७ जेष्ठ २०८१, सोमबार

 

‘भौतिक पूर्वाधार मात्र होइन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने बताएकी छन् । विद्यालयप्रतिको आकर्षण कायम राख्न विद्यार्थीलाई प्रविधि प्रयोग, दिवा खाजा, खेलकुद तथा मनोरञ्जन र अन्य संरचना व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

बागलुङमा नेपाल बाल संगठनद्वारा संरक्षित र नेपाल सरकारबाट सञ्चालित बालमन्दिर आधाभूत विद्यालयको निरीक्षणपछि मन्त्री थापाले बालबालिकाको अधिकार स्थानीय तहलाई दिइएका कारण सबैभन्दा जिम्मेवार स्थानीय तह बन्नुपर्ने जनाइन् ।

‘बालबालिकाका विषयमा सबै निकाय गम्भीर छन्,’ उनले भनिन्, ‘विद्यार्थीलाई भौतिक पूर्वाधार मात्र भएर हुँदैन, गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ ।’ बालबालिकालाई विद्यालय जाउ–जाउको वातावरण तयार गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न भए पनि गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग गर्न विद्यालका प्रधानाध्यापक मिठु पौडेल क्षेत्रीले मन्त्री थापाको ध्यानाकर्षण गराए । थापाले जनशक्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयमा हाल बाल कक्षादेखि कक्षा ८ सम्म ११४ जना विद्यार्थी अध्यनरत रहेका छन् । विद्यालयमा ६ सरकारी दरवन्दी र नेपाल बाल संगठनको निजि स्रोतबाट ३ जना शिक्षक रहेको विद्यालयले जनाएको छ । दिवाखाजा सञ्चालन गर्न सके विद्यार्थीका लागि आर्कषण हुन सक्ने विद्यालयले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्