३ जेष्ठ २०८१, बिहीबार

 

‘नयाँ पुस्तालाई समाजसेवामा प्रेरित गर्ने पाठ्यक्रम चाहिन्छ’

विराट कुमार श्रेष्ठ
(अध्यक्ष, बागलुङ समाज कल्याण केन्द्र ,काठमाडौं )

तपाईंको बाल्यकाल कहाँ, कसरी बित्यो ?

मेरो बाल्यकाल बागलुङमै बितेको हो । काठमाडौंमा त व्यापार–व्यवसायको सिलसिलामा ०५२ सालमा आएको हुँ । यहाँ चीनबाट सामान ल्याई होलसेल व्यवसाय गर्दै आएको छु । समाजसेवामा पनि क्रियाशील छु । समाजसेवा मेरो परिवारकै पहिचान हो । हजुरबुबा, बुबा र मसम्म आइपुग्दा हामी समाजसेवामा जोडिइरहेकै छौं ।

तपाईंका प्रेरणास्रोत के–के हुन् ?

मेरो शिक्षादीक्षा बागलुङमै भएको हो । पढ्दैदेखि विद्यालय स्तरमा हुने क्रियाकलापमा जोडिन पुगे । स्काउट, पिटी, सरसफाइजस्ता कार्यक्रमले मलाई प्रेरित गरे । पछि जेसिजमा जोडिन पुगे । त्यसले झनै क्रियाशील बनायो । व्यापारिक र व्यावसायिक दिनचर्याका बावजुद समाजसेवालाई निरन्तता दिँदै आएको छु । अहिले त समाजसेवाका काम वा बैठकमा सहभागी नभए केही बिराएजस्तो लाग्छ ।

काठमाडौं आएपछि कुन–कुन संस्थामा रही काम गर्नुभयो ?

यहाँ आएपछि बागलुङ समाजमा सदस्य हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छु । यो संस्था म काठमाडौं आउनुअघि नै गठन भएको रहेछ । त्यसलाई गति दिने काममा पनि संलग्न हुन पुगँे । सुरुमा कोही बिरामी हुँदा वा कसैको परिवारमा शोक पर्दा सहयोगी बन्दै आएको समाज अहिले बागलुङका सामाजिक अवस्था र सेवाका कार्यसँग जोडिन पुगेको छ । त्यसका लागि कोष पनि स्थापना गरिएको छ । यसबाहेक आफ्ना पितृजनका नाममा पनि कोष स्थापना गरेर समाजमार्फत परिचालन हुँदै आएको छ । यो नितान्त सामाजिक सेवासँग सम्बद्ध छ । समाजले अहिले पनि बागलुङ र काठमाडौंमा २५ जना छात्रछात्राको शिक्षादीक्षामा सहयोग गरिरहेको छ ।

अहिलेको पुँजी निर्माणको प्रतिस्पर्धामा तपाईं व्यापार–व्यवसायमा सफल रहँदारहँदै समाजसेवामा किन लाग्नुभएको ?

यही कारण लागेँ भन्ने ठोस अभिव्यक्ति छैन । तर एउटा कुरा, व्यापार–व्यवसाय नितान्त आफ्ना लागि हो भने समाजसेवा अरूका लागि । धन, वैभव व्यापार–व्यवसायमा होला, सामाजिक सम्मान र आनन्द भने समाजसेवामै छ । तर अहिलेको पुस्तामा समाजसेवाप्रति उति रुचि छैन । म मेरा अभिभावकको पछि लागेर सामाजिक काममा सहभागी हुन्थेँ । अहिले मेरा सन्तान समाजसेवाको काममा त्यति प्रसन्न हुँदैनन् । कारण उनीहरू नै जानून् । नयाँ पुस्तालाई समाजसेवामा प्रेरित गर्न आवश्यक छ । उनीहरूमा बढ्दो नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले शैक्षिक पाठ्यक्रममै परिवर्तन गर्न आवश्यक छजस्तो लाग्छ ।

 

तपाईंमा समाजसेवी भावना जाग्नुमा शिक्षाको भूमिका कति छ ?

छ, किन नहुनु ? हाम्रा पाठहरूमा सामाजिक व्यक्तिका जीवनी र उनीहरूले गरेका योगदान पढाइन्थ्यो । अहिले त्यस्तो छैन । कमर्सियल कम्पनीका पाठ्यपुस्तक रंगीन कलेवर बनाएर विद्यार्थीलाई भुलाउने काम मात्र भएको पाउँछु । शिक्षाले मानिसलाई कहीँ न कहीँ प्रभाव पारिरहेको हुन्छ । समयसापेक्ष परम्परा र संस्कृतिलाई पनि शिक्षामार्फत संरक्षण–संवद्र्धन गर्नुपर्ने बेला भएको छ । त्यसले पार्ने प्रभाव मानिसको जीवनमा अमिट रहन्छ । त्यही प्रभाव मेरो जीवनमा पनि परेको छ ।

आफ्नो पारिवारिक पृष्ठभूमि बताइदिनुहुन्छ कि ?

