३१ बैशाख २०८१, सोमबार

 

‘मायादेवी मन्दिर बनाउन आफैं ज्यामी बनेँ’

०४८ सालमा सांसद चुनिएँ । त्यसपछि फेरि चुनाव लड्नै मन लागेन । नयाँलाई अवसर दिनुपर्छजस्तो लाग्यो । त्यसअघि पनि पटकपटक जितिसकेकै थिएँ । गिरिजाबाबुलाई यही कुरा सुनाएँ । उहाँले भन्नुभयो– ‘त्यसो भए लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नुस् ।’

मैले स्विकारे । उहाँले नियुक्ति दिई पनि हाल्नुभयो । त्यो ५ वर्ष मैले निकै कुशलतापूर्वक जिम्मेवारी पूरा गरेँ । आफैंलाई गर्व लाग्छ । भन्न मन लाग्छ– ‘अहिले लाखौं पर्यटक लोभ्याउने मायादेवी मन्दिर छ नि, त्यो मेरै पालामा बनेको हो । मैले नै बनाएको हुँ ।’ कुनै पनि योजना बिनाकमिसन र बिनाढिलासुस्ती कसरी पूरा हुन सक्छ, त्यसको दृष्टान्त हो त्यो मन्दिर ।

सरकारले प्राविधिकको सुझावमा करिब ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, मैले ६ करोडमै बनाइदिएँ । सरकारको दुई करोड जोगाएँ । कारण स्पष्ट छ, त्यहाँ कुनै ढिलासुस्ती र कमिसनको खेल हुन दिइनँ । अहिलेका योजनामा त्यस्तो कहाँ हुन्छ र ? लुम्बिनीमै डेरा जमाएर बसेको थिएँ म त्यस बेला । मन्दिर निर्माण नसकियुन्जेल आफैंले रेखदेख गरेँ । एउटा इँटा पनि कम हुन दिइनँ । आफैं ज्यामी बनेर खटिएँ कुनै–कुनै बेला त ।

मन्त्रीका मानिसको दबदबा

०४६ सालयता लुम्बिनी विकास कोषमा पाँचवर्षे कार्यकाल पूरा गर्ने सायद मै मात्र हुँ । आफ्नो कार्यकालमा एक जनालाई पनि त्यहाँ जागिरका लागि सिफारिस गरिनँ । न त भनसुन गरेँ । तर त्यहाँको संरचना इमानदार छैन ।

त्यसैले अहिले कोषको लक्ष्यअनुसार काम हुन सकेको छैन । ठेक्कापट्टा कमिसनमा छ । काममा ढिलासुस्ती छ । मन्त्रीका मानिस जागिरे छन् । उनीहरूको दबदबा छ । त्यस्तो पवित्र स्थानमा पनि पवित्र मनले काम गरिँदैन भने अन्यत्र झन् के होला, विकास परियोजनाको हालत ! त्यस्तो संरचनामा बसेर मैले जति गर्न सकेँ, त्यसैमा सन्तुष्ट छु ।
०००

१९९७ मा यसरी जन्मियो घरेलु उद्योग विद्यामन्दिर

मेरो जन्म १९९२ सालमा बागलुङमा भएको हो । मेरा पिता ओमप्रसाद राजनीतिज्ञ ,व्यापारी एवं समाजसेवी हुनुहुन्थ्यो । उहाँले १९९७ सालमा बागलुङमै पहिलोचोटि विद्यालय स्थापना गर्नुभएको हो–घरेलु उद्योग विद्यामन्दिर । मेरो शिक्षारम्भ त्यहीँबाट भयो । विद्यालय स्थापना गरे पनि विद्यार्थी नहुँदा खोजेर ल्याउनुपरेको थियो । म तिनैमध्येको थिए ।

पढाईको साथै पुस्तक, संगीत र घरेलु् सीपको ज्ञान

बुबालाई उहाँको धेरै मिल्ने साथी मेघकुमार वैद्यले धेरै साथ दिएका थिए विद्यालय स्थापना गर्नका लागि। विद्यालयको नामै घरेलु उद्योग विद्यामन्दिर थियो । बुबाले एक जना विद्यार्थी कसरी सक्षम, योग्य र देशभक्त हुन्छ भनेर परिकल्पना गर्नु भएको थियो । विद्यालयमा पढाईको साथै पुस्तकालय, संगीतालय र घरेलु सीप सिकाइथ्यो ।

