८ जेष्ठ २०८१, मंगलवार

 

विद्यालयलाई सघाउन ‘स्काउट’को च्यारिटी

पर्वतको कुस्मामा चलचित्र ‘स्काउट’को च्यारिटी सो गरिएको छ । बालमन्दिर प्राथमिक विद्यालयको सहयोगार्थ सिद्धेश्वर चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको हो ।

विपन्न तथा मजदुरका बालबालिकाले मात्र अध्ययन गर्दै आएको विद्यालयको सहयोगार्थ चलचित्र देखाइएको नेपाल बाल संगठन पर्वतका सभापति एवं विद्यालयकी अध्यक्ष निर्मल विश्वकर्माले जनाइन्। उनका अनुसार शोबाट संकलित रकम विद्यालयको कोषमा राखिने र विद्यालयको हकहितमा खर्च गरिनेछ । ‘स्काउट’को कथावस्तु उठान गरिएको चलचित्र हेर्न स्कुले बालबालिकादेखि जिल्लाका जनप्रतिनिधिसम्मको सहभागिता थियो ।

चलचित्र हेरेपछि अधिकांशले कथावस्तु, निर्देशकीय पक्षका साथै कलाकारको भूमिकाले आफूहरूलाई स्काउट बन्न प्रेरित गरेको बताएका थिए ।

उक्त सोमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी उपरीक्षक श्याम अर्याल, कुस्मा नगरपालिका–५ की वडा अध्यक्ष चित्रकला शर्मा, ४ की मीना कर्माचार्यलगायतको उपस्थिति थियो ।

चलचित्रमा नवराज श्रेष्ठ, गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । कमेडी सिरियल भद्रगोलमा अभिनयसँगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदारप्रसाद पराजुली, कृष्ण लामिछाने र ईश्वर तिवारीको लगानी रहेको चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्