८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिर माविमा संयोजकको नाउँमा यसरी भित्रियो बेथिति

विद्यामन्दिर माविमा २०६१ सालदेखिनै उच्च मावि तर्फको संयोजक राखेर भत्ता र अतिरिक्त तलब खाने गलत पद्धती शुरु भएको थियो ।

तत्कालिन प्रअ ऋद्धिराज अधिकारीको पालादेखि उमाविको संयोजक तोकिएको थियो । सोही समयदेखि विद्यामन्दिरमा १० जोड २ को कक्षाहरु संचालनमा आउन थालेका हुन् । तत्कालिन समयमा मावि द्वितीय श्रेणी सरह तलब दिने गरिएको थियो । यो तलब सरकारी कर्मचारीतर्फ उपसचिव सरह थियो ।

यो तलब ४ पिरियड बराबरको पारिश्रमिकको रुपमा दिइएको हो । उक्त मूल्यमा प्रअलाई २ पिरियड र संयोजकलाई २ पिरियडको रुपमा भाग लगाइएको थियो । महंगी भत्तासहित उक्त रकम ३६ हजार थियो । दिपक ज्योती श्रेष्ठ विद्यामन्दिरको प्रअ हुँदा स्नातकोत्तर उपाधि पाएपछि उमावि संयोजक राख्नुपर्ने व्यवस्था आवश्यक थिएन तर उक्त पदले गैरकानूनी रुपमा निरन्तरता पायो ।

श्रेष्ठपछि विद्यामन्दिरमा ईश्वरलाल बज्राचार्य प्रअ भए । उनको स्नातकोत्तर प्रमाणपत्र थिएन । त्यसैले फेरी यो पदको आवश्यकता खड्कीयो । तर २०७२ सालमा जगन्नाथ आचार्य प्रअ भएर आएपछि अहिलेसम्म स्नातकोत्तर तहका प्रअकै निरन्तरता छ । उक्त निरन्तरतामा उमावि संयोजकको कुनै आवश्यकता पर्दैन । तर दशकदेखि संयोजकको पदमा रहेका शिक्षक डिल्लीराज गौतम निरन्तर संयोजककै रुपमा बसेर २०७५ असारसम्म तलब र भत्ता खाइरहे । तत्कालिन व्यवस्थापन समितिका पदाधिकारी र प्रअले यो बेथितीलाई हटाउन सकेनन् ।

डिल्लीराज गौतम धौलागिरी बहुमुखी क्याम्पस राजनीतिक शास्त्रका स्थायी उपप्राध्यापक हुन् । गौतम अध्ययन बिदामा जाने भएपछि उमावि इन्चार्ज मनोज रोकालाई तोकियो । रोकाले गत वर्षको साउनदेखि त्यो पदमा बसेर नियमित तलबबाहेक इन्चार्ज भत्ता १८ हजार र विज्ञान विषयको नाउँमा विभिन्न भत्ता जोडेर १० हजार १ सय गैरकानूनी ढंगले खाइरहेका हुन् । रोकासहित शिक्षकहरु प्रकाश सापकोटा, यामबहादुर पोखरेल र विष्णु काफ्लेले पनि विज्ञान भत्ताको नाउँमा मासिक १० हजार १ सय गैरकानूनी ढंगले खाइरहेका छन् ।

मनबहादुर रोकाको बोलाउने नाम मनोज रोका हो । रोकापनि धौलागिरी बहुमुखी क्याम्पसको भौतिक शास्त्रका आंशिक शिक्षक हुन् । निजी श्रोतमा विद्यामन्दिरमा छिरेका रोकासहित विष्णु काफ्ले र यामबहादुर पोखरेललाई सरकारले दिएको ३ वटा अस्थायी दरबन्दीमा राखिएको हो । यो दरबन्दीमा बस्दा उनीहरुले मावि द्वितियसरहको तलब खान पाउँछन् । रोकाले व्यवस्थापन समितिमा पनि प्रतिनिधि सदस्यको दावी गरेका छन् । पटक पटक उनले समितिका अध्यक्षसहित पदाधिकारीलाई औपचारिकरुपमा सदस्यमा मनोनयन गर्न दवाब पनि दिंदै आएका छन् । सहकारीका शेयर सदस्यले मात्र खाता खोल्न पाउने व्यवस्था विपरित यो विद्यालयले प्रगति सहकारीमा पनि खाता खोलेको छ । उक्त खातामा रोकाकै हस्ताक्षर चल्ने गरेको छ ।

बागलुङ नगरपालिकाले दिएको निर्देशन विपरित रोकासहितका शिक्षकले नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला नेतृत्वलाई दवाब दिइरहेका छन् । उनीहरुले नगरपालिकाको निर्णय फिर्ता गराउन दवाब दिएका हुन् । नगरप्रमुख जनकराज पौडेल भने सबै विद्यालय दिउँसोमा पढाउनु पर्ने प्रावधानमा अडिग छन् ।

नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले हरेक विद्यालयमा प्रअलाई ५ सय रुपैयाँ भत्ताबाहेक अरु सुविधा नभएको बताए । ‘गैरकानूनी ढंगले भत्ता लिएको नियम संगत छैन’ उनले भने । विद्यामन्दिर मावि साढे १० बजेसम्म संचालन भएको देखाइएको उनले बताए तर यहाँका शिक्षकहरु पर्वतको पाङ र बिहुँमा पुगेर १० बजे हाजिर गरेको देखाउँछन् ।

दिउँसो विद्यालय चलाउने विषय नगरसभाको निर्णय हो । पाँचौ नगरसभाले पास गरेको नीतिलाई शर्माले कार्यान्वयनको काम मात्र गरेको बताए । ‘नगरपालिकाको निर्णय पालना गराउनु मेरो कर्तव्य हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्