विद्यार्थीलाई पाठ्यक्रममा भएको पढाईको अलवा बाहिर विश्वको ज्ञान र विवेक पनि दिनु पर्छ भनेर पुस्तकालय र संगीतालय पनि स्थापना गर्नु भएको थियो । त्यसको साथै सबै खालको सीप विद्यार्थीले सिकेमा त्यो सीप र ज्ञान उसलाई आफ्नो घर र कार्य थलोमा काम लाग्छ। विद्यार्थीहरु आर्य आर्जनमा जोडिएर आफुलाई आर्थिक रुपमा अगाडि बढ्न मद्दत पुग्छ भन्ने विद्यालयका संस्थापकहरुको बुझाई थियो । राणाकाल यस किसिमको नवीन सोच लाग्नु धेरै जोखिमको विषय थियो ।

विसं १९९९ मा पहिलोपटक छात्राहरुलाई पढ्ने अनुमति

पहिलोपटक करिब १० विद्यार्थी भर्ना भएका थिए । तीमध्ये केहीले छाडे, म निरन्तर भएँ । स्थापनाको दुई वर्षपछि छात्रालाई पनि पढाउन सुरु गरियो । त्यो पनि मेरै पिताको जोडबलमा । उहाँलाई आरोप लागेको थियो– स्कुल पढाएर अब गौचनले छोरी–चेली बिगार्ने भए भनेर । त्यसो गर्नुको एउटा कारण विद्यालयमा विद्यार्थीसंख्या न्यून भएकाले होजस्तो लाग्छ ।

त्यस बेला राणाशासन रहे पनि बुबाले आफ्नै निर्णयमा विद्यालय खोल्नुभएको हो । शिक्षकको वेतनदेखि सम्पूर्ण खर्च आफैं बेहोर्नुभएको थियो । पहिलो शिक्षक कलप्रसाद कौ थिए, बुबाले पाल्पाबाट बोलाउनुभएको ।

उनी केही समय अध्यापन गराएपछि गए । त्यसपछि कहिले काठमाडौंबाट त कहिले बुटवल, पाल्पाबाट शिक्षक ल्याएर विद्यालयलाई निरन्तरता दिइयो । पहिलोपटक बनाइएको विद्यालयभवन ७० हात लामो थियो । आवासीय सुविधा पनि थियो ।

विस २००७ सालमा जनसरकारको प्रधानमन्त्री ओमप्रसाद गौचन

बागलुङ आफैंमा पश्चिमतिरको पाल्पापछिको केन्द्र थियो । जनसंख्याका पनि अरू जिल्लामा भन्दा धेरै । त्यति बेला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ एकै जिल्ला थिए । पर्वत मात्र भनिन्थ्यो । हाम्रो परिवार मुस्ताङबाट १९६२ सालमा बागलुङ सरेको बुबा सुनाउनुहुन्थ्यो । बागलुङ बजार पनि भएकाले उहाँले कपडाको व्यापार सुरु गर्नुभएको थियो । त्यो पछिसम्म पनि थियो । हामीलाई के खाऊँ, के लाऊँ भन्ने समस्या परेन ।

हाम्रो परिवार पछि आए पनि बुबा त्यो समाजमा राम्रोसँग घुलमिल हुनुभएको थियो । त्यहाँको रहनसहन र संस्कृति संरक्षणमा उहाँले योगदान गर्नुभएको छ । उहाँमा भारतका स्वतन्त्रता आन्दोलनका प्रणेता महात्मा गान्धीको ठूलो प्रभाव थियो ।

बुबा नेपाली कांग्रेसको राजनीतिमा लाग्नु भयो राणाकालमै । उहाँको विपीसंग नियमित भेटघाट र चिठी आदान प्रदान हुन्थ्यो ।पार्टिको आन्दोलन र कार्यक्रममा सहभागि हुन बुबालाई विपीले लेखेको चिठी अझ पनि सुरक्षित छ ।

