४ जेष्ठ २०८१, शुक्रबार

 

भगतसर्वजित विश्वकर्मा संग्रहालय बनाइने

भगतसर्वजित विश्वकर्मा प्रतिष्ठानको अगुवाइमा बागलुङ नगरपालिका–७ कालीमाटीमा संग्रहालय बनाइने भएको छ ।दलित आन्दोलनका अगुवा भगत सर्वजितको जन्म भएकै स्थानमा संग्रहालय बनाउन लागिएको हो । हालै एक कार्यक्रमबीच गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले संग्रहालय शिलान्यास गरे ।

त्यस क्रममा सापकोटाले भगतसर्वजित नेपाली भाषा, साहित्य र संस्कृतिका उज्ज्वल नक्षत्र भएको बताए । ‘भाषा–संस्कृति संरक्षण गर्नकै लागि उनले दलित समुदायबाट माथि उठेर पढ्ने–लेख्ने मात्र नभई संस्कृत र वेदपुराणको अध्ययनसमेत गरे,’ उनले भने ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले दलितप्रति गरिने भेदभावविरुद्धको अभियानमा अझै सम्मान गर्न नसकिएको बताए । स्थानीय तह र राज्यका सबै निकायले प्रतिष्ठानलाई सहयोग गरेर इतिहास संरक्षणमा लगानी गर्नुपर्ने उनको भनाइ छ । अन्य जिल्लामा प्रतिष्ठान बनेर कामै सुरु भइसक्दा आफ्नै माटोमा अझै लगानी गर्न नसक्दा भगतसर्वजितको योगदान ओझेल परेको परियारले बताए ।

प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विकको अध्यक्षता, महासचिव परशुराम विकको सञ्चालन र चन्द्र विकको स्वागतमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष खेमराज पाण्डे, देवीराम विक, शशिधर गौतम र मेघनाथ गैह्रेले भगतसर्वजितको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्