६ जेष्ठ २०८१, आईतवार

 

लिच्छविकालमै सुरु भएका थिए गैर-धार्मिक गुठी

सरकारले संसद्‍मा दर्ता गराएको गुठी विधेयक चर्को विरोधपछि फिर्ता लिने निर्णय गरे पनि त्यसलाई लिएर बहस चलिरहेकै छ।विरोधमा उत्रिएकाहरूले अहिले पनि उक्त विधेयक खारेज नै हुनुपर्ने माग गरिरहेका छन्। विधेयक फिर्ताको घोषणा भएपछि पनि बुधवार राजधानी काठमाण्डूमा सरोकारवालाहरूले ठूलो प्रदर्शन गरे।

सरकारका कतिपय मन्त्री र सत्तापक्षका नेताले गुठीहरू ‘धार्मिक कामका लागि मात्र स्थापना भएको’ रूपमा अर्थ्याउने गरेको पाइन्छ।सरकारकै प्रवक्ताले समेत गुठीलाई ‘सामन्तवादसँग जोडिएको’ अर्थ्याएका थिए। (पछि उनले त्यस्तो अभिव्यक्ति नदिएको पनि बताएका छन्।)गुठी विधेयकको विरोध गर्नेहरूले यसलाई संस्कृति र सभ्यतासँग जोडेर व्यख्या गरिरहेका छन्।

उनीहरूको आरोप छ, “गुठीलाई सरकारले जग्गाको रूपमा मात्र हेर्‍यो।”

उक्त विधेयकको बचाउ र विरोधमा उत्रिएका दुवै पक्षका आ-आफ्ना तर्क रहेपनि धेरैले गुठीलाई धार्मिक कामका लागि स्थापना गरिएकै रूपमा बुझ्ने गरेका छन्।

तर गुठीको स्थापना धार्मिक कार्यका लागि मात्र नभई ‘लोकहित र मानव कल्याण’का लागि समेत भएको इतिहासकारहरूको मत छ। त्यसका विभिन्न प्रमाणहरू पनि भेटिएका छन्।

नेपालमा भेटिएका सबैभन्दा पुरानादेखि आधुनिक कालसम्मका विभिन्न अभिलेखहरू अध्ययन गर्ने इतिहासकारहरूका अनुसार धार्मिक बाहेकका धेरै कामका लागि गुठीहरू स्थापना भएको पाइन्छ।

कतिपयले त अहिले विभिन्न व्यक्ति वा संस्थाले स्थापना गर्ने ‘ट्रस्ट’हरूसँग समेत गुठीको तुलना गर्ने गरेका छन्।

इतिहासकारहरूका अनुसार नेपालमा गुठी परम्परालाई विभिन्न कालखण्डमा राजाहरूले संरक्षण, प्रवर्द्धन र प्रोत्साहन समेत गरेको पाइन्छ।

गुठीको सुरुवात

धार्मिक र परोपकारी कार्यका लागि गुठीहरूको स्थापना गर्ने क्रम मानिसहरू कृषि युगमा प्रवेश गरेसँगै भएको हुनसक्ने इतिहासकारहरूको अनुमान छ।आर्थिक इतिहासकार तथा रोमन म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली महेशचन्द्र रेग्मीले ‘ल्यान्ड टेन्युर एन्ड ट्याक्सेसन् इन नेपाल भाग-४’ पुस्तकमा गुठी प्रणाली ‘व्यवस्थित कृषि र सङ्गठित धर्म’ जत्तिकै पुरानो हुनसक्ने दाबी गरेका छन् (पृ. १)।

गुठी प्रणाली नेपालमा मात्र नभएर विभिन्न नाममा संसारभर नै प्रचलनमा रहेको देखिने अध्येताहरूले लेखेका छन्।रेग्मीले नेपालको गुठी प्रणाली पनि ‘परोपकारी कार्यका लागि केही सम्पत्ति छुट्ट्याइ दिने अन्य देशका प्रणालीजस्तै’ देखिने उल्लेख गरेका छन्।