त्यही चेतनाले होला, कांग्रेसको पक्षमा लागेर बागलुङ जनसरकारको प्रधानमन्त्री बन्नुभएछ । ०७ साल फागुनमा प्रजातन्त्र आएपछि अन्यत्रका सरकार विघटन गरिए पनि बागलुङको सरकार भने जेठसम्मै रह्यो ।

कांग्रेसमा लगाब

हामी थकाली । हाम्रो जरो मुस्ताङको थाकखोला हो । पछि बसाइँ सरेर अन्यत्र पुगेका । कांग्रेस राजनीतिमा सक्रिय रहेका योगेन्द्रमान शेरचनको हाम्रो परिवारसँग आत्मीय सम्बन्ध थियो । कांग्रेसका संस्थापक नेताहरूसँग पनि सम्बन्ध सुमधुर थियो । बिपी बागलुङ आउँदा हामीकहाँ बस्नुहुन्थ्यो । त्यसको प्रभाव मभित्र पनि पर्‍यो, कांग्रेसको समर्थक बन्न पुगे ।

बिपीले बुबालाई कांग्रेसबाट ०१५ सालको निर्वाचन लड्न आग्रह गर्नुभए पनि मान्नुभएन । तत्कालीन पर्वत जिल्लाअन्तर्गत ३ निर्वाचन क्षेत्र थिए । तीमध्ये एक प्रजापरिषद्ले र दुई स्थान कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट योगेन्द्रमान शेरचन र गल्कोटे राजाले चुनाव जितेका थिए । त्यसपछि पनि बिपीले पिताजीलाई मनोनीत गर्न खोज्नुभयो तर मान्नुभएन ।

उहाँलाई पद र प्रतिष्ठाको कुनै लोभ थिएन । सादा जीवनमा विश्वास गर्नुहुन्थ्यो । कर्मपरायण हुनुहुन्थ्यो । विद्यामन्दिरबाट प्रारम्भिक शिक्षा लिएपछि मलाई उच्च शिक्षाका बनारस जान मन थियो । हाम्रातिरका मानिसहरू त्यहाँ थिए । तर बुबाले पठाउनुभएन । आफ्नै स्थानको विकास गर्नुपर्छ भन्ने चेतना उहाँमा थियो । अनैतिक कर्म गरेर धनसम्पत्ति जोड्नुहुन्न भन्ने मान्यता राख्नुहुन्थ्यो ।

मलाई पनि पिताजीकै आदर्शको छाप पर्‍यो । ६ पटकसम्म निर्वाचित माननीय भएँ । दुईपटक मन्त्री भएँ । पञ्चायतकालमै शिक्षा सहायक र वनमन्त्री बन्न पुगे । वन मन्त्रालयमा योजनाको प्रारम्भ मेरै कार्यकालबाट भएको हो । त्यति बेला वन फँडानी गरेर बस्ती बसाल्न आर्थिक प्रलोभनसहितका कैयौं प्रस्ताव आए ।

तर कहिल्यै त्यस्तो अनैतिक कर्म गरेर धन आर्जन गर्नतर्फ लागिनँ । बागलुङको राजनीतिक वृत्तमा अहिले पनि मलाई नचिन्ने कमै होला । पछिल्लोपटक ०४८ सालमा गिरिजाबाबुले आफैं बोलाएर निर्वाचन लड्न आग्रह गर्नुभयो । जितेँ पनि । त्यसपछि अरूलाई पनि पालो दिनुपर्छ भन्ने लाग्यो । म उठिनँ । बिपीसँगको साथ र सम्बन्धकै कारण गिरिजाबाबुले पनि असाध्यै मान–सम्मान गर्नुहुन्थ्यो ।

जति बेला पनि भेट दिनुहुन्थ्यो । कहिल्यै मेरा लागि यो चाहियो भनिनँ, त्यसमा गर्व लाग्छ । बिपीले पिताजीसँग सल्लाह–सुझाव लिनुहुन्थ्यो । ०१४ सालको सत्याग्रहका क्रममा प्रजातन्त्र अप्ठ्यारोमा पर्‍यो, तपाईंले सुझाव दिनुपर्‍यो भनेर उहाँले पिताजीलाई लेखेको पत्र अझै पनि सुरक्षित छ । त्यति बेलाका नेताहरूमा त्याग, तपस्या, निष्ठा र आदर्श थियो । अहिलेको राजनीतिमा ती सबै मूल्यमान्यता विलीन भएको देख्दा अचम्म लाग्छ ।

