८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिरलाई पूर्वविद्यार्थी शाक्यको सहयोग

विद्यामन्दिर माविका पूर्वविद्यार्थी विनय शाक्यले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयको बालविकासमा अध्ययनरत बालबालिकालाई खाजामा सहयोग होस् भनेर उनले एक कार्यक्रमबीच व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीलाई २० हजार रुपैयाँ हस्तान्तरण गरे ।

‘मैले यही विद्यालयमा अध्ययन गरेर शिक्षाको उज्यालो चेतना पाएँ,’ शाक्यले भने, ‘व्यावसायिक र सामाजिक काम गरेर अगाडि बढिरहेका बेला आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको छ ।’ सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल भाषा मंका खलःका कोषाध्यक्ष तथा बागलुङ उद्योग वाणिज्य संघ सदस्य विदेशकुमार श्रेष्ठले बालविकासमा अध्ययन गर्ने विद्यार्थीका लागि टेलिभिजन उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बालविकासकी शिक्षिका कमला श्रीष, समाजसेवी देवबहादुर श्रेष्ठ, विद्यामन्दिर माविका पूर्वप्रधानाध्यापक जगन्नाथ आचार्य, प्रधानाध्यापक शान्तमणि ढकालले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बालविकासका संयोजक मुकेशचन्द्र राजभण्डारीले गरेका थिए । विद्यामन्दिर माविमा कक्षा १ मुनि दुई बालविकास सञ्चालनमा छन् ।

आधारभूत तहको पढाइको जग बलियो बनाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न पूर्वविद्यार्थी र शिक्षाप्रेमीहरूको सहयोगमा सुविधासम्पन्न बालविकास सञ्चालनमा आएपछि विद्यार्थीसंख्या बढेर ३० जना पुगेको छ । ३ जना सहजकर्ता रहेको बालविकासमा दुई सहजकर्ताको तलब, सफा पानी, निःशुल्क खाजा, शैक्षिक सामग्री र अन्य सबै सामान पूर्वविद्यार्थीको सहयोगमा उपलब्ध भएको छ ।

गत वर्ष बालविकासमा ५ लाख खर्च भइसकेको छ । सहजकर्ताहरूलाई खाजा, पोसाक र सञ्चार खर्चसमेत पूर्वविद्यार्थीले नै बेहोर्दै आएका छन् ।

गत वर्ष विद्यामन्दिरका पूर्वविद्यार्थी तथा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले खाजाको शुभारम्भ गरेका थिए । यस वर्ष पूर्वविद्यार्थी तथा नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले नयाँ बालविकासका बालबालिकालाई खाजाको शुभारम्भ गरे । बालबालिकाको खाजामा मासिक ३० हजार खर्च हुने गरेको छ ।

अभिभावकले आफ्ना बालबालिकाको खाजाका लागि मासिक ६ सय रुपैयाँ सहयोग गरिरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाको सबै खर्च विद्यालयले नै बेहोर्दै आएको प्रधानाध्यापक ढकालले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्