बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले भोटेकोशीमा सम्पर्क विहीन भएका नागरिकका पारिवारलाई रु. ३० हजारका दरले नगर राहत उपलव्ध गराउने भएको छ ।
गाउँपालिका भित्रका नौ जना नागरिक सम्पर्क विहीन भएको जनाउदै गाउँपालिकाले परिवारलाई रु. ३० हजार सहयोग प्रदान गरी नागरिक खोज्न जनप्रतिनिधिको समूह भोटेकोशी तर्फ लागेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका नौ जना नागरिकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार रु. ३० हजारका दरले रु. दुई लाख ७० हजार तत्कालै राहत दिने भएको छ ।
आकश्मिक रुपमा बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले प्रकोप व्यवस्थापन कोषबाट नगद राहत उपलव्ध गराउने र सम्पर्क विहीनलाई खोज्न गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको नेतृत्वमा भोटेकोशी तर्फ लागेको हो ।
सम्पर्कविहीन नागरिकको खोज तथा उद्दारका लागि सम्बन्धित निकायसँग विशेष पहल गर्ने र पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
खोज तथा उद्दार कार्यको स्थलगत अनुगमन र समन्वयका लागि गाउँपालिका अध्यक्ष जोकलाल बुढाको नेतृत्वमा चार सदस्यीय टोली शनिबारनै घटनास्थल भोटेकोशीतर्फ प्रस्थान गरेको छ ।
टोलीमा वडा नं। २ का अध्यक्ष नारायण सुनार, वडा नं। ३ का अध्यक्ष झकबहादुर बुढा र कार्यपालिका सदस्य हिक्मत जक्तपुरी रहेका छन् ।
विपद् व्यवस्थापनमा थप सहयोग पु¥याउन जनप्रतिनिधिले भदौ महिनाको मासिक सेवा सुविधाको २५ प्रतिशत तथा कर्मचारीले तहअनुसार एकदेखि तीन दिन बराबरको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
गाउँपालिकाबाट विभिन्न जलविद्युत आयोजनामा काम गर्न गएका नौ जना बाढीपछि सम्पर्क विहीन भएको छन् ।
तमानखोला गाउँपालिका–१, बोङ्गादोभान हिजाका ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही ठाउँका ३२ वर्षीय इन्द्रकुमार विक, रिक्लाङ्कका २२ वर्षीय विष्णु घर्तीमगर, वडा नं. २ बोंगाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल र ५२ वर्षीय खड्ग छन्त्याल, वडा नं. ३ तमानका २२ वर्षीय सञ्जय शिर्पाली र ५० वर्षीय दलप्रसाद बुढा तथा वडा नं. ४ लाम्मेलाका ५८ वर्षीय लाता कामी र ४७ वर्षीय भीमबहादुर विक छन् ।
















































































































































































