६ जेष्ठ २०८१, आईतवार

 

धौलागिरि बहुमुखी क्याम्पसमा मेला-महोत्सव गर्न नपाइने

बागलुङ । बागलुङको धौलागिरि बहुमुखी क्यापसको प्राङ्गणमा व्यापारिक उद्देश्यका मेला महोत्सव गर्न नपाइने भएको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलाशका वरिष्ठतम न्यायाधीश मोहन पोख्रेलका अनुसार क्याम्पसको शैक्षिक गतिविधि प्रभावित पर्ने गरि आयोजना गरिने व्यापारिक मेला महोत्सव बन्द गराउँन परेको रिटमाथि अदालतले आगामी दिनमा शैक्षिक, सांस्कृतिक र साहित्यीक बाहेकका मेला महोत्सव क्याम्पस प्राङ्गणमा नगराउँन आदेश दिएको हो ।

अदालतले सार्वजनिक चिन्ता र चासोका विषयलाई प्राथमिकताका साथ हेर्ने गरेको भन्दै पोख्रेलले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फछर्यौट गरेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा परेका २ सय ७७ थान विभिन्न प्रकृतिका मुद्दा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १ सय ६१ थान गरी ४ सय ३८ थान मुद्दा मध्ये हालसम्म ३ सय ९० थान मुद्दा फछर्यौट गरिसकेको उहाँको भनाई छ ।

अदालतले असार मसान्तसम्म ३ सय ५५ थान मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख महिनाभित्रै लक्ष्य भन्दा ४५ थान बढी मुद्दा फछर्यौट गरिसकेको छ ।

अदालतमा हाल ४८ थान मुद्दा मात्र फछर्यौटका लागि बाँकी रहेका छन् । जसमध्ये गत वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा जम्मा १ थानमात्र रहेको पोख्रेलको भनाई छ । अन्य सबै मुद्दा ६ महिना भित्रका रहेको उहाँको भनाई छ ।

न्यायका लागि अदालत आएकालाई लामो समय अल्झ्याएर राख्नु पनि अन्यायनै भएको भन्दै उहाँले अदालतका सबै न्यायाधीश र कर्मचारी सेवाग्राहीलाई द्रुत सेवा दिनका लागि खटिरहेको बताउनु भयो ।

भूगोल अनुसार मुद्दाका प्रकृति पनि फरक फरक हुने गरेको भन्दै उहाँले बागलुङमा सम्बन्ध विच्छेदका मुद्दाहरु अधिक हुने गरेको बताउनु भयो । उहाँले अदालतबाट सर्वोत्तम हितका मुद्दामा बढीमा ७ दिन भित्रमा आदेश दिने गरेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्