४ जेष्ठ २०८१, शुक्रबार

 

जन्मदिनमा विद्यार्थीलाई कापीकलम, स्कुललाई कम्प्युटर

कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेविसंघका निवर्तमान सहमहामन्त्री हरिहर शर्माले आफ्नो जन्मदिनमा आफूले पढेको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

उनले जैमिनी नगरपालिका–७ जैदीको बोरस्थित भगवती प्राविका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै विद्यालयलाई एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा र शर्माले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरे । कक्षा एकदेखि पाँचसम्मका ३५ विद्यार्थीलाई कापीकलम र अन्य शैक्षिक सामग्री वितरण गरिएको छ ।

आफूले प्राथमिक तहसम्म अध्ययन गरेको विद्यालयको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर सहयोग गर्न पाउँदा शर्माले खुसी व्यक्त गरे ।

‘शिक्षाक्षेत्रको उन्नयनका लागि मेरो निरन्तर प्रयास रहनेछ । हामी जन्मदिन मनाउने नाममा हजारौं खर्च गर्न सक्छौं तर गरिब, विपन्न विद्यार्थीको शैक्षिक उन्नतिका लागि कहिल्यै सोच्दैनौं,’ उनले भने ।

शर्माले अन्य सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ति पनि अनवरत सहयोग गरिरहने प्रतिबद्धता जनाए । उनले अघिल्लो वर्ष जैदीकै सतीढुंगा माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

पूर्वविद्यार्थीहरूको सानो–सानो सहयोगले विद्यार्थी टिकाउन र उनीहरूलाई हौसला प्रदान मद्दत पुगेको प्रधानाध्यापक कृष्णराज उपाध्यायले बताए । उनका अनुसार यसअघि पनि शर्मा र स्थानीय विजय रानाको पहलमा दुई थान कम्प्युटर उपलब्ध भएको थियो ।

विद्यालयमा तीन थान कम्प्युटर रहे पनि जनशक्ति अभावमा सञ्चालन हुन सकेका छैनन् ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष थापाले शिक्षाक्षेत्रको उन्नतिमा शर्माको योगदान समाज र समुदायले भुल्न नहुने बताए । सामुदायिक विद्यालयको शिक्षाप्रति आकर्षण बढाउन यस्ता सहयोगले टेवा पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्रबहादुर रसाईली, वडा सदस्य कुमारी राना, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, धौलागिरि बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति मनीष थापालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह रानाको अध्यक्षता, प्रअ उपाध्यायको स्वागत र नेपाली कांग्रेस क्षेत्रीय सचिव विकास पौडेलको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्