बागलुङ । पद्म नर्सिङ होम प्रा.लि., नदीपुर पोखराले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ ।
नर्सिङ होमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । नर्सिङ होमले नबिल बैंक लिमिटेडमा रहेको कोषको खातामा रु. १ लाख ११ हजार १ सय ११ बराबरको चेकमार्फत रकम जम्मा गरेको हो ।
प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति पद्म नर्सिङ होमले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित र पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।
गत भदौ १० गते बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।
बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ ।
पद्म नर्सिङ होमका अध्यक्ष यादव गौतमले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम प्रदान गरिएको बताउनुभयो ।
विपद्को यस दुःखद् घडीमा पीडित परिवारको दुःखमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनु सामाजिक दायित्व भएको महसुस गर्दै रकम सम्बन्धित राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, संस्थाका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वासका साथ आर्थिक सहयोग गरिएको बताउनुभयो ।
उहाँले पद्म नर्सिङ होम प्रा.लि. सामाजिक उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
















































































































































































