६ जेष्ठ २०८१, आईतवार

 

बागलुङको यातायात कार्यालय अस्तव्यस्त, सेवाग्राहीलाई सास्ती

बागलुङ । यातायात व्यवस्था कार्यालय, बागलुङले काममा ढिलासुस्ती गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।

कार्यालयमा सेवा लिन आउने अटोमोबाइल व्यवसायीहरुलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले काममा ढिलाइ गर्ने र जानाजान दुःख दिने गरेको गुनासो गरेका हुन् ।

स्वरुमबाट नयाँ गाडी, मोटरसाइकल, स्कुटर र अटो ग्राहकलाई बेच्नुपर्दा काममा ढिलाइ गर्ने तथा अनावश्यक जरिवाना तिराउने गरेको एक व्यवसायीले नयाँ विश्वलाई बताए ।

पछिल्लो समय अनलाइनबाट सेवा दिने र सेवाग्राहीमैत्री व्यवहार गर्ने भनेपनि नयाँ सवारीसाधन पास गर्दा एक दिनमा पनि काम नसकिँदा बुर्तिवाङ, कुश्मिसेरा, ताराखोला, म्याग्दी, मुस्ताङ, पर्वतबाट आउने सेवाग्राही समस्यामा पर्ने गरेको व्यवसायी र सेवाग्राहीको गुनासो छ ।

५ बजेसम्म खुल्ने कार्यालयमा राजश्व तिर्ने समय १ बजे नै बन्द गर्ने गरेको कारण काममा समस्या भएको सेवाग्राहीले बताए ।

राजस्व तिर्ने समय कार्यालय सञ्चालन हुने समयसम्म नै खोल्नु पर्ने उनीहरुको माग छ । प्राविधिक फाँटका प्राविधिकले नियतवश ढिलासुस्ती गर्दा आफूहरुले समयमै सेवा नपाएको व्यवसायी बताउँछन् ।

एउटै काममा पटकपटक धाइरहनु उनीहरुको भनाइ छ । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । अनि कर्मचारीका असभ्य व्यवहारका कारण पनि सेवाग्राहीहरु मानसिक रुपमा पीडित छन् ।

नवीकरण नभएको सवारीसाधनको तथ्याङ्क कम्प्युटर प्रणालीमा ल्याउन लागेको कारण काममा केही ढिलाइ हुन पुगेको कार्यालयका प्रमुख गोमादेवी शर्माले बताउनुभयो ।

प्रविधिको हिसाबले पहिले स्मार्ट प्रणाली सुरु भइसके पनि व्यक्ति आफै आउनुपर्ने, व्यक्तिले फर्म भरेर हातले लेखेर हस्ताक्षर गरेर, फोटो टाँसेर आउनुपर्ने अवस्था अन्त्य गर्न खोजेको कारण केही समस्या भएको उहाँको भनाइ छ ।

स्मार्ट प्रणालीमा ल्याउनको लागि पुरानो फाइल अनलाइनमा अपलोड गर्न थालिएको र यो समस्या केही हप्तामै सहज बनाउने आफ्नो तयारी रहेको बताउनुभयो ।

पहिला लेखापढी गर्ने व्यवसायीहरु कार्यालय भित्र जाने गरेकोमा अहिले त्यसको अन्त्य भएको र कार्यालयकै कर्मचारीले काम गर्ने व्यवस्था मिलाएको शर्माको भनाइ छ । पछिल्लो समय अनिवार्य रुपमा सवारी साधन कार्यालयमा ल्याएर मात्र जाँच पास गर्ने गरेको शर्माले बताउनु भयो ।

उहाँले सेवाग्राहीलाई दुःख नभएको भनिए पनि नयाँ सवारी खरिद गरि बागलुङमा बिक्रीका लागि ल्याइएको सवारीसाधनको भ्यात विल काटेको ३५ दिनभित्रै दर्ता गरेर खरिद गर्नेको नामको नामसारी गरि सक्नु पर्ने कानुनी व्यवस्था छ ।

यस्तो कानुनी प्रावधान भएपनि कार्यालयका प्राविधिक, कर्मचारी र कार्यालय प्रमुखले जानजान ३५ दिनको समय अवधि कटाउने र दुई हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना तिराएर व्यवसायीलाई समस्यामा पार्ने गरेको व्यवसायीहरुले गुनासो मात्र गरेका छैन घुमाउरो पारामा पैसासमेत मागेर दुःख दिने गरेका छन् ।

कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालयको बैठक र अन्य कार्यक्रममा जाने बेलामा निमित्त नतोक्दा सेवाग्राहीहरुलाई सास्ती भएको छ । कार्यालयले व्यवस्थापनमा ध्यान नदिँदा सवारी जाँच पास, सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा भद्रगोल देखिन्छ ।

बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् ।

बागलुङलगाएत पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई समेत सेवा दिनु पर्ने कार्यालयमा सेवाग्राहीको भीड देखिए पनि कर्मचारीले समयमै काम नसक्दा सेवाग्राहीहरु पटकपटक कार्यालय धाउनु पर्ने बाध्यता रहेको छ ।

जस्ले गर्दा उनीहरुको समय र पैसासमेत बबार्द हुने गरेको छ ।

कतिपय सेवाग्राहीले बिचौलियामार्फत काम हुने गरेका कारण र लाइन बसेका सेवाग्राहीलाई मर्का पर्ने गरेको गुनासोसमेत गरे । सिधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन ।

अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सिधै काउन्टरमा प्रवेश पाउँछन् ।

कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन ।

लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छ । कार्यालयका संरचनाहरू महिला र अपागङ्तामैत्री देखिँदैन । शौचालय अत्यन्त दुर्ग्निन्धत छ । कार्यालय परिसर धुलाम्मे हुँदा सेवाग्राहीलाई थप सास्ती हुने गरेको छ ।

यातायात कार्यालयमा मानिसहरुले दिनहुँ लाइनमा बस्नुपर्ने बाध्यता छ । समयमा काम नहुने र धेरै दुःख खेप्नु परेको छ । लाइनमा बसेर कर तिरेर लाइसन्स लिन्छु भन्दा दुईचार दिन नै लाग्छ ।

अझै यातायात व्यवस्था विभागले समयमा स्मार्ट कार्ड प्रिन्ट गरेर नपठाउँदा सेवाग्राहीहरुले निकै सास्ती भोग्नु परेको छ ।

देशैभरि एकैदिन हजारौँ मानिसहरुले ट्रयाल दिन्छन र हजारौं मानिसहरु ट्रयाल पास हुन्छन् । ट्रयाल पास त हुन्छन् मानिसहरु तर रातो कागज मात्र पाउँछन् ।

वर्ष दिनभित्र पनि पाउँदैनन् स्मार्ट लाइसेन्स । आफ्नो मान्छे हुनेले यातायात व्यवस्था विभागबाटै निकाल्छन् । नहुनेहरुले दुई वर्षभन्दा माथि कुर्नुपर्ने स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्