मेरो पृष्ठभूमिको कुरा गर्दा बागलुङमा अहिले हाम्रो चौथो पुस्ता हो । हाम्रो पहिचान समाजसेवी परिवारका रूपमा छ । मेरा हजुरबुबा राणाकालमा जागिरको सिलसिलामा पहिलोपटक बागलुङ पुग्नुभएको रे । माल अड्डामा, सुब्बाको हैसियतमा । मेरो बुबा पनि त्यहीँ हुलाकमा खरिदार हुनुभएछ । राणाकालमा पश्चिम नेपालको मुकाम पाल्पा समृद्ध मानिन्थ्यो । त्यसपछिको समृद्ध स्थानमा गनिन्थ्यो बागलुङ । त्यसैले पनि त्यहाँको जीवनशैली समृद्ध भएको पाइन्छ । राणकालमा सुब्बा र खरिदार भएको मेरो परिवार सचेत पनि थियो । मेरो हजुरबुबा देवराज श्रेष्ठले १९८० सालमै गोरखापत्रमा समाचार पठाएर छापिएको प्रमाण मेरो परिवारसँग छ । लाग्छ– मेरो हजुरबुबा नै गोरखापत्रको मोफसलको पहिलो संवाददाता हुनुपर्छ ।

हजुरबुबा नै सञ्चारकर्मी भएको परिवार, सञ्चार–व्यवसायतिर जान मन लागेन ?

समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ, कसलाई थाह हुन्छ र ? मेरो बुबा २ वर्षको हुँदा हजुरबुबाको मृत्यु भएको रहेछ । तत्कालीन समाजमा अभिभावक गुमाउँदाको परिवार, अभाव र कष्टसँग पनि जुध्नुप¥यो होला । तर पनि परिवारमा परेको शिक्षाको प्रभावका कारण बुबा पढेर खरिदार हुनुभएछ । केही नमिलेर होला, सञ्चारकर्मलाई निरन्तरता दिन बुबाले सक्नुभएन । मैले पनि त्यसलाई पेसा वा व्यवसाय बनाउन सकिनँ । मेरा सन्तानले पनि त्यसलाई अपनाएका छैनन् । तर अहिले सञ्चारको युग हो, सञ्चारको नेटवर्कभित्र प्रवेश नगरी सुखै छैन । त्यसैले त्यो नेटवर्कमा उपभोक्ता बनेर सेवा लिइरहेका छौं ।

समाजसेवामा लाग्दा के पाए वा गुमाएजस्तो लाग्छ ?

गुमाउनुभन्दा पनि पाएजस्तो नै लाग्छ । तपाईंसँगको यो साक्षात्कार नै त्यसैको परिणाम हो । आज बागलुङदेखि काठमाडौंको समाजसम्म विराट को हो भनेर चिनाइरहन पर्दैन । त्यो पनि असल कर्मका कारण । त्यसैले भन्छु, समाजसेवामा केही गुमाउनुपरेको छैन ।

तपाईंलाई चिन्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

जिउन कर्म गर्नैपर्छ । कर्म गर्दा समाज पनि छ भन्ने कुरालाई ध्यान दिऊँ । प्रत्येक दिन २४ घण्टा हुन्छ । सकिन्छ धेरै समय दिऊँ, सकिँदैन दिनमा कम्तीमा एक घण्टा समाजसेवामा बिताआंै । त्यहीअनुसार आर्जनबाट पनि केही अंश समाजसेवाका लागि छुट्ट्याऔं । हाम्रोमा मुष्टिदान भन्ने परम्परा नै छ । त्यसलाई कायम गर्न सकौं । आफ्नो स्वार्थ मात्र नहेरी समाजका लागि पनि केही गरौं । त्यसबाट प्राप्त आनन्द धन–वैभवबाट पाइने आनन्दभन्दा अलौकिक हुन्छ । सामाजिक सम्मान पनि प्राप्त हुन्छ । त्यो सम्मान धन–पैसाभन्दा ठूलो हो । त्यसैले म ‘हर्ट अट्याक’ भएपछिको जीवनमा पनि आफूलाई स्वस्थ राख्न समाजसेवा कर्ममा क्रियाशील छु । लिनुभन्दा दिनुको आनन्द छुट्टै छ । त्यसैले समाजसेवालाई जीवनको अभिन्न मानेर, आफू जन्मेको समाज वा देशका लागि स्वार्थभन्दा माथि उठेर केही गरौं । त्यो पनि राजनीति र पदप्राप्तिभन्दा माथि भएर ।

प्रतिक्रिया दिनुहोस्