८ जेष्ठ २०८१, मंगलवार

 

भारतका विश्वविद्यालय र प्राविधिक शैक्षिक संस्थामा नेपालीको चाप

फाइल तस्बिर

नेपाली विद्यार्थी उच्च शिक्षाका लागि भारत आउने क्रम जारी नै छ । नेपालका विश्वविद्यालयमा अध्ययनविनै लब्धांकपत्र बनाएर श्रेणी कायम गर्दै व्यापारिक रूपमा शैक्षिक संस्था चलाउन थालिएपछि पश्चिमा देशहरूसँगै भारतका विश्वविद्यालय नेपालीका स्वाभाविक गन्तव्य बन्न थालेका छन् ।

उच्च माध्यमिक शिक्षापछि वैदेशिक अध्ययनलाई गन्तव्य बनाउँदै आएका नेपाली भारतका विश्वविद्यालय र प्राविधिक शिक्षालयसम्म पुगिरहेका छन् । नयाँ दिल्लीस्थित दूतावासले अध्ययनका लागि आउने विद्यार्थीको भर्ना र छात्रवृत्तिको सिफारिस गरिदिने भए पनि अन्य काम विद्यार्थीले शैक्षिक कन्सल्टेन्सीमार्फत नै गर्ने गरेका छन् ।

दूतावासस्रोतका अनुसार वार्षिक करिब २५ हजार विद्यार्थी भारतमा उच्च शिक्षा अध्ययनका लागि आउने गरेका छन् । दूतावासका शैक्षिक परामर्शदाता होम लुइँटेलले अध्ययनका लागि भारत आउने नेपालीको चाप नघटेको बताए । उनले भने, ‘उच्च मावि तहपछिको अध्ययनका लागि आउने क्रम बढ्दो छ ।’ उनले दिल्लीस्थित नोयडाको श्रद्धा विश्वविद्यालयमा ७ सयभन्दा धेरै नेपाली विद्यार्थी रहेको तथ्यांक दिए । यो निजी क्षेत्रको विश्वविद्यालय हो । भारतमा ७ सयभन्दा धेरै विश्वविद्यालय छन् । तिनमा नेपाली विद्यार्थीलाई सहज भर्ना उपलब्ध रहेको लुइँटेलले जनाए । नेपाली विद्यार्थीलाई अन्य देश जान पूर्वस्वीकृति पत्र (एनओसी लेटर) आवश्यक रहे पनि यहाँ आउन त्यस्तो प्रावधान नरहेकाले पनि संख्या बढेको लुइँटेलले बताए । ‘बनारसस्थित वाराणसी हिन्दू विश्वविद्यालयमा यस शैक्षिक सत्रमा स्नात्तकोत्तर तहमा मात्र ६० जना नेपाली विद्यार्थी भर्ना भएको तथ्यांक छ,’ उनले भने ।

त्यसैगरी दिल्लीस्थत जेएनयु, चण्डीगढस्थित पियु, कलकत्ताको शान्तिनिकेतनलगायत केन्द्रीय विश्वविद्यालय नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेका छन् । चिकित्सा विज्ञान अध्ययन गर्न दिल्लीस्थित एम्समा मात्र १ सयभन्दा धेरै विद्यार्थी छन् । त्यहाँ अध्ययनरत डा. सागर पौडेलका अनुसार स्नातकपछिको अध्ययनका लागि छात्रवृत्ति र सशुल्क गरी करिब १ सय जना अध्ययनरत छन् । उनले भने, ‘यहाँ अध्ययन अवसर पाउनु आफंैमा ब्रान्ड हो ।’

नर्सिङ अध्ययन गर्न आउने छात्राको चाप सुरुका केही वर्षको तुलनामा कम भए पनि बन्द भएको छैन । दक्षिण भारतका नर्सिङ कलेजमा अझै पनि नेपाली छात्रा नर्सिङ अध्ययन गर्न आउने गरेका छन् । दार्चुलाकी दुर्गा हमालले आफ्नी एक छोरी दक्षिण भारतस्थित चेन्नईमा स्नातकोत्तर नर्सिङ अध्ययनरत रहेको जानकारी गराइन् । छोरीले सशुल्क पढिरहेको उनको भनाइ छ ।

चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न आउनेको संख्या पनि उच्च छ । वार्षिक करिब ३ हजार विद्यार्थी भारतका विभिन्न सहरमा सिए अध्ययन गर्न आउने गरेको अनुमान छ । सिए आफैंमा प्राविधिक शिक्षा हो । विज्ञान संकायमा १२ कक्षा पास गरेपछि विद्यार्थीले यो शिक्षा अध्ययन गर्ने गरेका छन् । दिल्लीस्थित लक्ष्मीनगर सिए अध्ययनरत विद्यार्थीको हब नै बन्ने गरेको छ । करिब पाँचवर्षे कोर्समा वार्षिक १० देखि १५ विद्यार्थी सिए क्याप थ्री तहको परीक्षा उत्तीर्ण गर्न सफल हुने गरेका छन् ।

नेपालको सिए बोर्डलाई क्यान र भारतको सिए बोर्डलाई आइक्यान भन्ने गरिन्छ । नेपालमै उक्त विषयको अध्ययन सुविधा रहे पनि अधिकांश विद्यार्थी भारत नै आउने गरेका छन् । भारतको बजार ठूलो र अन्तर्राष्ट्रिय मान्यता हुनु पनि यसको कारण हो ।

नेपाली विद्यार्थी भारत आउनुको कारण दर्साउँदै जेएनयुमा विद्यावारिधिरत अम्बिकाप्रसाद जोशीले भने, ‘भारतको शिक्षा आफैंमा स्तरीय भएकाले पनि नेपाली विद्यार्थीको आकर्षण भएको हुन सक्छ ।’ अन्य देशको तुलनामा भारतका शैक्षिक संस्थामा नेपाली विद्यार्थीलाई सहुलियत हुनुलाई पनि उनले यसको कारण औंल्याए । तर पछिल्ला दिन भारतका प्रतिष्ठित शैक्षिक संस्थामा नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थीसरहको शुल्क कायम गर्न लागिएको उनले जानकारी दिए । भारतको नेविसंघका अध्यक्षसमेत रहेका जोशीले जेएनयुमा सामाजिक विज्ञानमा सशुल्क अध्ययनका लागि आउने विद्यार्थीलाई हालै विश्वविद्यालय प्रशासनले पश्चिमा देशका विद्यार्थीसरह शुल्क वृद्धि गरेको बताए । यसअघि प्रतिसेमेस्टर २ सय अमेरिकी डलर भुक्तानी गरे पुग्ने विद्यार्थीले अबदेखि १ हजार डलर भुक्तानी गर्नुपर्ने भएको उनले जनाए ।

यद्यपि नयाँ शैक्षिक सत्र (जुन/जुलाई) मा भर्ना हुन आउने नेपाली विद्यार्थीको चापमा कमी नआएको जोशीले बताए । पछिल्ला वर्ष भारतमा सरकारीका तुलनामा निजी शैक्षिक संस्था एवं विश्वविद्यालयमा नेपाली विद्यार्थी धेरै आउने गरेको उनको भनाइ छ । बहुप्राविधिक विषय अध्ययनको अवसर रहेकाले पनि नेपाली विद्यार्थी भारत आउने क्रम नरोकिएको उनले बताए । ‘भारत आउने करिब १० प्रतिशत विद्यार्थीलाई विभिन्न निकायअन्तर्गतको छात्रवृत्ति सेवा उपलब्ध रहे पनि अधिकांशले सशुल्क नै अध्ययन गर्ने गरेका छन्,’ उनले भने । भारतको शिक्षामा नेपाली विद्यार्थीले वार्षिक कति खर्च गर्छन् भन्ने आधिकारिक तथ्यांक नरहेको जोशीले स्पष्ट पारे ।

दूतावासका अधिकारी लुइँटेलले पनि खुला सीमाका कारण आउने विद्यार्थी र खर्च गर्ने रकमको आधिकारिक तथ्यांक उपलब्ध गराउन कठिन रहेको बताए । उनले भने, ‘नेपालका विश्वविद्यालयमा शैक्षिक गुणस्तर ह्रास हुँदै आएकाले पनि भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थीको चाप वृद्धि हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्