३ जेष्ठ २०८१, बिहीबार

 

‘पञ्चायतमा मण्डलेसँग चुनाव लड्नु चानचुने थिएन’

 

डा. बलराम गौतम
पूर्वमेयर, सिद्धार्थनगर नगरपालिका, रूपन्देही

पञ्चायत कालमा कसरी राजनीतिमा सक्रिय हुन सक्नुभयो ?

विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा थिएँ । पञ्चायतमा सबैलाई समान अवसर थिएन । स्रोतसाधन दुरुपयोग थियो । प्रजातान्त्रिक शासन–व्यवस्था आओस्, सबैलाई मान–सम्मान होस् भन्ने लाग्थ्यो । सबै कुरा प्रजातान्त्रिक मूल्यमान्यताअनुरूप सदुपयोग र वितरण होऊन्, जनताको अधिकार स्थापित होस् भनेर कांग्रेसमा संगठित हुन पुगेँ ।

कांग्रेसले जनअपेक्षित काम कति गरेजस्तो लाग्छ ?

कांग्रेसले पटकपटक सत्ता पाउँदा जनताको चाहनाअनुसार सञ्चालन गर्न सकेन । नेतृत्व गलत व्यक्तिको हातमा पुग्यो । संगठन र शासनव्यवस्थामा भ्रष्टलाई स्थान दिने नेतामा गिरिजाप्रसाद कोइराला अग्रज बन्नुभयो । पार्टीभित्र पद्धति नबस्दै संरचना गलत तत्वको हातमा पुग्यो । आज भोगिरहेको बेथितिको जगमा गिरिजाप्रसाद कोइरालाको देन छ । त्यसैले गर्दा आज कांग्रेस अधोगतिमा पुगेको हो ।

बीपीको व्यक्तित्व र आदर्शले कांग्रेसमा लागेकाहरू पनि छन् नि ?

बीपीको कांग्रेसप्रतिको चिन्तन र धारणा प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूपको थियो । उहाँसँग पहिलो भेट बनारसमा सन् १९६८ मा भएको हो । म विद्यार्थी नै थिएँ । उहाँले ‘तिमीहरू विद्यार्थी पढ्नुपर्छ, पढाइमा ध्यान दिएनौ भने देशका लागि दक्ष र कुशल जनशक्ति अभाव रहनेछ । तिमीहरू पढेर असल र कुशल बन्न सकेनौ भने म फेरि प्रधानमन्त्री नै भए पनि जिम्मेवारी बहन गर्ने स्थानमा लैजान सक्दिनँ’ भनेको प्रस्ट सम्झिन्छु । परिवर्तनपछि बीपी, गणेशमान, किसुनजीको अवधारणाअनुसार पार्टी चल्न सकेन । निर्वाचनमा त्यही कारण पराजित हुन पुग्यो । हिजो पञ्चायतविरुद्ध निर्वाचन लड्दा एक भएर जुधेका कार्यकर्ता अहिले पार्टीभित्रको गुट–उपगुटमा देख्दा दुःख लाग्छ । गलत मानिसहरू चाकडी र चाप्लुसीबाट उच्च ओहदामा पुगेकाले कांग्रेसको अधोगति भएको हो ।

बीपीसँग थप केही स्मरण ?

सन् १९६८ मा पहिलोपटक बनारसमा भेट भएको हो । उहाँले हामीलाई राजनीतिक प्रशिक्षण पनि दिनुभएको थियो । चाडपर्वमा आफ्नो निवासमा बोलाएर खानपानसँगै राजनीतिबारे सचेत गराएको क्षण अहिले पनि स्मरणमा छ । गरिब किसानलाई कसरी माथि उठाउने भन्नेमा विचार प्रवाह गरिरहनुहुन्थ्यो । किसानको जीवनस्तर कसरी परिवर्तन गर्न सकिन्छ, उनीहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा उहाँको चिन्तनमनन हुन्थ्यो । त्यही किसिमले आफू प्रधानमन्त्री रहँदा काम पनि सुरु गर्नुभएको थियो । तर दुर्भाग्य, उहाँको कार्यकाल धेरै टिक्न सकेन ।

तपाईं राजनीतिमा क्रियाशील रहँदा पाएका जिम्मेवारी र पद के–के हुन् ?

