बागलुङ। नेपाल निर्जीवन बीमा व्यवसायी संघ र आबद्ध निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।
संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो।
बाढीपछि राहत, पुनःस्थापना र पुनर्निर्माणमा योगदान गर्ने निर्णयअनुसार संघ र आबद्ध कम्पनीहरूले उक्त रकम उपलब्ध गराएका हुन्।
रकम हस्तान्तरण कार्यक्रममा सम्बन्धित कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गरेका छन्।
त्यस्तै, सगरमाथा लुम्बिनी, हिमालयन एभरेस्ट र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीले व्यक्तिगत रूपमा संकलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँ पनि बाढी प्रभावितका लागि हस्तान्तरण गरिएको छ।
एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। संघका अनुसार अन्य निर्जीवन बीमा कम्पनीहरू पनि सहयोग गर्ने क्रममा छन्।
बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकता
संघले बाढीका कारण क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा अन्य सम्पत्तिको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले शोक प्रस्तावसमेत पारित गरेको छ।
संघले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेको छ।
उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज र मित्रराष्ट्रका उद्धार टोलीप्रति संघले आभार व्यक्त गरेको छ।
रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री वाग्लेले विपद्को समयमा बीमा क्षेत्रले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।
















































































































































































