८ जेष्ठ २०८१, मंगलवार

 

दिउँसो कक्षा चलाउन नमान्नेलाई कारबाही गरिन्छ : प्रवक्ता अर्याल

कक्षा ११ र १२ दिउँसो चलाउन अटेरी गर्ने र बिहान पढाएर गैरकानुनी भत्ता खाने शिक्षकलाई कारबाही गरिने शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले बताएका छन् । शिक्षा नियमावली र विभागको निर्णयअनुसार पूर्वाधार पर्याप्त रहेका सामुदायिक र निजी विद्यालयले ११ र १२ कक्षा तुरुन्त दिउँसो चलाउनुपर्ने उनको भनाइ छ ।

‘गैरकानुनी भत्ता खाने, कक्षाकोठामा ढिलो जाने, पोसाक नलगाउने, शैक्षिक जिम्मेवारी पूरा नगर्ने, नियमविपरीत अन्य विद्यालयमा पढाएर आफ्नो विद्यालयको पढाइ खस्काउने शिक्षक र विद्यार्थीसँग महँगो शुल्क असुल्ने विद्यालय कारबाही दायरामा आउनेछन्,’ अर्यालले नयाँ विश्वलाई भने ।

सरकारले कक्षा ११ र १२ लाई विद्यालय तहमा समेटिसकेको छ । तर बागलुङका विद्यामन्दिर र कालिका माविसँगै ९ वटा निजी विद्यालयले अझै बिहान छुट्टै कक्षा चलाइरहेका छन् । बागलुङ नगरपालिकाले विद्यालय तहका अन्य कक्षासरह ११ र १२ दिउँसो चलाउन र एउटै खाता बनाउन पटकपटक पत्राचार गरे पनि उनीहरूले अवज्ञा गरिरहेका छन् ।

‘उहाँहरूले कक्षाकोठा, जनशक्ति र विभिन्न बहानामा विद्यार्थीको हित होइन, आफ्नो हित केन्द्रमा राखेर बिहान पढाइ राख्नुभएको छ । क्षमता भएको सामुदायिक र निजी विद्यालयले नगरपालिकाको निर्णय अवज्ञा गर्नुको कुनै औचित्य छैन,’ नगरशिक्षा अधिकारी दण्डपाणि शर्माले भने ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका उनले पूर्वाधारको बहाना बनाएर शिक्षाजस्तो मौलिक र जनसरोकारका विषयमा आफूखुसी गर्न नपाइने बताए । पूर्वाधार बनाएर विद्यार्थीलाई उच्च गुणस्तरीय भवन र शैक्षिक वातावरण दिनुपर्ने उनको भनाइ छ ।

हिसान धौलागिरिका अध्यक्ष बालकृष्ण शर्माले कक्षाकोठा, जनशक्ति अभाव र अरू विभिन्न कारणले निजी विद्यालयले बिहान पढाउनुपरेको दाबी गरे । ‘हामीले शिक्षा नियम र नगरपालिकाको नगरसभाको निर्णय मान्नुपर्छ,’ उनले भने, ‘तर सबै निजी विद्यालयको राम्रो पूर्वाधार छैन ।’

बानपा–८ सिगानास्थित सिगाना माविले भने लामो समयदेखि दिउँसो कक्षा चलाइरहेको छ ।

‘दिउँसो कक्षा चलाउँदा हुँदा पढाइ र मनोरञ्जन दुवैलाई समय पुग्छ,’ प्रधानाध्यापक गोपालकुमार शर्माले भने, ‘बिहान पढाउँदा विद्यार्थीको पढाइमा गुणस्तर नहुने, निद्रा नपुग्ने, ९ बजेपछि विद्यार्थीलाई भोक लाग्ने र नतिजा पनि राम्रो नआउने समस्या थियो ।’

प्रतिक्रिया दिनुहोस्