बनारसस्थित महात्मा गान्धी काशी विद्यापीठबाट अध्ययन गरेर फर्किएपछि भैरहवामा पार्टीमा संगठित हुन पुगेँ । त्यही बखत राष्ट्र बैंकमा अधिकृत स्तरको जागिरे भएँ । जागिरे रहँदा पनि संगठनका लागि काम गरिरहे । कतिसम्म भने ०३७ सालमा पोखरमा कार्यरत रहँदा बीपी आउनुभयो । उहाँलाई स्वागत गर्न पुगेँ । त्यही बहानामा जेल हालियो । तर धेरै दिन बस्नुपरेन । संयोगवश, त्यसबखत जागिर गएन । पछि पार्टीको निर्देशनमा जागिर छाडेँ । पञ्चायतको निर्वाचनमा सहभागी भएर त्यहीँभित्रबाट विद्रोह गर्ने निर्णयअनुसार म भैरहवाबाट नगरपालिकाको प्रधानपञ्चको उम्मेदवार बनेँ । त्यस बखत विराटनगरबाट अशोक कोइराला, धनुषाबाट लीला कोइराला प्रतिस्पर्धी थिए । तर पञ्चायतको साम, दाम र दण्ड नीतिले पराजित हुन पुग्यौं । बुथ कब्जा गरेरै हामीलाई हराइएको थियो । भैरहवामा मण्डलेको त्यो बिगबिगीमा चुनाव लड्नु चानचुने कुरा थिएन ।

करिब दुई दशक भैरहवाको कांग्रेस नगर अध्यक्ष भएर काम गरेँ । बहुदलपछि संसदीय निर्वाचनमा टिकटका लागि नाम सिफारिस भए पनि दिइएन । पछि स्थानीय निर्वाचनमा मेयरका लागि सर्वसम्मत गरियो । मेयरमा विजयी पनि भएँ र एक कार्यकाल भैरहवा नगरपालिकाको नेतृत्व गरेँ । यता पार्टीमा महासमिति सहस्य र महाधिवेशन प्रतिनिधि भएँ ।

मेयर हुँदा स्मरण गर्न लायक के–के काम गर्नुभयो ?

भैरहवा नगरक्षेत्रको विकासनिर्माणका लागि दीर्घकालीन योजना बनाउने काम मैले नै गरेँ । भैरहवामा अहिलेको जुन स्वरूपमा विकास भएको छ, मेरै कल्पनाअनुसार भएको हो । मेरो योगदान तत्कालीन कर्मचारी र वर्तमान मेयर हरि अधिकारीलाई पनि थाह छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्ताव त्यति बेलै भएको हो । आशा गरौं, अब अर्काेपटक नेपाल आउँदा भैरहवा विमानस्थलमा उत्रिन सकियोस् ।
लुम्बिनी विश्वविद्यालय पनि त्यति बेलाकै योजना र परिकल्पना हो । उक्त विश्वविद्यालय लुम्बिनीमा हुनुपर्छ भनेर पहिलो आवाज उठाउने मै हुँ । विश्वविद्यालयलाई बौद्ध दर्शनका साथै प्राविधिक उच्चशिक्षाका लागि नमुना बनाउने योजना थियो । थाइल्यान्डको एक विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गर्ने योजनासाथ प्रस्ताव गरेको थिएँ तर तत्काल हुन सकेन । अहिले विश्वविद्यालय सञ्चालनमा आए पनि दलका कार्यकर्ता जागिर खाने र नियुक्त गर्ने स्थान भएको सुन्दा दुःख लाग्छ ।

अहिले अमेरिकामा हुनुहुन्छ, नेपाल सम्झिँदा र यहाँको अवस्था देख्दा कस्तो लाग्छ ?

करिब एक दशकदेखि अमेरिकावासी भएको छु । त्यहाँ बसे पनि मन नेपालमै रहन्छ । आफंैले संगठन र नेतृत्व गरेका ती क्षण विस्मृत हुने कुरा पनि आएन । देशको अवस्था देख्दा अन्य नेपाली नागरिकलाई जस्तै दुःख लाग्छ । अब कसलाई के भन्नू ? गल्ती, कमीकमजोरी कहाँबाट भयो, माथि उल्लेख गरिसकेँ । बाँकी वर्तमानका नेतृत्वकर्ता कांग्रेस र वामपन्थी दलका नेताले जिम्मेवारी लिनु बेस होला ।

अब उतै बस्ने कि नेपाल फर्किने ?

अब करिब ५ वर्ष मात्र उता बस्ने योजना छ । केही पारिवारिक जिम्मेवारी र अवसरले गर्दा अमेरिकावासी हुन पुगेँ । सेवानिवृत्त जीवन नेपालमै व्यतीत गर्ने योजना छ । त्यही भएर आफैंले अध्ययन गरेको भैरहवा मावि सिद्धार्थनगरमा अक्षयकोष स्थापना गरेर जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिसमेत प्रदान गरिँदै आएको छ । उक्त कार्य यहाँ बस्ने जेठा छोरा वासु गौतमले गरेका हुन् । उनी पनि सामाजिक संस्था दर्ता गरेर लुम्बिनीको विकास र प्रचारप्रसारमा सक्रिय हुँदै आएका छन् । म पनि भैरहवाको थप विकास र समृद्धिका लागि सामाजिक काममा सहभागी भएर बिताउनेछु ।

(सञ्जय पन्थीसँगको कुराकानी )

 

 

प्रतिक्रिया दिनुहोस्