बागलुङ । नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङले सोमबार मुलुकी संहिता दिवस मनाएको छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, वरिष्ठ अधिवक्ता भूमिश्वर शर्मा गौतम तथा अधिवक्ताहरू विष्णुप्रसाद शर्मा, हरिकृष्ण सुवेदी, ज्ञानेन्द्रराज पन्त, तेजेन्द्र थापा र लक्ष्मीदेवी जिसी कार्की लगायतले सुझावहरु व्यक्त गरेका थिए ।
वक्ताहरूले मुलुकी संहितालाई जनताको पक्षमा समयअनुकूल संशोधन गर्दै लैजानुपर्नेमा जोड दिए । मुलुकी ऐनको तुलनामा संहिता कतिपय विषयमा अस्पष्ट रहेको भन्दै उनीहरूले देवानी र फौजदारी कार्यविधिलाई समेत फरक–फरक रूपमा व्यवस्थित गरिएकाले व्यवहारमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
स्थानीय तहमा आइपर्ने समस्यादेखि गम्भीर प्रकृतिका मुद्दासम्ममा संहिताका केही प्रावधानमा कमजोरी देखिएको भन्दै त्यसलाई सच्याएर समयसापेक्ष र व्यवहारमैत्री बनाउनुपर्ने उनीहरूको भनाइ थियो । अदालतमा निरन्तर अभ्यास गर्ने कानून व्यवसायीका लागि भने मुलुकी संहिता महत्वपूर्ण र उपयोगी रहेको वक्ताहरूले बताए ।
नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीषको अध्यक्षता र सदस्य हरि गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
२०७२ सालको संविधान जारी भएपछि २०७५ भदौ १ गतेदेखि मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता लगायतका कानून लागू भएका थिए । विसं १९१० मा मुलुकी ऐन जारी भएको थियोे । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै नयाँ संहिताहरू लागू भएको सम्झनामा मुलुकी संहिता दिवस मनाइँदै आएको छ ।
तस्बिर : ढोरपाटन
















































































































































