यसरी जन्मिए प्रेम छोटा

बागलुङमा शिक्षित परिवारको इतिहास खोतल्दा हाम्रो परिवार अग्रपंक्तिमा आउँछ । ०७ सालको परिवर्तनपछि ०८ सालमा मैले आफैंले हातैले लेखेर र सम्पादन गरेर पत्रिका प्रकाशन गरेको थिएँ । त्यसको नाम ‘सही बाटो’ राखिएको थियो । तर २–३ अंक प्रकाशनपछि निरन्तरता दिन सकिएन ।

त्यसको केही समयपछि मैले ‘जबर्जस्ती बिहाको प्रतिफल’ भन्ने नाटक लेखेर निर्देशन गरेको थिएँ । त्यही नाटकबाट जन्मिएका पात्र हुन्, बागलुङका साहित्यकार प्रेम छोटा । नाटकमा प्रेम नामका दुई पात्र थिए । प्रेम भनेर बोलाउँदा दुवै आउने भएकाले ठूलालाई बडा प्रेम र सानालाई छोटा प्रेम भनियो । पछि उनले आफ्नो नाम नै त्यही बनाए ।

अर्का प्रेमको मृत्यु भइसक्यो । प्रेम छोटाले  ‘धवलागिरिको पत्रकारिताको इतिहास’ नामक पत्रिकाको संग्रह प्रकाशन गरेका  छन् । त्यहाँ उनले मेरा बारेमा पनि उल्लेख गरेका छन् ।

प्लेन चढेर काठमाडौं

म पहिलोपटक ०८ सालमा काठमाडौं आएको हुँ, पोखराको पहिलो फ्लाइटको प्लेन चढेर । महावीरशमशेरको हिमालयन एयरवेज सञ्चालनमा आएको थियो । पोखरादेखि काठमाडौंको भाडा २८ रुपैयाँ थियो । यहाँ आएर बिपीलाई भेट गरेँ । त्यसले पनि मलाई कांग्रेस राजनीतिमा झुकाव राख्न मद्दत गर्‍यो । उहाँको सादा जीवन र सरलपनबाट आकर्षित नहुने मानिस कमै हुन्थे । उहाँ साँच्चै निष्ठावान् नेता हुनुहुन्थ्यो ।

१७ सालमा प्रजातन्त्र ‘कू’ भएपछि राजा महेन्द्र हाबी भए । हाम्रो परिवार बागलुङमै भएकाले तत्कालीन परिवेशमा राजाको कदमको न विरोध गर्‍यौं न समर्थन । कारण, तत्काल राजालाई चुनौती दिन सक्ने वातावरण थिएन । नेताहरू जेलमा थिए । योगेन्द्रमान शेरचन पनि बिपीसँगै जेल हालिएका थिए ।

त्यही बेला उनका पिता स्वर्गे हुनुभयो । क्रियाकर्म गर्नुपर्ने भएकाले म जमानी बसेर उनलाई रिहा गराएको थिएँ । हामीले पञ्चायतको विरोध गरेको भए उनलाई त्यसरी निकाल्न सकिने थिएन ।

राजनीतिमा सधैं एउटै लयमा मात्र देखिन हुँदैन रहेछ भन्ने अनुभव त्यसै बखत भएको हो । त्यसो भन्दैमा कांग्रेस परित्याग भने गरेका थिएनौं । न पिताजीको आस्थामा विचलन आयो न मेरो ।२०४८ साल माघ २० गते सोमवार उहाँको निधन भयो । त्यसपछि पारिवारिक जिम्मेवारी मेरो काँधमा आयो ।