उनले भारत, इजिप्ट, सिरिया, इराक, इरान र अन्य मुस्लिम बहुल मुलुकहरूमा चलेको ‘वाक्फ’ प्रणाली, भारतका हिन्दूहरूले चलाएको ‘धर्मदा’ र ‘देवोत्तर’ तथा मध्ययुगमा युरोपमा चलेको ‘मोर्टमेन’ प्रणालीलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

तर ‘यी प्रणालीहरूसँग नेपालको गुठीको प्रत्यक्ष साइनो थियो भन्दा त्रुटीपूर्ण हुने’ रेग्मीले औंल्याएका छन्।रेग्मीले जस्तै नेपालका धेरै इतिहासकार तथा संस्कृतिविज्ञहरूले गुठीलाई नेपालकै मौलिक प्रणालीका रूपमा लिने गरेका छन्।नेपालमा गुठीको प्रचलन कहिले देखि सुरु भयो भन्ने खोजीकै विषय रहेको कतिपय इतिहासकारहरूको मत पाइन्छ।

तर नेपालको इतिहासमा लिच्छविकाल देखिका अभिलेखहरू भेटिएकाले र ती अभिलेखहरूले त्यसबेला पनि गुठीहरू रहेको देखाएको इतिहासकारहरू तर्क गर्छन्।

संस्कृतिविद् गोविन्द टन्डनले ‘नेपालको प्रामाणिक इतिहासको प्रारम्भसँगै गुठीको इतिहासको पनि थालनी भएको’ उल्लेख गरेका छन्।

गोष्ठीबाट गुठी

नेपाल गुठी संरक्षण पुच:ले २०६५ सालमा प्रकाशित गरेको ‘नेपालमा गुठीको महत्त्व र उपादेयता’ पुस्तकमा टन्डन लेख्छन्, “गुठी शब्द सबैभन्दा पहिले सम्वत् ३८६ (विसं ५२१) मानदेवको चाँगुनारायणको अभिलेखमा आएको छ। लिच्छविकालका अहिलेसम्म प्राप्त दुई सयभन्दा बढी अभिलेखहरूमध्ये करिब पचासवटा जति अभिलेखहरूमा कुनै न कुनै रूमा गु्ठीबारे उल्लेख छ।”

इतिहासकार धनवज्र बज्राचार्यका अनुसार ‘गुठी’ शब्द ‘गोष्ठी’ बाट आएको हो।उनले संशोधन-मण्डलले प्रकाशित गर्ने पूर्णिमा पत्रिकाको पूर्णाङ्क-१३ मा लेखेको ‘लिच्छविकालको लौकिक-जीवनमा गोष्ठीको स्थान’ शिर्षकको आलेखमा लिच्छविकालमा विभिन्न प्रयोजनका लागि गुठी चलेको लेखेका छन्।

धार्मिक प्रयोजनका लागि भने नेपाली शासकहरूले विदेशमा रहेका मन्दिरका नाममा समेत गुठी राखिदिएको इतिहास छ।रेग्मीको पुस्तकका अनुसार विदेशी मन्दिरका लागि गुठी राखिदिने चलनमा सन् १९६३ देखि प्रतिबन्ध लागेको थियो (पृ.९ )।तर ‘भारतीय मन्दिरहरूमा हुने धार्मिक कार्यका लागि नेपाली भूमीमा गरिदिएको जग्गा बन्दोबस्तीमा यो नियम कहिल्यै पनि लागु नभएको’ रेग्मीले लेखेका छन्।

परोपकारी काम र समाजसेवाका लागि पनि गुठीहरू व्यवस्थापन गर्ने चलन देखिएको तर अधिकांशले धर्म हुने विश्वासमा त्यस्तो गर्ने गरेको इतिहासकारहरूको मत छ।रग्मीले हिन्दू परम्पराबारे उल्लेख गर्दै ‘जग्गा दान गर्नेहरूले स्वर्गमा ६० हजार वर्ष बस्न पाउने’ विश्वास समाजमा रहेकाले धेरैले गुठीका लागि जग्गा दान गरेको लेखेका छन्।

