर्ने काम भयो।अध्ययन गरेर तिनको वास्तविक विवरण, अप्रकाशित विवरणहरू बाहिर निकाल्ने काम बाँकी छ। त्यो पश्चिमाहरूले गरेर हुँदै हुँदैन।

पश्चिममा दुई-चारजना मान्छेहरू होलान्। तर पूर्वीय विश्वमा पनि प्रशस्त हामीकहाँ यहाँ हराइसकेका ग्रन्थ छन्।त्यसैले यतातिरै- भारतमा वा चीनमा वा जापानमा यहीँ नै बढीभन्दा बढी हामीलाई मानिसहरूको स्रोतको आवश्यकता छ।ती ग्रन्थहरू सम्पादन गरेर बाहिर ल्याउँदा अझ धेरै नयाँ कुरा आउँछन्।(प्राध्यापक दिवाकर आचार्यसँग बीबीसी नेपाली सेवाकी रमा पराजुलीले गरेको कुराकानीमा आधारित)

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्