८ जेष्ठ २०८१, मंगलवार

 

गर्मी बढेपछि विद्यालय बन्द

गर्मी ह्वात्तै बढेर पठनपाठनमै समस्या भएपछि तराईका विद्यालय केही दिनलाई बन्द गरिएका छन् । पछिल्ला दिन तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा बढी छ ।

तराईमा खास गरी वैशाखदेखि असारसम्म बिहानी कक्षा चलाइँदै आए पनि पछिल्ला वर्ष कटौती गरी दिवाकक्षा चलाइँदै आएको छ । त्यसले गर्दा पनि विद्यार्थी गर्मीको मारमा पर्ने गरेका छन् ।

चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँकेलगायत जिल्लाका सरकारी तथा निजी विद्यालय बन्द गरिएका छन् ।

चितवनको भरतपुरका स्कुल ३ दिनका लागि बन्द छन् । अत्यधिक गर्मीले पठनपाठनमा समस्या आएको गुनासोपछि भरतपुर महानगरले असार २ देखि ४ गतेसम्म स्कुल बिदा दिने निर्णय गरेको हो । यो बिदालाई पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्खे बिदामा मिलान गरिने महानगरले जनाएको छ ।

बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि गर्मीकै कारण बोर्डिङ स्कुल बन्द गरिँदै छन् । प्याब्सन, एन–प्याब्सनले बिदा दिने निर्णय गरेका हुन् ।

जेठ १९ देखि २४ गतेसम्म विद्यालय बन्द गरिएका भए पनि अहिले फेरि एक साताका लागि बिदा दिइएको छ । चर्को गर्मीले विद्यार्थी प्रभावित भएकाले विद्यालय बन्द गर्नुपरेको सूचनामा उल्लेख छ ।

अहिले दिइएको ६ दिनको बिदा बर्खे बिदाबाट कटौती गरिने भएको छ । त्यसै गरी रुपन्देहीको सिद्धार्थनगर, कपिलवस्तुको तौलिहवा र वाणगंगा नगरपालिकाले पनि सूचनै जारी गरेर विद्यालय बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्