त्यस्तो कार्यलाई राज्यले पनि प्रोत्साहन र संरक्षण गरेको प्रमाण भेटिन्छ।विक्रम संवत् १९१० मा जङ्गबहादुरले जारी गरेको मुलुकी ऐनमा पनि गुठी राख्दा ‘त्यस्तो गर्ने व्यक्तिको सात पुस्तासम्मको उद्धार हुने’ उल्लेख छ (पृ. १८)।परोपकारी कार्य होस् वा मठ-मन्दिरको नित्यकर्मका लागि होस्, गुठी राख्न मानिसहरूलाई ‘धर्म हुने काम गर्नुपर्छ’ भन्ने भावनाले नै प्रेरित गरेको देखिन्छ।

अतिरिक्त उत्पादन खपतको माध्यम

कतिपय क्षेत्रमा जीविका चलाउन पुग्नेभन्दा बढी मात्रामा उत्पादित कृषि उपजको सदुपयोग गर्न पनि मठ मन्दिर, गुम्बा, चैत्यलगायतको निर्माण र गुठी व्यवस्था गरिएको इतिहासकारहरूले लेखेका छन्।रेग्मीकै पुस्तकमा एकजना ब्रिटिस मानवशास्त्रीलाई उद्धृत गर्दै ‘पूर्वी नेपालका शेर्पा समुदायमा अतिरिक्त कृषि आम्दानीलाई धार्मिक कार्यमा लगाउने क्रम बढेको’ उल्लेख गरिएको छ (पृ. १)।

रेग्मी लेख्छन्, “१९ औँ शताब्दीको मध्यतिर त्यस क्षेत्रमा आलु खेती सुरु गरिएपछि एक्कासी अतिरिक्त खाद्यान्न आपूर्ति हुन पुग्यो। ५० वा ८० वर्षको अवधिमा खाद्यान्न आपूर्तिमा भएको वृद्धिले नयाँ मन्दिर, गुम्बा र धार्मिक स्मारक निर्माणलाई सम्भव बनायो।”

यसरी निर्माण भएका नयाँ धार्मिक स्थलहरूको नियमित सञ्चालनका लागि गुठीहरूको पनि व्यवस्था गरियो।कतिपय मानवशास्त्री र इतिहासकारहरू ‘पहिले मानिसहरूमा नाफा कमाउने भावना कम र परोपकारी भावना बढी हुँदा अतिरिक्त आम्दानीलाई त्यस्ता कार्यमा खर्चने गर्दथे’ भन्ने गर्छन्।

लिच्छविकालका गुठी

नेपालको इतिहासमा लिच्छविकाल देखिका प्रामाणिक कुराहरू भेटिएकाले धेरै इतिहासकारले नेपाली समाज बुझ्न त्यसबेलाका प्रमाणहरूलाई महत्त्वपूर्ण आधार मान्ने गरेका छन्।

गुठी

विक्रम संवत् १२२८ मा पाटन वलटोलमा लिच्छवि राजा रूद्रदेवको पालाको एउटा अभिलेखमा सफा पानी आउने जलद्रोणी (टुटेधारा) र नजिकै पाटी बनाई दान गरेको र ‘बाटो बढार्ने’ गोष्ठीमा तीन रोपनी खेत दान गरेको उल्लेख छ।

धेरैले नेपालमा गुठीहरू पनि लिच्छविकालमा नै सुरुवात भएको लेख्ने गरेका छन्।तर त्यसबेला विभिन्न मठ मन्दिरमा राखिएका शिलालेख, शिलापत्रलगायतका प्रमाणहरू भेटिएकाले गुठी परम्परा त्यसबेला देखि मात्र सुरु गरिएको हो कि भन्ने ठानिएको तर्क गर्नेहरू पनि छन्।

धनबज्र बज्राचार्यका अनुसार ‘अहिले धार्मिक कुरालाई छोडेर लौकिक जीवनसँग गुठीको त्यत्तिको सम्बन्ध रहेको’ छैन। त्यसले गर्दा गुठी-पद्धतिमा आस्था पनि कम हुँदै गएको देखिन्छ।तर लिच्छविकालमा गुठीको सम्बन्ध नितान्त धार्मिक कार्यसँग मात्र सम्बन्धित थिएन।

परोपकारको भावना

पूर्णिमा प्रकाशित उनको लेखका अनुसार लिच्छविकालमा मुख्य रूपमा दुईखाले गुठी प्रचलनमा थिए- एउटा आफ्नै परिवारको अधीनमा रहेको र अर्को ‘नियत व्यक्ति’ लाई सुम्पिएको।