सानीमाले हुर्काउनुभयो

म २१ महिनाकै हुँदा मेरी आमा बित्नुभएको रहेछ । बुबाले पछि कान्छी आमा ल्याउनुभएको रहेछ । उहाँको पनि १ छोरा र २ छोरी जन्मेपछि ०५ सालमा निधन भयो । त्यसपछि पिताजी बिहा नगर्ने सोचमा हुुनुहुँदो रहेछ । तर हामी सानै भएकाले हुर्काउनका लागि पनि आमाकी बहिनी (साली) बिहे गर्नुभएछ । सानीमातिर सन्तान भएनन् ।

उहाँले हामीलाई यस्तो मातृवात्सल्य दिनुभयो कि हामीले कहिल्यै टुहुरोपन अनुभव गरेनौं । पिताजीको निधनपछि पनि घर–व्यवहारमा त्यसरी अलमलिनुपरेन ।

मेरा आफ्ना एक छोरा र तीन छोरी छन् । छोरा राजधानीको गुडविल फाइनान्सको संस्थापक हो । उनीहरूको अध्ययन–अध्यापन काठमाडौंमै भयो । म सधैं राजनीति र समाजसेवामा सक्रिय रहेँ ।

तर पदमा रहँदा पनि कहिल्यै उनीहरूका लागि सोच्नुपरेन । उनीहरूले पनि बुबाले त्यहाँ यस्तो गरिदिए हुन्थ्यो भन्ने चाह राखेनन् । मैले पद र पहुँचको दुरुपयोग गरेर सन्तानलाई यसो गर्‍यो, उसो गर्‍यो भन्ने आरोप खेप्नुपरेन । छोरो अहिलेसम्म अविवाहित नै छ । अब त विवाह गर्ने उमेर पार भएकाले गर भनेर आग्रह पनि गर्दिनँ । अहिले काठमाडौंको घरमा बाबुछोरा मात्रै बस्दै आएका छौं ।

निष्ठा हराएको राजनीति

संस्कृति जगेर्नाका क्षेत्रमा पनि बागलुङमा मलाई सम्झिनेहरू छन् । त्यहाँको नेवार समुदायले करिब ३ सय वर्षदेखि गर्दै आएको ‘हनुमान्–नाच’ बन्द भएको थियो । मेरै अग्रसरतामा करिब २० को दशकमा उक्त नाचलाई निरन्तरता दिलाए । लागत जुटाउनेदेखि आवश्यक प्रबन्ध मेरै पहलमा भएको थियो । त्यहाँको जनप्रतिनिधि भएकाले जिम्मेवारी पनि थियो । प्रत्येक ३ वर्षमा हुने उक्त नाच देशभरमा बागलुङमा मात्र मनाइन्छ ।

म जनप्रतिनिधि हुँदा बागलुङ जिल्लामा एक सयभन्दा धेरै झोलुंगे पुल बनाएँ । करिब ६१ गाउँ पञ्चायत प्रत्येकमा विद्यालय खोलिए । प्रत्येक पञ्चायतमा अतिरिक्त हुलाक पु¥याउने काम पनि मेरै कार्यकालमा भयो ।

राजनीतिक रूपमा कम्युनिस्टहरूको वर्चस्व रहे पनि विभेद नगरी काम गरेकाले मैले कहिल्यै दुव्र्यवहार वा अपमान सहनुपरेन । बागलुङबाट अहिले राजनीति गर्नेहरूको नाम लिँदा चित्रबहादुर केसीलाई सम्झन्छु । सिद्धान्त जे भए पनि इमानदार राजनीतिज्ञ हुन् । उनी राजनीतिमा लगनशील रहँदारहँदै पनि अव्यावहारिक छन् भन्ने मेरो बुझाइ छ ।

किनकि उनी आफ्नो हठ छाड्दैनन् । तर उनको जत्तिको इमानदारी पनि अहिले राजनीतिमा अभाव भएको छ । नेता र नेतृत्व आफ्नै स्वार्थमा लागिपरेकाले ०६३ सालको परिवर्तनपछि पनि जनता व्यवस्थाप्रति आश्वस्त हुन सकिरहेका छैनन् । राजनीतिमा निष्ठा, आदर्श र समर्पण भएन भने देशमा विकासले गति लिन सक्दैन ।फोटो : ओमप्रसाद गौचनको स्मृतिग्रन्थबाट

फोटो  : आभाष राजभण्डारी

प्रतिक्रिया दिनुहोस्