परिवारको अधीनमा रहेको गुठीलाई दाताका सन्तानहरूले आफ्नो विवेक अनुसार चलाउने गर्थे भने अर्को खालको गुठीलाई निश्चित व्यवस्था अन्तर्गत सञ्चालन गरिन्थ्यो।धर्म बाहेक लोकहितका लागि पनि गुठी स्थापना हुने गरेका विभिन्न प्रमाणहरू भेटिएका छन्।

त्यसको प्रमाणका रूपमा उनले विक्रम संवत् १२२८ (नेपाल संवत् २९२) को पाटन वलटोलको लिच्छवि राजा रूद्रदेवको पालाको एउटा अभिलेखलाई उल्लेख गरेका छन्।

बज्राचार्यका अनुसार उक्त अभिलेखको भावार्थ यस्तो हुन्छ, “नेपाल संवत् २९२ कार्तिक महिनामा, राजा रुद्रदेवले शासन गरिरहनु भएको बेलामा, बुद्धिमान जयचन्द्रले सफा पानी आउने यो जलद्रोणी (टुटेधारा) र नजिकै पाटी बनाएर दान गरे। ‘बाटो बढार्ने’ गोष्ठीमा तीन रोपनी खेत दान गरे। त्यो पाटीको छाना हाल्न चार शिवका (तात्कालिक मुद्राविशेष) दिए।”

उक्त अभिलेखले परोपकारको भावनाले धारा र पाटी बनाउने तथा बाटो बढार्ने कामका लागि गुठी व्यवस्था गरेको देखाएको उनले लेखेका छन्।त्यस्तै राजा नरेन्द्रदेवको अनन्तलिङ्गको अभिलेखमा पनि बाटो बढार्ने, मर्मत गर्ने कामका लागि अलिकति रकम छुट्ट्याएको उल्लेख गरिएको पनि उनको भनाइ छ।

बज्राचार्यका अनुसार लेलेको अभिलेखमा भने अंशुवर्माले अनेक खाले गुठीको आयस्ता तोकिदिएको पाइन्छ।

गुठी

लेलेको अभिलेखमा अंशुवर्माले अनेक खाले गुठीको आयस्ता तोकिदिएको पाइन्छ।

लेलेको अभिलेखका अनुसार त्यसबेला विभिन्न कामका लागि फरक-फरक गुठीको व्यवस्था गरिएको देखिन्छ।

गुठीले धानेका आरोग्यशाला

बज्राचार्य लेख्छन्, “पानीयगोष्ठी, प्रणालीगोष्ठी (पानीको बन्दोबस्त गरेने गुठी), प्रबहणगोष्ठी (गाडाको बन्दोबस्त गर्ने गुठी) आदिको सम्बन्ध लौकिक जीवनसँग पनि छ।”बीबीसीनेपालीबाटसैगरी धार्मिक काममा पनि फरक-फरक कामका लागि फरक-फरक गुठीको व्यवस्थापन हुने गरेको पाइएको छ।

बज्राचार्यका अनुसार बाजाको बन्दोबस्त मिलाउन ‘वादित्त्रगोष्ठी’, ध्वाजाको बन्दोबस्तीका लागि ‘ध्वजगोष्ठी’, बत्तीको बन्दोबस्तका लागि ‘प्रदीपगोष्ठी’लगायत बनाइएका थिए।त्यस्तै लिच्छविकालमा आरोग्यशाला अर्थात् औषधालयका लागि पनि गुठीहरू बनाइएका प्रमाणहरू भेटिएका छन्।

इतिहासका यस्तै आधार र प्रमाणहरू दिएर इतिहासकारहरूले गुठी धार्मिक कार्य सञ्चालनका लागि मात्र स्थापना भएका होइनन् भन्ने प्रमाणित गर्न खोजेका छन्।अहिले पनि संस्कृतिविद्हरूले गुठीलाई एउटा मौलिक नेपाली ‘सभ्यता’ र ‘परम्परा’ भन्दै आएका छन्।

(विष्णु पोखरेल/बीबीसीनेपालीबाट)

प्रतिक्रिया दिनुहोस्